गुणस्तर परीक्षणमा अर्जुनचौपारी उत्कृष्ट

स्याङ्जा ।
नगरपालिका र गाउँपालिकाले प्रवाह गर्ने सेवाको गुणस्तरीय परीक्षणको नतिजा सार्वजनिक भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आर्थिक वर्ष २०७९÷८० को स्थानीय तह संस्थागत क्षमता स्वमुल्याङ्कनको नतिजामा स्याङ्जा जिल्लाको अर्जुनचौपारी गाउँपालिका सर्वोत्कृष्ट बनेको छ । संघीय मामिला मन्त्रालयले सार्वजनिक गरेको नतिजामा स्याङ्जाका ११ पालिकाहरु मध्ये अर्जुनचौपारी गुणस्तर परीक्षणमा सर्वोकृष्ट भएको हो ।
अर्जुनचौपारी गाउँपालिकाले शासकीय प्रबन्धमा ८.५, संगठन तथा प्रशासनमा ७.२५, वार्षिक बजेट तथा योजना तर्जुमा व्यवस्थापनमा ६.५, वित्तीय एवम् आर्थिक व्यवस्थापनमा १०.७५, सेवा प्रवाहमा १५, न्यायिक कार्यसम्पादनमा ७, भौतिक पूर्वाधारमा ९, सामाजिक समावेशीकरणमा १०, वातावरण संरक्षण तथा विपत् व्यवस्थापनमा ७.५ र सहकार्य र समन्वय शीर्षकमा ४.५ अंक सहित ८६ ल्याएर जिल्लाकै पहिलो हुन सफल भएको छ । अर्जुनचौपारी गाउँपालिका गतबर्षको नतिजामा पनि पहिलो भएको थियो ।
फेदिखोला गाउँपालिकाले ८४.७५ अंक प्राप्त गरेर दोस्रो स्थानमा परेको छ भने कालीगण्डकी गाउँपालिका ८४.५० अंक प्राप्त गरी तेस्रो स्थानमा परेको छ । आँधीखोला गाउँपालिकाले ८४ अंक, वालिङ नगरपालिकाले ८२.५०, गल्याङ नगरपालिकाले ८२, भीरकोट नगरपालिका ८१.२५, हरीनास गाउँपालिका ६७.५०, बिरुवा गाउँपालिका ६७.२५, पुतलीबजार नगरपालिका ६६.२५ र चापाकोट नगरपालिका ५२.५० अंक प्राप्त गरेका छन् ।
विभिन्न १० वटा शीर्षकमा स्थानीय निकायको कार्यसम्पादनलाई आधार बनाएर हरेक वर्ष संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गुणस्तर परीक्षण गरी नतिजा प्रकाशन गर्दे आएको छ । यो प्रतिवेदनलाई लिसाको रुपमा चिनिन्छ । शासकीय प्रक्रिया र विकास व्यवस्थापनमा गर्नुपर्ने सुधारका क्षेत्रहरुको पहिचान गर्ने, आवद्यिक समिक्षाको आधारमा प्राप्त गर्ने र स्थानीय सरकारहरु बीच स्वस्थ्य प्रतिस्पर्धा गराउने उदेश्यले यो विधि अपनाइदै आएको छ । यसले स्थानीय सरकार संचालन कसरी भएको छ भन्ने पनि सिकाउने मन्त्रालयले जनाएको छ । पालिकाहरुले ठिक रुपमा सेवा प्रावह गरेका छन् वा छैनन् भन्ने समेत यो नतिजाले देखाउने भएकाले पालिकाहरुलाई नैतिक दवाव पर्ने समेत मन्त्रालयको दावी छ ।
स्याङ्जामा नगरपालिका भन्दा गाउँपालिका गुणस्तरीय परीक्षणमा राम्रो नतिजा दिएको देखिन्छ । हालै प्रकाशन गरेको नतिजामा नगरपालिकाहरुका काम कारवाही अत्यन्तै कमजोर रहेको यो तथ्याङकले देखाएको छ । हरेक बर्ष गरिने यो नतिजाले नगरपालिकाहरुलाई चुनौती थपिएको छ । ५ नगरपालिका र ६ गाउँपालिका रहेको स्याङ्जामा कार्यसम्पादन मुल्याङकनमा नगरपालिकालाई कमजोर नतिजाले प्रश्न उठाइरहेको छ ।
प्रतिक्रिया