लायन्स क्लबको संयोजनमा डेङ्गु सचेतना तथा सरसफाई

भीरकोट ।

लायन्स क्लब अफ भीरकोटको संयोजनमा भीरकोटमा डेङ्गु, हैजारोग सचेतना तथा सरसफाई कार्यक्रम सम्पन्न भएको छ । सचेतना तथा सरसफाई कार्यक्रममा भीरकोट नगरपालिका, भीरकोट जेसिज, सन्त निरंकारी मण्डल, भीरकोट उद्योग वाणिज्य संघ लगायतका संघ संस्थाहरूको सहभागिता रहेको थियो । सचेतना तथा सरसफाई कार्यक्रममा दार्सिङ देखि प्रहरी चौकी सम्म डेङ्गु र हैजाका कारण, लक्षण र बच्ने उपाय तथा सरसफाइको महत्त्वका बारेमा माइकिङ गरिएको थियो भने आवश्यकता अनुसार सरसफाइ पनि गरिएको थियो ।

 

वर्षायाममा खानेपानीका स्रोतहरू दुषित हुने, घर वरपर र सार्वजनिक स्थलमा पानी जम्ने हुँदा हैजा तथा डेङ्गुको प्रकोप हुने भएकाले सचेतना तथा सरसफाई कार्यक्रम गरिएको लायन्स क्लब अफ भीरकोटका अध्यक्ष ढाकाराम खनालले जानकारी दिए । भीरकोट जेसिजका अध्यक्ष भरत खड्काले महामारीबाट बच्न सरसफाईमा ध्यान दिनुपर्ने बताउँदै स्वास्थ्य सचेतना कार्यक्रममा भीरकोटमा क्रियाशील संघसंस्थाबिच एकता भएकोमा खुशी व्यक्त गरे । स्वास्थ्यकर्मी जगदिश खनालले डेङ्गु तथा हैजा रोगको लक्षणहरूको बारेमा जानकारी गराउँदै लायन्सको अग्रसरतामा स्वास्थ्य सचेतना कार्यक्रम भएकोमा खुशी व्यक्त गरे । लायन्स क्लब अफ भीरकोटका संस्थापक अध्यक्ष याम प्रसाद अधिकारी (लक्ष्मण) ले लायन्स सामाजिक र मानवीय सहायतमा जुट्ने संस्था भएको प्रष्ट पार्दै सचेतना र सरसफाई कार्यक्रममा जुट्नुहुने सबैलाई धन्यवाद व्यक्त गरेका थिए।

प्रतिक्रिया