टोल—टोलमा तीज— नेपाली महिलाहरुले उत्सवका साथ मनाउदै

वालिङ ।
केही बर्ष यता हरितालिका तीज पर्वलाई महिलाहरुले घरमा भन्दापनि बाहिर मनाउने प्रचलन बढाउन थालेका छन् । हरेक बर्ष आउने हरितालिका तीज पर्व महिलाहरुले आफ्ना बेदनाका पोकाहरु गीत मार्फत खोलेर मनोरन्जन सहित मनाउने गर्छन् । देशभरी महिलाहरु तीजको दर खाने र नाच्नेमा अहिले व्यस्त छन् । महिलाहरुका साथी—साथीहरु बिचको गहिरो सम्वन्धका रुपमा लिइने यो पर्वले भेटघाट र दुखसुखलाई पनि मेटाइदिने पर्वका रुपमा मानिने भएकाले नेपाली महिलाहरुले यो पर्वलाई उत्सवका रुपमा मनाउदै आएका छन् ।

देशका विभिन्न भाग सहित स्याङ्जामा पनि महिलाहरुले तीज पर्वलाई निकै उत्सवका साथ मनाइरहेको देखिन्छ । घर—घरमा मनाईदै आएको तीज पर्व अहिले पाटीप्यालेस, आमा समुहका भवन, खुलाचौर लगायत टोल—टोलमा तीजको रौनकताले छाएको छ । बिशेष गरी रातो पहिरन सहित विभिन्न रङ्गका पोषाकमा सजिएर महिलाहरु तीज मनाइरहेको देखिन्छ । जिल्लाका अधिकांश पालिकाहरुका टोल देखि विभिन्न पार्टीप्यालेसमा महिलाहरुको जमघट हुने रमाइलो गर्ने प्रचलनले अधिकांश महिलाहरुमा यो पर्वले उत्साह थपिएको पाइएको छ । माइत जाने, बाल्यकालका साथीसंगी सगँ भेट्ने, दाजुभाई सगँ घरका बेदनाहरु पोख्ने, मिठा÷मिठा परिकारहरु खाने र रमाइलो गरी मनाउने तीज पर्व साच्चिकै नेपाली महिलाहरुका लागि निकै महत्वपुर्ण चाडपर्वका रुपमा मानिदै आएको छ ।

विभिन्न महिलाहरुका संघसंस्था, राजनीतिकदलका भातृ संस्थाका संघसंगठन, कर्मचारीहरुका संघसंगठन, उद्योगी व्यवसायी लगायतले यो बर्षको तीजमा दर खाने र रमाइलो गर्न सफलता नै पाए । तर केही भड्किलो तीजले गर्दा निमुखा महिलाहरुका लागि भने यो चाडपर्व खासै उत्साह बन्ने भने सकेको देखिएन । तीजलाई भड्किलो र खर्चिलो नगरी मनाउनु पर्ने सुझाव गण्डकी प्रदेशका सांसद कल्पना तिवारीको सुझाव छ । उनी पुगेको कार्यक्रममा सांसद तिवारीले नेपाली महिलाहरुले परम्परागत लोकसंस्कृति र मौलिकतामा रहेर यो पर्व मनाउन महिलाहरुलाई आग्रह गर्दै आएकी छन् । तीजलाई भड्किलो नबनाउन विभिन्न सामाजिक संघसंस्था लगायतले आग्रह गरिरहेपनि केही ठाउँमा भड्किलो र खर्चिलोपनाहरु देखिदा यो पर्व सबै महिलाहरुको साझा बन्न नसकेको धारणा सांसद तिवारीको छ ।

पछिल्लो समय तीज पर्वलाई जोगाउन सरकारी निकायहरु पनि अग्रसरता रहेका छन् । तीजगित प्रतियोगिता राखेर यो पर्वको मर्म र भावनालाई समेट्न स्थानीय सरकारहरु सहित अन्य सरकारी कार्यालयहरु सहयोगीको भुमिकामा देखिएका छन् । जिल्ला अधिकांश पालिकाले, जिल्ला कृषि ज्ञान केन्द्र, सामाजिक संघसंस्थाहरु सक्रिय रहेको महिलाहरु बताउछन् । छाडा गीतहरुका कारण कतै तीजको भावना हराउदै जाने त हैन भन्ने चिन्ता रेडियो आँधीखोलाकी अध्यक्ष शान्ता थापाको छ । हाम्रो संस्कृति र संस्कार हराउन नदिन सरकारी निकायहरुबाट भएको पहलकदमीको भने थापाले उच्च सम्मान गरेकी छन् । तीजको संस्कृति र मौलिकता जोगाउन सरकारी निकायले निरन्तरता दिनुपर्ने र सबै महिलाहरुले यसमा साथ दिनुपर्ने सुझाव उनको छ ।

विशेषतः यस पर्वलाई चेलिबेटी तथा दिदीबहिनी पुनर्मिलनको आनन्दमय उत्सबको रुपमा मनाउनुपर्ने मान्यता हो । अहिले आएर होटल रेस्टुरेन्ट, बार, पार्टि प्यालेस मात्र नभई शिक्षक शिक्षिका तथा अभिभावक भेला भएर स्कुलमा, कर्मचारीहरु आ–आफ्नो दल विशेषका युनियनहरुमा, पेशागत संघसंस्थाहरु आ–आफ्नो कार्यालयमा, वनभोजमा तथा टे«किङ्ग र हाइकिङ्मासमेत तीज अनि दरको संस्कृति विकृति बनेर अगाडि बढदै गइरहेको छ । तीजको धार्मिक संस्कृतिक एवं सामाजिक महत्व दिनानुदिन घट्दै गइरहेकोले यसलाई रोक्न आवश्यक देखिएको महिला अधिकारकर्मीहरु बताउछन् ।

धार्मिक तथा सांस्कृतिक महत्व रहेको तीज पर्वले पुरुषप्रधान देश नेपालमा घरभित्र मात्रै खुम्चिएर बस्ने महिलाहरूलाई बाहिर निस्कन प्रेरित गर्ने र आफ्ना पीरमर्का अरुसमक्ष राख्ने मौका दिने भएकाले यसको सामाजिक महत्व पनि त्यत्तिकै छ । तर अचेल उच्छुखंल र भड्किला गीत गाउने, श्रृङ्गारकोे नाममा गहनाको प्रदर्शन गरी समाजमा प्रतिष्ठित बन्न खोज्ने, नाचको निहूँमा अङग प्रदर्शन गर्ने जस्ता विकृतिहरु तीजको समयमा व्यापकता पाएको छ । यसलाई न्युनिकरणमा महिलाहरुलेनै अग्रसरता देखाउन जरुरी छ । नयाँ पुस्तालाई पुरानो तीज देखाउन पनि उत्तिकै आवश्यक छ ।

 

प्रतिक्रिया