विद्यालयस्तरीय तिज गीत प्रतियोगिता सम्पन्न
अमृत अर्याल,
वालिङ ।
वालिङको बालशिक्षा निकेतन आधारभुत विद्यालयले तीजको अवसर पारेर विद्यालयस्तरीय तिज गीत प्रतियोगिता सम्पन्न गरेको छ । गण्डकी प्रदेशसभा सदस्य एवं अर्थ तथा विकास समितिका सभापति भोजराज अर्यालले कार्यक्रमको उद्घाटन गर्दै तीज गीतका नाममा छाडा गीत, रत्यौली लगायतका संस्कृति भन्दा बाहिरको विषय हाबी भएको बताए । तिज पर्व र तिज गीतलाई पुरानै लयमा फर्काउन मौलिक तिज गीत प्रतियोगिता आवश्यक रहेको उनको सुझाव छ । पछिल्लो समय तिज गीत सुन्न नसकिने खालका भड्किला हुँदा परम्परागत संस्कृतिको संरक्षण गर्नुपर्नेमा अर्यालले जोड दिए ।
नेपाली कला, संस्कृति संरक्षण गर्ने उद्देश्यले विद्यालय स्तरीय तिज गीत प्रतियोगिता आयोजना गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिमल अर्यालले बताए । महिला दिदीबहिनीको सम्मानका लागि विद्यालयस्तरीय तिज गीत प्रतियोगिता सञ्चालन गरिएको अर्यालको भनाई छ । विद्यालयस्तरीय तिज गीत प्रतियोगितामा १९ समूहको सहभागिता रहेको आयोजकले जनाएको छ । प्रतियोगितामा गल्कोट मावि गल्याङ प्रथम, टापुभञ्याङ मावि वालिङ द्धितिय र पूर्णामृत भवानी मावि वालिङ तृतिय भएका छन् । प्रतियोगितामा प्रथम, दोस्रो, तेस्रो र सान्त्वना हुनेलाई नगद पुरस्कार ६ हजार, ५ हजार, ४ हजार, ३ हजार ५ सय र प्रमाणपत्र प्रदान गरिएको अध्यक्ष अर्यालले जानकारी दिए ।
प्रतिक्रिया