‘औद्योगिकरण नभएसम्म आर्थिक समृद्धि सम्भव छैन’
नारायण प्रसाद ढकाल,
प्रमुख,
पर्यटन तथा उद्योग कार्यालय,
स्याङ्जा ।
साविकको घरेलु तथा साना उद्योग कार्यालय अहिले पर्यटन तथा उद्योग कार्यालयको नाममा रुपान्तरण भएको छ । जिल्लामा उद्योग तथा व्यवसाय संचालन गर्ने सबै फर्महरु यो कार्यालयमा दर्ता हुनैपर्छ । यस कार्यालयबाट लघु, घरेलु तथा साना उद्योगतर्फ १० करोड स्थिर पुँजीसम्म दर्ता गर्न सकिनेछ भने वाणिज्यतर्फ जतिसुकै पुँजीको पनि दर्ता गर्न सकिनेछ । यस कार्यालयले ट्राभल तथा टे«किङ एजेन्सी दर्ता, अनुमति र नवीकरण, पर्यटकीय होटल रिसोर्ट, लज, ट्राभल गाइड, ¥याफ्टिङ लगायत साहसिक पर्यटन आदिको प्रवद्र्धन, दर्ता अनुमति नवीकरण र नियमन गर्नेछ । हाल यस कार्यालयको प्रमुखका रुपमा नारायण प्रसाद ढकाल रहेका छन् । ढकालले कार्यालय मात्र धानेका छैनन्, नयाँ नयाँ क्षेत्रमा लगानी विस्तार र युवा स्वरोजगारलाई समेत जोड दिएका छन् । तर पनि जिल्लामा नयाँ उद्योग व्यवसाय खुल्ने क्रम घटेको छ । प्रस्तुत छ, पर्यटन तथा उद्योग कार्यालय स्याङ्जाका प्रमुख ढकालसँग कार्यालयको गतिविधि लगायत अन्य विषयमा पब्लिक आवाज पत्रिका र अनलाइनका सम्पादक अमृत अर्यालले गरेको कुराकानीको सार ः
१. ढकाल सर आराम हुनुहुन्छ ? स्याङ्जामा अहिले पर्यटन तथा अन्य उद्योगको स्थिती कस्तो छ ?
नमस्कार । म आरामै छु । सर्वप्रथम त तपाइँको पत्रिका मार्फत कार्यालयको विषयमा केही कुरा राख्ने अवसर दिनुभएकोमा हार्दिक धन्यबाद दिन चाहन्छु । यस जिल्लामा पनि समग्र मुलुकमा जस्तै उद्योग क्षेत्रको कार्यप्रगतीमा सन्तोष मानिहाल्ने अवस्था छैन । जिल्लामा ठुला तथा मझौला उद्योगहरु छैनन् तथापी सेवामुलक उद्योग (जस्तै होटल, होमस्टे, कन्सलटेन्सीहरु, प्रशिक्षण केन्द्रहरु आदि) तथा कृषिजन्य उद्योगहरुको बृद्धि सन्तोषजनक रहेको छ । उद्योगीको भनाइ अनुसार दर्ता भई संचालनमा रहेका उद्योगहरु समेत पुर्ण क्षमतामा संचालन हुन सकेका छैनन् । यस जिल्लामा दर्ता भई संचालनमा रहेका परम्परागत घरेलु तथा साना उद्योगहरुको संख्या ६ हजारको हाराहारीमा छ । जसबाट २० हजारभन्दा बढी रोजगारी सिर्जना भएको देखिन्छ । पर्यटनतर्फ हेर्दा यस जिल्लामा पर्यटकस्तरका होटल, रेष्टुरेन्ट तथा रिसोर्टहरु मात्र ८ वटा रहेका छन् । ट्राभल एजेन्सी ४ वटा रहेतापनि ट्रेकिङ एजेन्सीहरु छैनन् । यससंग सम्वन्धित आवश्यक सेवा पोखरामा रहेका ट्रेकिङ एजेन्सीहरुले प्रदान गर्दै आएका छन् । उल्लेखित उद्योग तथा पर्यटनमुलक ब्यवसायहरुमध्ये अधिकांशः स्वरोजगारमुलक रहेका छन् । धेरैजसो ब्यवसायहरुमा ब्यवसायीहरु स्वयं कारोवारमा संलग्न भएको पाईन्छ ।
२. पहिलेको घरेलु तथा साना उद्योग अहिले पर्यटन तथा उद्योग कार्यालयमा रुपान्तरित भएको छ । संरचना परिवर्तनपछी यसको कार्यक्षेत्र पनि परिवर्तन भएको हो र ?
हो । साविकमा उद्योग र वाणिज्य प्रशासन संचालन तथा सीप विकास तालिमहरु मात्र संचालन गर्ने यस कार्यालयले हाल पर्यटकीय पूर्वाधारको निर्माण र संरक्षणका साथै पर्यटकस्तरका उद्योगहरुको प्रशासन संचालन समेत गर्ने गरेको छ । उपभोक्ताको हक हित सँग सम्बन्धीत अन्य सेवा प्रदायक संस्थासँग आवश्यक समन्वय गर्ने गराउने कार्य पनि यस कार्यालयबाट हुनेछ ।
३. यस कार्यालयले पसल तथा उद्योग दर्ता गर्ने बाहेक खासै केही काम गर्न सकेन भन्ने छ नि, यसलाई वास्तवमै सक्रिय बनाउन के गर्नु पर्ला ?
कार्यालयलाई तोकिएको कार्यजिम्मेवारी अनुसार मुल कामहरु उद्योग र वाणिज्य प्रशासन नै हुन् । कार्यालयको आधाभन्दा बढी समय र श्रोत यसैमा खर्च हुने गरेको छ । यसवाहेक विगतदेखि नै सीपमुलक तालिम प्रदान गरि युवा स्वरोजगारी अभिबृद्धि गर्न यस कार्यालयको भूमिका उल्लेखनीय रहेको छ । यस कार्यालयबाट तालिम प्राप्त गरि देश विदेशमा रोजगारी गर्नेहरुको संख्या उल्लेखनीय छ ।
४. अहिलेकै स्थितीमा स्याङ्जाले कति पर्यटक धान्न सक्छ ?
हाल यस जिल्लामा उपलब्ध अधिकांश पर्यटन पूर्वाधारहरु आन्तरिक पर्यटक लक्षित रहेका छन् । यी मुलतः होटल, रेष्टुरेण्ट, खाजा घर र होमस्टेहरु हुन भन्न सकिन्छ । यस्ता पूर्वाधारहरु पर्याप्त रहेका र विस्तार हुने क्रममा रहेकाले पर्याप्त आन्तरिक पर्यटक धान्न सक्ने क्षमता रहेको छ । यस जिल्लामा विदेशी पर्यटकहरुको आगमन उल्लेखनीय भएतापनि रात विताउनेहरुको संख्या न्यून रहेकाले बिदेशी पर्यटकहरु लक्षित पूर्वाधारहरु पर्याप्त छैनन् । यसतर्फ पूर्वाधार निर्माण र प्रवर्धनात्मक कार्यक्रमहरु संगसंगै सञ्चालन गर्नुपर्ने देखिन्छ ।
५. अर्को एउटा गुनासो छ । डोजर संस्कृतिले पदमार्गका प्राचिन बाटो मासेर मोटरबाटो बनाउने चलन सुरु भयो भन्ने छ नि ? पर्यटन कार्यालयले यसलाई कसरी हेरेको छ ?
समय अनुसार आधुनिक पूर्वाधारहरुको विकास हुनु सामान्य कुरा हो । यो अपरिहार्य पनि छ । तर सडकलगायतका पूर्वाधारहरु निर्माण गर्दा हाम्रा ऐतिहासिक सम्पदाका रुपमा रहेका पदमार्गहरुको संरक्षणमा पर्याप्त ध्यान नपुग्नु दुखद् पक्ष हो । सडकमार्गका कारण क्षति भएका पदमार्गहरुको आवश्यकता तथा उपयुक्तता हेरी तिनको संरक्षण तथा पुनर्निमाणका साथै नयाँ पदमार्गहरुको निर्माणका लागि प्रदेश सरकार अग्रसर रहेको छ र त्यस्ता पदमार्गहरु निर्माणका लागि आवश्यक बजेटको ब्यवस्था समेत गरेको पाइन्छ ।
६. पर्यटक त नेपालका लागि विदेशी मुद्राका सबैभन्दा ठूला स्रोत पनि हुन् । अब स्याङ्जामा गर्नैपर्ने काम के के हुन् जसका कारण नेपाल भित्रिएका पर्यटकहरु स्याङ्जा आउछन् ?
यस जिल्लामा मुलतः धार्मिक र साहसिक पर्यटकहरु आउने संभावना रहेकाले पर्याप्त संख्यामा विदेशी पर्यटकहरु यहाँ भित्राउनका लागि यस जिल्लाका धार्मिक स्थलहरुको प्रचारप्रसार गर्नुपर्ने देखिन्छ । पञ्चासे तथा डहरे देउराली लगायतका क्षेत्रहरुमा ट्रेकिङका लागि पर्याप्त पुर्वाधार निर्माण गर्नुपर्ने देखिएको छ ।
७. अहिले जिल्लामा उद्योग दर्ता, नविरण तथा बन्द गर्नेको संख्या कति छ ? त्यसमध्ये कृषि सम्वन्धि उद्योगको संख्या कति हो ?
हालको विश्वब्यापी आर्थिक परिदृश्यको प्रभाव नेपालमा पनि परेकाले ब्यवसायिक क्षेत्र फस्टाउन सकेको छैन । यस जिल्लामा गत आवमा उद्योहरुको स्थापना तथा बन्द गर्नेहरुको संख्या उस्तै उस्तै रहेको छ, जुन सन्तोषको कुरा होइन । यस वर्ष २ सय ५० नयाँ उद्योग दर्ता भए भने २ सय २६ वटा बन्द गरिएका छन् । गत असार मसान्त सम्मको तथ्याङ्क अनुसार यस जिल्लामा रहेका कृषिजन्य फर्मको संख्या ३ हजार ५ सय ७५ रहेको छ ।
८. कृषिप्रधान देशमा कृषि उद्योग नै कम मात्रामा खोलिने अवस्थालाई यहाँले कसरी हेर्नु हुन्छ ?
पहिलो कुरा त हाल नेपाल कृषिप्रधान मुलुकभन्दा पनि रेमिटेन्समुलक बन्दै गएको छ । मतलब अधिकांश जनताको पेशा कृषि भएतापनि कुल गार्हस्थ उत्पादनमा यसको हिस्सा क्रमशः घट्दै गइरहेको छ । कृषिजन्य फर्महरुको संख्या सोचेअनुसार नभएतापनि क्रमशः बढ्दै गएको छ । मुलुक मासु तथा तरकारीजन्य उत्पादनहरुमा क्रमशः आत्मनिर्भर हुँदै गएको छ, जुन सकारात्मक कुरा हो ।
९. स्याङ्जामा दर्ता भएकाउद्योग बन्द गर्नेको संख्यामा बृद्धि भएको देखिन्छ नि, किन होला ?
स्याङ्जामा मात्र होइन मुलुकभरि नै ब्यवसायिक फर्महरु बन्द हुने क्रम बढिरहेको छ । यसको पर्याप्त अध्ययन गरि स्पष्ट कारण भविष्यमा पहिचान होला । तथापी प्राथमिक रुपमा देखिए अनुसार कोरोना महामारी पश्चातको विश्वब्यापी मन्दी तथा मुलुकमा घट्दै गइरहेको युवा जनसंख्या नै जिम्मेवार देखिन्छ ।
१०. अन्त्यमा पब्लिक आवाज पत्रिका मार्फत आम नागरिकहरुलाई के भन्न चाहनुहुन्छ ?
उद्यम नै मुलुक र जनताको वास्तविक समृद्धिको आधार हो । त्यसकारण हरेक ब्यक्तिले कोरा किताबी ज्ञानमा मात्र सिमित नभइ जीवनोपयोगी सीप सिक्नुहोस र आत्मनिर्भर बन्नुहोस भन्न चाहन्छु । यसले तपाई संसारको जुनसुकै ठाउँमा पुगे पनि काम, माम र दाम दिइरहनेछ । औद्योगिकरण नभएसम्म आर्थिक समृद्धि सम्भव छैन । शहरीकरलाईलाई व्यवस्थित नगर्दा सम्म आर्थिक उन्नती सम्भव छैन । त्यसैले आर्थिक बृद्धिदर र शहरीकरण जति व्यवस्थित बनाउदै लगियो समृद्धि पनि त्यति नै संगसंगै जान्छ । धन्यवाद ।
प्रतिक्रिया