गरिमा बैंक अवार्डबाट सम्मानित

स्याङ्जा ।
नेपालका विकास बैंक मध्ये कारोवारमा उत्कृष्ट नतिजा दिन सफल भएको गरिमा बैंक फेरी अर्वाडबाट सम्मानित भएको छ । भारतीय चेम्बर अफ कमर्सद्वारा ‘द बेस्ट बैंक इन एसेट्स क्वालिटी’ अवार्डबाट गरिमा विकास बैंक सम्मानित भएको हो । नयाँ दिल्लीमा आयोजित इमर्जिङ एसिया बैंकिङ कन्क्लेभ एन्ड अवार्ड प्रतिस्पर्धामा नेपाल सहित बिम्स्टेक देशहरु नेपाल, भारत, बंगलादेश, श्रीलंका, भुटान र म्यानमारका बैंक तथा वित्तीय संस्थाहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत माधव प्रसाद उपाध्याय र ट्रान्जेक्सन बैंकिङ्ग ईकाई प्रमुख नकुल पौडेललाई उक्त अवार्ड प्रदान गरिएको हो । कर्जा तथा अन्य लगानीको गुणस्तर उत्कृष्ट रहेका बैंक तथा वित्तीय संस्थाहरुले प्राप्त गर्ने उक्त अवार्डको प्राप्तिसँगै गरिमा विकास बैंकले प्रवाह गर्ने कर्जा तथा अन्य लगानीको गुणस्तर उत्कृष्ट रहेको छ । अवार्ड प्राप्त गर्ने मापदण्डमा गरिमा विकास बैंक सबैमा उत्कृष्ट भएकाले सम्मानित हुने अवसर जुरेको हो ।

यस अवसरमा आयोजित ‘ड्राइभिङ एफिसिएन्सीज अक्रोस द भ्यालु चेन’ विषयक बहसमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत माधव प्रसाद उपाध्याय नेपालको तर्फबाट डेभलपमेन्ट बैंकर्स एसोसिएसनको प्रतिनिधित्व गर्दै वक्ताको रुपमा सहभागी थिए । नेपालको बैंकिङ परिदृष्य, बैंकिङमा प्रविधिको प्रयोग र आगामी चुनौतीको सम्बन्धमा आफ्नो धारणा उपाध्यायले गरेका थिए ।

बहस कार्यक्रममा गरिमा विकास बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत उपाध्यायसँगै बैंक अफ भुटानका प्रमुख कार्यकारी अधिकृत दोर्जी कादिन, स्टेट बैंक अफ इन्डियाका चिफ जनरल म्यानेजर राजिव रञ्जन प्रसाद र न्यूजेन सफ्टवेयर टेक्नोलोजी प्रालिका उपाध्यक्ष तथा दक्षिण एशिया व्यवसाय प्रमुख सुनिल पण्डिता मुख्य वक्ताको रुपमा थिए । कन्क्लेभमा श्रीलंकाको केन्द्रीय बैंकका डेपुटी गभर्नर र बंगलादेशको केन्द्रीय बैंकका कार्यकारी निर्देशक समेत वक्ताको रुपमा सहभागी थिए । एशिया भरीका उत्कृष्ट बैंकहरुको सहभागिता रहेको कार्यक्रममा गरिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत उपाध्यायको उपस्थितीले गरिमा विकास बैंकले गर्व महशुष गरेको बैंकले जनाएको छ ।

प्रतिक्रिया