पहिलो पटक खुल्ला प्रतिस्पर्धाबाट क्याम्पस प्रमुख चयन
अमृत अर्याल,
वालिङ ।
जिल्लाको पुरानो क्याम्पस वालिङ बहुमुखी क्याम्पसमा नयाँ क्याम्पस प्रमुखको जिम्मेवारी भीमप्रसाद पंगेनीले पाएका छन् । तमाम समस्याहरुका बीच पनि खुला प्रतिस्पर्धाबाट क्याम्पस प्रमुखको चयन भएको छ, यस क्याम्पसको साढे ४ दशकको इतिहासमा यसरी प्रमुख छनोट भएको यो पहिलो पटक हो । विगत २३ बर्षदेखि प्रध्यापन पेशामा सक्रिय रहेका पंगेनी क्याम्पस प्रमुखमा चयन भएका हुन् । पंगेनीले विगतमा उक्त क्याम्पसको सहायक क्याम्पस प्रमुख भै काम समेत गरिसकेका थिए ।
लामो समयसम्म का.मु.को भरमा चलेको यस क्याम्पसले झन्डै २ बर्षपछि क्याम्पस प्रमुख पाएको हो । पछिल्लो समय यो क्याम्पस आर्थिक संकटकालमा मुछिएको थियो । क्याम्पसलाई चुस्त र दुरुस्त रुपमा गुडाउन पंगेनीलाई अवसरसँगै चुनौति पनि खडा भएको छ । साविकका क्याम्पस प्रमुख सचिदानन्द यादवले राजिनामा दिएपछी का.मु. क्याम्पस प्रमुखको रुपमा युवराज पाठकले जिम्मेवारी सम्हालेका थिए । यस क्याम्पसमा कक्षा ११ देखि स्नातकोत्तर सम्मको पढाइ हुने गर्दछ ।
जिल्लाको पुरानो तथा क्यूएए प्रमाणित क्याम्पसको लोकप्रियतामा आँच आउन नदिने नवनियुक्त क्याम्पस प्रमुख पंगेनीले उद्घोष गरेका छन् । अब आफु दिलोज्यान दिएर क्याम्पस सुधारमा लाग्ने पंगेनीले बताएका छन् । पंगेनीले विद्यार्थी, क्याम्पस प्रशासन, कर्मचारी, अभिभावक तथा शुभचिन्तक सबै तर्फबाट क्याम्पसलाई सहयोग गर्न अनुरोध गरेका छन् । लेखाशास्त्र बिषयका राम्रा प्रध्यापकका रुपमा चर्चा बटलेका पंगेनीबाट सबैले कुशल प्रशासकको रुपमा काम गर्ने अपेक्षा गरेका छन् ।
लामो समयदेखि का.मु.को भरमा चलेको यस क्याम्पसमा यस पटक खुल्ला प्रतिस्पर्धाबाट क्याम्पस प्रमुखको खोजी गरिएको संचालक समितिका अध्यक्ष उदय श्रेष्ठले बताए । क्याम्पस प्रमुख पदमा स्वतन्त्र र निष्पक्ष प्रतिस्पर्धा गराई कुशल नेतृत्व छनोट गरिएको अध्यक्ष श्रेष्ठको भनाई छ । संचालक समितिले गठन गरेको छनोट समितिले सफिारिस गरेअनुशार पंगेनीलाई क्याम्पस प्रमुखमा नियुक्त गरिएको श्रेष्ठ बताउँछन् ।
खुला प्रतिस्पर्धाबाट छनोट भएर आएकाले क्याम्पस प्रमुख पंगेनीसँग नैतिक बल छ, क्याम्पस संचालक समितिका उपाध्यक्ष केदार काफ्लेले भने, ‘अब त्यसलाई क्याम्पसको समृद्धिमा लगाउनुपर्छ । क्याम्पसको खस्केको स्तर उकास्न सक्ने योग्य र दक्ष कार्यकारी नेतृत्व चयन गर्ने भनेर खुला प्रतिस्पर्धा गराइएको हो । यही मर्मअनुरुप क्याम्पसलाई समृद्धिको मार्गमा डो¥याउने मुख्य दायित्व नवनियुक्त क्याम्पस प्रमुख पंगेनीसामु छ, यो चुनौतीपूर्ण छ तर असम्भव छैन ।’
प्रतिक्रिया