स्याङ्जामा वालन नाँच संरक्षण अभियान
हिमाल न्यौपाने,
गल्याङ ।
स्याङ्जाका युवाहरुले धार्मिक वालन नाँच संरक्षण अभियानमा जुटेका छन् । धार्मिक मेला, जात्रा तथा पर्व, उत्सव, महोत्सव जस्ता विशेष समारोहहरूमा देखाइने वालन नाँच लोप हुन लागेको भन्दै युवाहरुले संरक्षण गर्न थालेका हुन् । पछिल्लो समय नयाँ पुस्ताले सिक्न नखोजेका कारण बालन नाँच लोप हुने अवस्थामा पुगेको छ । वालन नाँच धार्मिक महत्व र दश अवतारको रुपमा रहेको मानिदै आइएको छ । वालन नाँच लोप हुन नदिन स्याङ्जा तथा पाल्पाका केही स्थानमा जर्गेनाका लागि युवादेखि बृद्धहरु संरक्षणमा जुट्न थालेका छन् ।
बिषेशगरी ब्राहृमण, क्षेत्री समाजमा बालन गाउने र त्यसको लयसँगै नाच्ने परम्परा धेरै पुरानो हो । ब्राहृमण क्षेत्री समाजमा प्रचलित रहेको हुनाले यसलाई बाहुन नाँच पनि भनिन्छ । पश्चिमा संस्कृतिको प्रभावसगै केही वर्ष यता वालन गाउने र नाच्ने चलनमा कमी मात्र आएको छैन, यो चलन बिस्तारै लोप हुने अवस्थामा पुगेको छ । ब्राहमण, क्षेत्री बाहेक अन्य समुदायमा कम प्रचलित वालन नाँच देवीदेवताको दश अवतारमा आधारित रहेको पाइन्छ । सृष्टिकाल देखिका भगवानका लीला र अवतारहरूको वर्णन वालन नाँचमा गरिन्छ । वालनको रचना गीता, महाभारत, रामचरित्र, कृष्णचरित्र र भगवानका दश अवतारलाई मानिने कालीगण्डकी ज्ञानबिज्ञान प्रतिष्ठानका अध्यक्ष चैतन्य कृष्णले बताए । वालन नाँच विशेषगरी गण्डकी सभ्यताको विकास सँगै भगवानका बाललिलाहरुको अवगाहन गराई समस्त दुःखपीडा र अशान्तिबाट मुक्ति दिने वालनको संरक्षणका लागि वैष्णव संस्कृतिको उद्गम भूमि गण्डकी तटीय क्षेत्रका भक्तहरु लागि परेको अध्यक्ष चैतन्य कृष्णले बताए ।
वालन टोलीमा बालन गाउने र नाँच्ने धेरै जनाको समूह बनाइन्छ । रामायण, महाभारत, पुराण आदिका आधारमा रचिएको भए पनि वालन नाँच नेपाली समाजमा विशेष आकर्षणको विषय रहदै आएको छ । वालनको पहिलो चरणमा भगवानको आरतीबाट शुरु गराएर देवीदेवताहरू जगाउने गरिन्छ । वालन गायन र नृत्यसंगै अत्यन्त रमाइलो लाग्ने हुनाले यस क्षणमा भगवानका अवतारहरूको अभिनय गरिन्छ । कथा अनुसार राम, लक्ष्मण, सीता, हनुमान, रावण, परशुराम, विष्णु, कृष्ण, कंस आदिको अभिनय सँगसँगै नृत्य पनि देखाइने गरिन्छ । लामो गायन तथा नाँच देखाउनका लागि धेरै झन्झटिलो हुने हँदा अहिलेका पुस्ताहरुमा खासै आकर्षण बन्न सकेको छैन । त्यसैले लोप हुन लागेको वालन नाँचको संरक्षण लागी अभियान थालेको प्रतिष्ठानका अध्यक्ष चैतन्य कृष्णले बताए ।
वालनमा रामचरित्र, कृष्णचरित्र, दस अवतारको कथा सकिएपछि भक्तजनका परिवारलाई मण्डपमा राखेर वरिपरी वालनले फूल अक्षता चढाएर आशीष दिदै वालन टुङ्ग्याइन्छ । लयवद्ध गाइने वालन धार्मिक गीत धेरै नै लामो हुन्छ । त्यसैले नेपाली संस्कृतिको एक महत्वपूर्ण पक्ष वालनको संरक्षणको लागि तीन तहकै सरकारदेखि सरोकारवाला निकायले महत्व दिनु जरुरी देखिन्छ । धर्म र संस्कारसगँ जोडिएको वालन नाँच जोगाउन तिनैतहका सरकारहरु लाग्नुपर्ने देखिन्छ ।
प्रतिक्रिया