सुर्योदय सहकारी ठगि प्रकरण— ‘गाउँपालिकाका अध्यक्ष फरार, दुईजना जेल चलान

स्याङ्जा ।
सुर्योदय बचत तथा ऋण सहकारी संस्था बिरुवा सेवा केन्द्रमा बचतकर्ताको रकम अपचलन गरेको आरोप लागेपछि बिरुवा गाउँपालिकाका अध्यक्ष सुर्य बहादुर कुँवर फरार भएका छन् । प्रहरीले सहकारीको रकम हिनामिना गरेको तथ्य फेलापारेपछि उनलाई पक्राउ पुर्जी जारी गरेको थियो । पक्राउ पुर्जी जारी भएको गन्ध थाहा पाएपछि गाउँपालिका अध्यक्ष कुँवर फरार भएका हुन् । कुँवरसँगै पक्राउ पुर्जी जारी गरिएका तारेन्द्र केसी र मुक्तिनाथ विकास बैंक बिरुवा शाखाका कस्टमर सर्भिस बिभागमा कार्यरत कर्मचारी सन्ध्या भण्डारीलाई प्रहरीले पक्राउ गरी जिल्ला अदालतमा बयानका लागि पेश गरेको थियो ।

सहकारीका प्रवन्धक जीवन वाग्ले अगाडी नै पक्राउ परेका थिए । उनको बयानका आधारमा सुर्यबहादुर कुँवर, तारेन्द्र केसी र सन्ध्या भण्डारीलाई अनुसन्धानका लागि प्रहरीले पक्राउ गरी जिल्ला अदालतमा पेश गरेको हो । तिनै जनाको बयानका आधारमा जिल्ला अदालतले मुक्तिनाथ विकास बैंकका कर्मचारी भण्डारीलाई १ लाख धरौटीमा छाडिदिएको छ भने केसी र वाग्लेलाई पुर्पक्षका लागि थुनामा पठाएको छ । फरार रहेका गाउँपालिका अध्यक्ष कुँवरलाई वारेन्ट जारी गर्दै अदालतमा हाजिर हुन आदेश दिएको छ । बुधवार र बिहिवार भएको अदालतमा लामो बयान पछि थुनछेक बहसमा केसी र वाग्ले जेल चलान हुन पुगेका छन् भने भण्डारीलाई धरौटीमा रिहा गर्न आदेश दिइएको हो ।

जिल्ला सदरमुकाममा रहेको सूर्योदय बचत तथा ऋण सहकारी संस्था लि. को बिरुवा सेवा केन्द्रमा ३ करोड ६६ लाख रकम अपचलन गरेपछि उनीहरु बिरुद्ध प्रहरीमा जाहेरी परेको थियो । फरार रहेका कुँवर सहकारीका बिरुवा सेवा केन्द्रका तत्कालिन सचिव थिए भने पुर्पक्षका लागि जेल चलान भएका तारेन्द्र बहादुर के.सी. अध्यक्ष थिए । अर्का जेल चलान भएका वाग्ले सहकारीका प्रवन्धकको रुपमा काम गर्दै आएका थिए । धरौटीमा रिहा भएकी सन्ध्या भण्डारी मुक्तिनाथ विकास बैंक बिरुवा शाखाका कस्टमर सर्भिस बिभागमा कार्यरत कर्मचारी हुन् ।

प्रहरी अनुसन्धानमा सहकारीको बिरुवा सेवा केन्द्रका प्रमुख जीवन वाग्लेले २०७४ साल देखी सहकारीमा रकम अपचलन गर्दै आएको खुलेको छ । विना कागजात काोबार गरी रकम अपचलन गर्ने गरेको अनुसन्धानबाट खुल्न आएको छ । पार्टीका नेताले पैसा लग्ने, सेवा केन्द्र प्रमुख जीवन वाग्लेले बैकिङ् स्टेटमेन्ट ईडिटिङ् गरेर मिलाउने र मुक्तिनाथ बैंककी कर्मचारी भण्डारी मार्फत स्टेटमेन्ट प्रमाणित गरी सहकारीको रकम अपचलन गर्ने गरेको खुलेको छ । पालिकाका अध्यक्ष कुँवर र सहकारी सेवा केन्द्रका अध्यक्ष के.सी. नातेदार समेत रहेको खुलेको छ । सुर्योदय सहकारीको मुख्य कार्यालयका अध्यक्ष हुमबहादुर कुमालले अदालतले बचतकर्ताको रकम र शेयर सदस्यको रकमो बिषयमा न्याय गर्ने आशामा रहेको बताए ।

प्रतिक्रिया