बजेटमा असन्तुष्टि—‘गौरवका आयोजना समेट्न वालिङका नागरिकको माग’

स्याङ्जा ।
वालिङ नगरपालिकाले आर्थिक बर्ष २०८१÷०८२ का लागि बिनियोजन गरेको बजेटप्रति नागरिकहरुले असन्तुष्ट जनाएका छन् । बजेटले नागरिकका योजनाहरु नसमेटिएको भन्दै असन्तुष्ट जनाएका हुन् । चालु आर्थिक बर्षको बजेटले गौरवका आयोजना समेत नसमेट्ने र टुक्रे योजना बनाई नगरपालिकाको बृहत्तर विकासमा असर परेको भन्दै ध्यानाकर्षण समेत गराएका छन् । वालिङ नगरपालिकाको राजधानीको रुपमा रहेको ८ नम्वर वडाका नागरिकहरुले वडा अध्यक्ष र नगर प्रमुखलाई अल्टिमेटम सहितको ज्ञापनपत्र समेत बुझाएका छन् ।

२०५३ सालदेखी वालिङ बजारको रिङ्रोडको रुपमा रहेको खरिबोट (मिर्दी), भिमटारी, विपिचोक हुदै डुम्रीकोट सडक दुईबर्ष देखी अलपत्र रहेकाले यो सडक तुरुन्त निर्माण कार्य शुरु गर्न माग गर्दै ज्ञापनपत्र बुझाएका हुन् । संघर्ष समितिका संयोजक हुमनाथ अर्याल (बचन) ले यो सडक नगरपालिकाको गौरवको योजना रहेको भन्दै यस सडक निर्माण कार्यमा नगरपालिका गम्भीर नभएको आरोप लगाएका छन् । मुलुकमा संघिय लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछि सिंहदरबारको अधिकार गाउँ—गाउँमा पुग्ने अपेक्षा नागरिकले गरेका थिए तर गाउँगाउँमा पुगेका सिंहदरबारहरु भष्ट्रचारमा लिप्त हुन थालेको ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

स्थानीय तहलाई जनताको घरदैलोको सरकारको रुपमा लिएका छौं ज्ञापनपत्रमा भनिएको छ,‘नागरिकको आवश्यकता भन्दा पनि जनप्रतिनिधिले लाभलिने योजनालाई प्रथामिकतामा दिन थालिएको महशुष गरिएको छ ।’ जसले गर्दा नगरपालिकाको गौरवाका आयोजना अलपत्र पार्ने र जनप्रतिनिधिले लाभ लिने कार्य बन्द गर्नुपर्छ वडावासीको तर्फबाट संयोजक अर्यालले बुझाएको ज्ञापनपत्रमा उल्लेख गरिएको छ । नगरपालिकाको १६ औं नगरसभाबाट सार्वजनिक भएको बजेटमा उक्त सडक बनाउने प्रतिवद्धता ७ दिनभित्र दिन नसकेमा वडा कार्यालय सहित नगरपालिकामा समेत तालाबन्दी गर्ने चेतावनी वडावासीले दिएका छन् । तालाबन्दी पछि नागरिकमा पर्ने असुविधाको वडा कार्यालय र नगरपालिका जिम्मेवार हुनुपर्ने समेत वडावासीले चेतावनी दिएका छन् ।

वडावासीको ज्ञापनपत्र बुझ्दै नगर प्रमुख कृष्ण खाँणले सिमित साधनश्रोतले नगरको विकासमा भनेजस्तो काम गर्न नसकिएको उल्लेख गरे । नगरपालिकाकै पुरानो यो सडक निर्माणका लागि नगरपालिकाले छिट्टै निकास दिने प्रतिवद्धता समेत व्यक्त गरे । वालिङ नगरपालिकाले ३ ओटा सडकलाई प्रथामिकतामा राखेको छ ज्ञापनपत्र बुझ्दै नगर प्रमुख खाँणले भने,‘प्रथामिकतामा राखेका सडक निर्माणका लागि प्रदेश र संघिय सरकारसगँ माग गर्ने योजनामा छौं ।’ जनप्रतिनिधिलाई झकझक्याउने काम गरेकोमा वडावासी धन्यवादको पात्र हुनुभएको छ उनले भने ।

वडा नम्वर ८ का वडा अध्यक्ष दामोदर तिवारीले वडावासीको माग प्रति आफु गम्भीर रहेको बताए । नगरपालिकामा प्रयाप्त बजेट नहुँदा सडक बनाउन ढिलाई भएको तिवारीको भनाई छ । वडावासीले दिएको सुझावलाई आफुले अनुसरण गर्दै यो सडक निर्माणमा वडा कार्यालयको पुर्ण सहयोग हुने प्रतिवद्धता व्यक्त गरे । वालिङ नगरपालिकाले आर्थिक बर्ष २०८१÷०८२ का लागि ९६ करोड १४ लाख ४१ हजार रुपैयाँ बजेट बिनियोजन गरेको छ । जनप्रतिनिधिहरुको बिवादका कारण अहिले सम्म पनि बजेट पारित नभएको बताइएको छ ।

प्रतिक्रिया