भदौरे गर्मीमा गजलको सितलता

अमृत अर्याल
वालिङ ।

स्याङ्जा जिल्लामा भइरहने गजलको चहलपहल शनिबार गल्याङमा देखियो । गल्याङ ३, स्थित गल्याङ बहुमुखी क्याम्पसको सभाहलमा आयोजित कार्यक्रममा गजल सुनाउन जिल्लाका विभिन्न भागबाट स्रस्टाहरु आएका थिए । मौसमअनुकूल नरहे पनि गजल सुन्न आउनेलाई गर्मीले रोक्न सकेन । पसनिाले भिज्दै गजल सुन्न आएकाहरुको भीडले गल्याङ बहुमुखी क्याम्पसको सभाहलमा हल भरियो । स्याङ्जाको साहित्यिक इतिहासमा पहिलोपटक गल्याङ गजल उत्सव २०८१ कार्यक्रम सम्पन्न भएको छ । दर्जनौ गलजकारहरूको गजलले गल्याङ इतिहासैमा पहिलोपटक गजलमय बनेको थियो ।

कार्यक्रममा स्याङ्जाली गजलकार व्यक्तित्वहरु मिलन समीर, दिलीप तिवारी फकिर, सुर्यप्रसाद डुम्रे, प्रेमबन्धु सुवेदी, कला पाठक, पारिश्वर न्यौपाने, चण्डिकाप्रसाद भट्टराई, स्मारिका अर्याल, सिर्जना रेग्मी उपाध्याय प्रकृति, ढालबहादुर केसी, हरि अधिकारी, वसन्त खनाल, शम्भु अर्याल, तोरणराज बस्याल, नारायण न्यौपाने दर्शन, गुरुप्रसाद ढकाल, प्रेमकुमार काफ्ले, सिर्जना खनाल, सिर्जना पाठक, लीलाबल्लौ अर्याल, प्रकाश न्यौपाने प्रयास, प्रणव अर्याल, लक्ष्मणप्रसाद तिमिल्सिना, लेखनाथ काफ्ले, कुसुम भण्डारी, विक्रम परियार लगायत २६ जना गजलकारले गजल सुनाए ।
प्रस्तुत भएका सबै गजलकारले बलिया ‘शेर’मार्फत माहोललाई खिचिरहे । गजलमय बनेको माहोलमा मिलन समरिले सुनाएको यो गजलले महोल केही भावुक बन्यो–

ओइलिएर जीवनको फुल झरेपछी थाहा हुन्छ ।
कसले कति कमाएछ मरेपछी थाहा हुन्छ ।।

मिलन समिर पेशाले शिक्षक हुन् । उनी सरकारी विद्यालयमा कार्यरत छन् । सबै स्रस्टाले समसामयिक विषयवस्तुमा गजल लेख्नुका साथै मायाप्रेम, मिलन–बिछोड र राजनीतिलाई जोडेर लेखिएका गजल पनि सुनाएका थिए ।

१५९ औं मोती जयन्तीको सन्दर्भमा गल्याङ प्रज्ञा प्रतिष्ठान, गल्याङ नगरपालिका, स्याङ्जाको आयोजनामा कार्यक्रम सम्पन्न गरिएको थियो । गल्याङ प्रज्ञा प्रतिष्ठानका अध्यक्ष अग्रज साहित्यकार व्यक्तित्व चण्डिकाप्रसाद भट्टराईको अध्यक्षतामा आयोजना गरिएको गल्याङ गजल उत्सव २०८१ कार्यक्रममा प्रमुख आमन्त्रित व्यक्तित्वको रूपमा गल्याङ नगरपालिकाका प्रमुख तथा गल्याङ प्रज्ञा प्रतिष्ठानका प्रमुख संरक्षक गुरुप्रसाद भट्टराई रहेका थिए । सहभागीहरुले केही प्रणय भावमा लेखिएका गजल पनि सुनाए । दिलिप तिवारीले गल्याङ आएर गजल सुनाउन पाउँदा खुसी लागेको प्रतिक्रिया दिए । जिल्लाभरका स्रस्टाहरुका गजल एकैठाउँमा आएर सुन्दा छुट्टै मिठास लागेको उनले बताए ।

गल्याङ पनि साहित्यको उर्वर भूमि हो । यस क्षेत्रमा पनि बेलाबेलामा साहित्यिक गतिविधि भइरहन्छन् । यहाँको गतिविधिलाई निरन्तरता दिन र यहाँका साहित्य साधकहरुलाई जाँगरिला बनाउन यस क्षेत्रमा यो कार्यक्रमको आयोजना गरिएको कार्यक्रम संयोजक मिलन समिरले बताए । आमन्त्रित व्यक्तित्वको रूपमा गल्याङ नगरपालिका वडा अध्यक्षहरू कृष्णप्रसाद भट्टराई, मुक्तिप्रसाद खनाल, झिमबहादुर थापा र दलबहादुर सिङ्जाली एवम गल्याङ बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख ऋषिराम भण्डारी रहेका थिए । कार्यक्रमको सहजीकरण गल्याङ प्रज्ञा प्रतिष्ठानका संस्थापक सचिव युवाकवि मिलन समीरद्वारा गरिएको थियो । स्वागत मन्तव्य प्रज्ञा प्रतिष्ठानका उपाध्यक्ष अग्रज साहित्यकार व्यक्तित्व सुर्यप्रसाद डुम्रेद्वारा गरिएको थियो भने कार्यक्रममा मोतीराम भट्टको समग्र व्यक्तित्वको बारेमा प्रज्ञा प्रतिष्ठानका सदस्य युवा कवि प्रेमबन्धु सुवेदीद्वारा प्रकाश पारिएको थियो ।

 

 

प्रतिक्रिया