बजेटमा वालिङकी उपप्रमुखको असहमती
वालिङ ।
वालिङ नगरपालिकाले पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको आर्थिक बर्ष २०८१÷८२ को बजेट प्रति उपप्रमुख कविता तिवारी गैह्रेले असहमती जनाएकी छन् । नयाँ बजेट प्रति आफ्नो गम्भिर ध्यानाकर्षण भएको भन्दै उपप्रमुख तिवारीले समयमा नै नगरप्रमुख कृष्ण खाँणले प्रमाणीकरण गरेको बजेट कार्यान्वयन गर्न माग गरेकी छन् ।
उपप्रमुख तिवारीले निकालेको बिज्ञप्तीमा भनिएको छ,“विधि सम्मत तरिकाले म मार्फत नगर सभामा प्रस्तुत भएको बजेट विभिन्न छलफल पछि नगर प्रमुखद्धारा प्रमाणीकरण भइसकेपछि सोही बजेट कार्यन्वयन नगरी निहित स्वार्थवस वालिङ नगरपालिकाको बजेट भनी गैह्रजिम्मेवार ढंगवाट अर्कै दस्तावेज वजेटको रुपमा पत्रकार सम्मेलन गरी सार्वजानिक गरिएको प्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ ।”
नागरिकको विकासको चाहानालाई बेवास्ता गर्दै आफू विदेश भएको समयमा निहित स्वार्थका लागि बजेट भन्दै दस्तावेज सार्वजनिक गरेको उपप्रमुख तिवारीको आरोप छ । बिज्ञप्तीमा बजेट जस्तो विषयमा गरिएका निर्णयमा आफ्नो सहभागिता नभएको उनले विज्ञप्ती मार्फत जनाएकी छन् । यो कदम विधि र पद्धति माथिको ठाडो प्रहार भएको उनले उल्लेख गरेकी छन् ।
विहिबार सार्वजनिक भएको बजेट कार्यन्वयन नगरी नगरसभामा आफूले प्रस्तुत गरेको र नगर प्रमुख द्वारा प्रमाणीकरण भइसकेको बजेट तत्काल कार्यन्वयन गर्न उपप्रमुख तिवारीको अपिल छ । सहमती सहकार्य र एकता वाट नगर विकासमा लाग्न आफू प्रतिवद्ध रहेको उनको भनाई छ । उपप्रमुख सहित दुईजना कार्यपालिका सदस्यले पनि बिहिवार सार्वजनिक गरिएको बजेटमा असन्तुष्टि जनाएका छन् ।
प्रतिक्रिया