तीजलाई खर्चिलो र भड्किलो नगरी मनाउन प्रशासनको आग्रह

वालिङ ।
नेपाली महिलाहरुको महान पर्व तीज देशभर शुरु भएको छ । बर्षदिन सम्मका आफ्ना दुखसुखलाई लोकसंस्कृतिमा महिलाहरुले बेदना पोख्ने अवसरका रुपमा तीजलाई लिइने गरिन्छ । पछिल्लो समय तीज पर्व निकै खर्चिलो र भड्किलो हुँदै गएकोले जिल्ला प्रशासन कार्यालय स्याङ्जाले सचेत गराएको छ । जिल्ला प्रशासन कार्यालय स्याङ्जाले एक सुचना जारी गर्दै तीज पर्वलाई खर्चिलो र भड्किलो नबनाई समाजको परम्परागत, सांस्कृतिक, परम्परागत र गौरव कायम राखेर तीज पर्व मनाउन आग्रह गरेको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले हस्ताक्षर गरेर जारी गरेको सूचनामा खर्चिलो र भड्किलो हुदै गएको, देखासिकीमा परिवारले धान्नै नसक्ने गरी फजुल खर्च गर्ने जस्ता गुनासो आएकाले मौलिकता र परम्परागत रुपमा पर्व मनाउन आग्रह गरिएको उल्लेख छ । मौलिकता र व्यक्तिगत रचनाले प्रथामिकता पाउन छाडेको उल्लेख गर्दै स्थानीय प्रतिभाको प्रस्फुटन हुने बतावरण सिर्जना गर्ने गरी तीज पर्व मनाउन सबै स्याङ्जावासीमा अनुरोध गरेको सहायक प्रजिअ पौडेलले जारी गरेको सूचनामा उल्लेख गरिएको छ । परम्परागत मौलिक चरित्र र सामाजिक—सांस्कृतिक मान्यतालाई ओझेलमा पार्ने काम नगर्न समेत अनुरोध गरिएको छ ।

सामाजिक सशक्तिकरण, लैङिगक समानता र सद्धभाव बढाउने गरी स्वास्थ्य र शान्तिपुर्ण रुपमा हार्दिकतापुर्वक मनाउन आग्रह गर्दै तीज पर्वको सबैमा शुभकामना समेत व्यक्त गरिएको छ । यो बर्षको तीज हर्षोल्लास बन्ने आशामा प्रशासन रहेको समेत उल्लेख गरिएको छ ।

प्रतिक्रिया