चापाकोटमा लागुऔषध दुव्र्यसन सम्बन्धी सचेतना
वालिङ ।
स्याङ्जाको चापाकोटमा विद्यार्थीलाई लक्षित गरी लागु औषध दुव्र्यसन सम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गरिएको छ । लागुऔषध प्रयोग गर्ने बढीरहेको बेला चापाकोटको दामाचौरमा रहेको जनहित माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई लागु औषध दुव्र्यसन सम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गरिएको हो । समुदायमा प्रहरी कार्यक्रम अन्तर्गत जिल्ला प्रशासन कार्यालय स्याङ्जाको आयोजनामा भएको कार्यक्रममा लागु औषध दुव्र्यसन र यसका असर, समाजमा पार्न सक्ने नकरात्मक प्रभावका बारेमा स्याङ्जाका प्रहरी प्रमुख एसपी शालिकराम शर्मा र चापाकोटका प्रहरी प्रमुख डिएसपी जेशी साहले प्रशिक्षण दिएका थिए ।
कार्यक्रममाथी प्रकाश पार्दै प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले समाजमा दिन प्रतिदिन लागु औषध प्रयोग गर्नेको संख्या बढीरहेकाले यसलाई जरै देखि निर्मूल पार्नुपर्ने बताईन् । युवा पुस्ताले नै यसलाई निर्मूल पार्न भूमिका निर्वाह गर्नुपर्ने उनको भनाइ छ । प्रजिअ नेपालले यस्ता खालका कार्यक्रम विद्यालय स्तरमा नै सञ्चालन गर्नुपर्ने बताईन् । उनले कक्षा ६ देखि १२ सम्मका बालबालिकाहरु बढी कुलतमा फस्ने गरेको बताउँदै यस्ता कार्यक्रमले उनीहरुलाई गतल बाटोमा लाग्न नहुने रहेछ भन्ने ज्ञान हासिल हुने बताईन् ।
कार्यक्रममा विद्यार्थीहरुको निकै उत्साहपूर्ण उपस्थिति रहेको थियो । उनीहरुले लागुऔषध दुव्र्यसनमा आफु नफस्ने र अरुलाई पनि फस्न नदिने प्रतिबद्धता गरेका थिए । पछिल्लो समय स्याङ्जा प्रहरीले लागूऔषध कारोबारीलाई धमाधम पक्राउ गरिरहेको छ । गत असार २५ गते मात्र वालिङबाट दुई जना लागू औषध कारोबारीलाई वडा प्रहरी कार्यालय वालिङले नियन्त्रणमा लिईएको थियो ।
जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयको संयुक्र आयोजनामा सार्वजनिक सनुवाई समेत सम्पन्न भएको छ । जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालयबाट हुने सेवा सुविधाका बिषयमा चापाकोटका जनप्रतिनिधि, स्थानीय, सरोकारवाला निकायहरु बिच सार्वजनिक सुनुवाई सम्पन्न भएको हो । सार्वजनिक सुनुवाईमा चापाकोटका नगर प्रमुख देवबहादुर खाँण (इश्वर), प्रमुख प्रशासकीय अधिकृत ध्रुव खनाल लगायत वडाअध्यक्षहरुको सहभागिता रहेको थियो ।
प्रतिक्रिया