बिरामी बोकेको एम्बुलेन्स सडकमै आगोले जल्यो

स्याङ्जा ।
वालिङबाट बिरामी लिएर पोखरा जादै गरेको एम्बुलेन्समा शुक्रवार राती आगालागी भएको छ । सिद्धार्थ राजमार्गको वालिङ—पुतलीबजार सडकखण्ड अन्तर्गत पुतलीबजार– ११ करेनडाँडामा बिरामी बोकेको एम्बुलेन्समा आगलागी भएको हो । गह्रौ प्राथामिक स्वास्थ्य केन्द्रको ग १ झ २७८ नम्बरको एम्बुलेन्समा अचानक तार सर्ट भएर आगो लोगेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायव उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए ।

बिरामी लिएर हिँडेको एम्बुलेन्स रातको १० बजे अचानक आगलागी भएको थियो । एम्बुलेन्समा अचानक गाडीको तार सर्ट भई आगलागी भएको जानकारी पाएपछि प्रहरी टोली सहित पुतलीबजार नगरपालिकाको दमकल घटनास्थलमा पुगेको थियो । दमकल सहितको प्रहरी टोलीले आगो नियन्त्रणमा लिइएको प्रहरी नायव उपरीक्षक रानाले बताए । आगलागीबाट एम्बुलेन्स पूर्ण क्षति भएको छ । मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । घट्नाको बिषयमा थप अनुसन्धान भइरहेको जनाएको छ ।

सडकको खाल्डाखुल्डी कै कारण एम्बुलेन्सको तार सर्ट भएर आगो लागेको चालकले बताएका छन् । एम्बुलेन्स ९ बर्ष अगाडी गह्रौ प्रथामिक स्वास्थ्य केन्द्रले खरिद गरेर संचालन गर्दै आएको थियो । आगालागीबाट क्षती भएको एम्बुलेन्स राजमार्गमै रहेको छ । एम्बुलेन्स सडकबाट उठाउन प्रहरीले अनुमति दिएपनि बिमा कम्पनीका इन्जिनियर आइतबार मात्रै आउने भएकाले एकदिन एम्बुलेन्स सडकमै रहने गह्रौ प्राथामिक स्वास्थ्यका सूचना अधिकारी उदयबहादुर पौड्यालले बताए । आगालागीबाट एम्बुलेन्समा रहेका सबै सामाग्री नष्ट भएको उनले बताए ।

 

प्रतिक्रिया