स्याङ्जाबाट १ सय ३३ लाभग्राही हटाइए

स्याङ्जा ।
२०७७ सालदेखी राहतको प्रतिक्षामा बसेका १ सय ३३ पिडित लाभग्राहीहरु जिल्ला प्रशासनको सूचीबाट हटाइएका छन् । १ सय ८७ जना लाभग्राही मध्ये ५४ जनालाई लाभग्राही कायम गरी १ सय ३३ जनालाई सूचीबाट हटाइएको हो । बिहिवार बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले मौसुमजन्य विपद व्यवस्थापन पुर्नस्थापना तथा पुर्णनिर्माण कार्यविधि २०७७ अनुसार प्रक्रिया नपुगेका लाभग्राहीलाई सुचीबाट हटाउने निर्णय भएको जिल्ला प्रशासन कार्यालय स्याङ्जाले जनाएको छ । अहिले सम्म कार्यविधि अनुसार जम्मा ५४ जनाको प्रक्रिया पुगेकोले उनीहरुलाई दोस्रो किस्ता बापतको रकम उपलब्ध गराउने निर्णय भएको जिल्ला प्रशासन कार्यालय स्याङ्जाका सुचना अधिकारी सहायक प्रजिअ दीपक पौडेलले बताए ।

जिल्लाका ११ ओटै पालिकाबाट विपदमा परेको आधारमा जिल्ला प्रशासनमा १ सय ८७ जना लाभग्राहीको नाम सुचिकृत गरिएको थियो । लामो समयसम्म यसले पुर्णता नपाउदा विपदमा परेका लाभग्राहीहरु राहत पाउनबाट बन्चित हुदै आएका थिए । वर्तमान प्रमुख जिल्ला अधिकारी सुनिता नेपालको पहलमा राहत नपाउने लाभग्राहीको प्रक्रियाका लागि पहलकदमी थालेपछि जम्मा ५४ जना लाभग्राहीले मात्रै प्रक्रिया पुरा गरेका थिए । पालिकाहरुले कागतजात सहित प्रक्रिया नमिलाईदिदा दोस्रो किस्ताको राहत लिनबाट १ सय ३३ जना लाभग्राही बन्चित हुन पुगेका छन् ।

सुचना अधिकारी पौडेलका अनुसार ५४ जना लाभग्राहीले आउदो दशैं अगाडी दोस्रो किस्ता बापतको २ लाख रुपैयाँ प्राप्त गर्ने बताए । मौसुमजन्य विपदमा परेर घर गुमाएका पिडित लाभग्राहीलाई ४ लाख दिने सरकारको घोषणा अनुरुप बाँकी किस्ता घर सम्पन्नको कागतजात पालिकाबाट ल्याएपछि पाउने सहायक प्रजिअ पौडेलले बताए । बैठकले प्रक्रिया पुगेका आँधीखोला गाउँपालिका १, फेदिखोला गाउँपालिका १, अर्जुनचौपारी गाउँपालिका १, चापाकोट नगरपालिका १, बिरुवा गाउँपालिका ७, गल्याङ नगरपालिका ८, वालिङ नगरपालिका ५, पुतलीबजार नगरपालिका १, हरिनास गाउँपालिका १८ र कालीगण्डकी गाउँपालिका ११ जना लाभग्राही कायम भएका छन् ।

जिल्ला विपद व्यवस्थापन समितिको बैठकले हालै भएको मौसुमजन्य विपदमा जिल्लामा ११ जनाले ज्यान गुमाएको र उनीहरु सबैलाई तत्काल राहत उपलब्ध गराइएको जानकारी दिइएको थियो । हालै आएको बाढीपहिरोले जिल्लामा २९ घरधुरी पुर्ण रुपले क्षती भएको विवरण सुचिकृत गरेको छ । विपद व्यवस्थापन समितिको बैठक प्रमुख जिल्ला अधिकारी सुनिता नेपालको अध्यक्षतामा बसेको थियो । जिल्लाका ११ ओटै पालिकाका जनप्रतिनिधि, राजनीतिकदल, सरकारी कार्यालयका प्रमुख, सामाजिक संघसंस्था, नेपाल पत्रकार महासंघ लगायतको बैठकमा सहभागी रहेको सहायक प्रजिअ पौडेलले बताए ।

प्रतिक्रिया