भीरकोटमा खुल्ला तीज गीत प्रतियोगिता, सिर्जनशील समूह प्रथम
भीरकोट ।
कालिका पुस्तकालय भीरकोटले आयोजना गरेको खुल्ला तीज गीत प्रतियोगिता सम्पन्न भएको छ । १७ औं पुस्तकालय दिवस तथा हरितालिका तीजको अवसरमा पुस्तकालय र क्याम्पसको प्राङ्गणमा आयोजना गरिएको प्रतियोगितामा सिर्जनशील आमा समूह, भीरकोट प्रथम भएको छ । यसैगरी मनकामना महिला कृषक समूह, अर्जुनचौपारीले द्वितीय स्थान प्राप्त गरेको छ भने महिला मिलन आमा समुह, पुतलीबजारले तृतीय स्थान प्राप्त गरेको छ । गृहलक्ष्मी आमा समुह, भीरकोटले सान्त्वना स्थानमा चित्त बुझाएको छ । प्रतियोगिताका विजेता आमा समुहहरूले नगद पुरस्कार प्राप्त गरेका छन् । प्रथम, द्वितीय, तृतीय र सान्त्वना भएका आमा समुहहरूले नगद १५ हजार, १० हजार, ५ हजार र ३ हजार रूपैयाँ प्राप्त गरेका हुन्।
प्रतियोगितामा १५ वटा आमा समुहहरूको सहभागिता रहेको थियो । प्रतियोगिताको निर्णायकको भूमिकामा लोकदोहोरी प्रतिष्ठानका अध्यक्ष नेत्र खड्का, पब्लिक आवाजका सम्पादक अमृत अर्याल, वरिष्ठ कृषि अधिकृत माधव लम्साल र नृत्य निर्देशक सगुन थापा रहेका थिए । सहभागीहरूले भौतिक विकास, सामाजिक विकृती, कृषकका पीडा, शिक्षा, रोजगारी, महिला सशक्तीकरण, संस्कार शिक्षा लगायतका विषयवस्तुहरूलाई गीतको लयमा व्यक्त गरेका थिए । पुस्तकालयको स्तरोन्नति र विकासको लागि खुल्ला तीज गीत प्रतियोगिता आयोजना गरिएको संस्थाका अध्यक्ष श्याम अर्यालले जानकारी दिए । प्रतियोगिता र पुस्तकालयको निम्ति अर्जुनचौपारी गाउँपालिका, पुतलीबजार नगरपालिका, भीरकोट नगरपालिका र खुमा अर्याल फाउण्डेसन तथा अन्य शुभेच्छुकहरूले आर्थिक सहयोग गरेका छन् ।
प्रतिक्रिया