सहकारीको रकम अपचलन गर्ने दुईजना पक्राउ

स्याङ्जा ।
स्याङ्जा सदरमुकाम पुतलीबजारको बाडखोलामा मुख्य कार्यालय रहेको सुर्योदय बचत तथा ऋण सहकारीको सेवा केन्द्रबाट रकम हिनामिना गर्ने दुईजना पक्राउ परेका छन् । बिरुवा गाउँपालिकामा रहेको सहकारीको सेवा केन्द्रका अध्यक्ष तारेन्द्र बहादुर केसी र मुक्तिनाथ विकास बैंक बिरुवा शाखाका कस्टमर सर्भिस बिभागमा कार्यरत कर्मचारी सन्ध्या भण्डारीलाई प्रहरीले पक्राउ गरेको हो । सहकारीको ३ करोड ६६ लाख रकम हिनामिना भएको भन्दै सहकारीका प्रमुख व्यवस्थापक ध्रुव नारायण श्रेष्ठ सहित बचतकर्ताको उजुरीका आधारमा प्रहरीले छानविन गर्दै आएको थियो ।

प्रहरीले दुईसाता अगाडी बिरुवा सेवा केन्द्रका व्यवस्थापक जीवन वाग्लेलाई नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो । वाग्लेको बयानका आधारमा प्रहरीले सेवा केन्द्रका अध्यक्ष केसी, सचिव सुर्यबहादुर कुँवर र मुक्तिनाथ बैंकका कर्मचारी भण्डारीलाई पक्राउ गर्न जिल्ला अदालतसगँ अनुमति मागेको थियो । अदालतको आदेश अनुसार केसी र भण्डारीलाई प्रहरीले पक्राउ गरि अनुसन्धान थालेको छ भने कुँवर फरार रहेका छन् । कुँवर हाल बिरुवा गाउँपालिकाका अध्यक्ष समेत हुन् ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक इन्द्रबहादुर रानाका अनुसार केसी र भण्डारीलाई पक्राउ गरेको बताए । कुँवरको बिषयमा भने भन्न नमिल्ने भन्दै जानकारी दिन मानेन् । प्रहरीले जिल्ला अदालत सगँ गाउँपालिका अधयक्ष सहित ३ जनालाई पक्राउ गर्न अनुमति मागेको पत्र सार्वजनिक भएपनि प्रहरीले कुँवरको बिषयमा जानकारी दिन मानेन । पक्राउ पुर्जी व्याक्ति पक्राउ भएपछि मात्रै सार्वजनिक हुनुपर्नेमा अदालतलाई लेखिएको अनुमति पत्र कसरी बाहिरियो भन्ने बिषयमा छानविन भइरहेको सूचना अधिकारी रानाले बताए । अपराध वा ठगीमा संलग्न रहेका गिरोहलाई पक्राउ गर्दा गोप्य रहनुपर्ने पक्राउ पुर्जीको अनुमति पत्र बाहिरिनुले प्रहरीकै संलग्नतामा कुँवर भागेको आरोप सहकारी पिडितहरुले लगाएका छन् ।

 

प्रतिक्रिया