भीरकोटमा सर्पदंश सम्बन्धी सचेतनामूलक कार्यक्रम
अमृत अर्याल
भीरकोट।
भीरकोट नगरपालिकाको आयोजनमा भीरकोटमा सर्पदंश सम्वन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । जिल्लाको फेदीखोलाका सर्प सम्वन्धि अभियन्ता डा. पृथ्वीनारायण शर्माको सहयोग तथा सहकार्यमा भएको जनचेतनामूलक कार्यक्रममा ५० जनाको सहभागिता थियो । विषालु र अविषालु सर्प कसरी चिन्ने, सर्पबाट हुने फाइदा, यसबाट बच्ने उपायका विषयमा कार्यक्रममा जानकारी दिइएको थियो । कार्यक्रममा सर्प सम्वन्धि अनुसन्धानकर्मी एवम् पूर्व सैनिक डा. शर्माले नेपालका विषालु सर्पहरु पहिचान, सर्पदंश र त्यसको व्यवस्थापन, सर्प सम्वन्धि आफ्ना अनुभव र भीरकोटमा पाइने विभिन्न प्रजातिका सर्पहरुका बारेमा सहजीकरण गरेका थिए । अधिकांश अवस्थामा सर्पदंश खतरनाक हुन्छ । सर्पले टोकेको स्थानमा पीडा हुने, सुन्निने हुनुका साथै तन्तुहरुलाई क्षति पुर्याउँछ । यसका साथै आन्तरिक रक्तस्राब पनि गराउँछ। त्यसैले यसबाट जोगिन सके थप समस्या नआउने उनको सुझाव छ ।
कार्यक्रममा नगर प्रमुख गोविन्द कुमार कर्माचार्यले प्रकृतिमा रहेका हरेक जीवजन्तुको आ—आफ्नै महत्व रहने बताए । ‘नगरले सर्प अनुसन्धानकर्मीसँग सहकार्य गरेर पहिलो पटक फरक खालको कार्यक्रम गर्ने अवसर मिलेको छ,’ उनले भने, ‘समाजमा आवश्यकता तर ओझेलमा परेका यस्ता खालका कार्यक्रम प्रत्येक ठाँउमा हुनुपर्ने अहिलेको आवश्यकता हो ।’ कार्यक्रममा बोल्दै वडा नं. ८ का वडाध्यक्ष नन्दलाल खनाल, निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्णु कोइराला लगायतले सर्पदंशका घटना गर्मी महिनामा निकै बढी हुने भएकाले सबै सचेत हुनुपर्ने बताए । नगरप्रमुख गोविन्द कुमार कर्माचार्यको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन स्वास्थ्य शाखाका सिनियर अहेव श्रीराम अर्यालले गरेका थिए । कार्यक्रममा नगरपालिकाका जनप्रतिनिधि तथा स्वास्थ्य चौकी प्रमुख एवं स्वास्थ्यकर्मीहरुको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया