भीरकोटमा विपन्नको घर बनाउँदै कांग्रेस
भीरकोट ।
भीरकोटको वडा नं. ६ मा नेपाली कांग्रेसले विपन्न परिवारको घर बनाइदिने भएको छ । नेपाली कांग्रेसले नगरमा विपन्नको घर बनाउने अभियानै चलाउने भएको हो । नेपाली काङ्ग्रेसका सँस्थापक नेता विपि कोइरालाको जन्मजयन्तीको अवसरमा नेपाली काँग्रेस भीरकोटले घरबारबिहिन गरिब परिवारलाई सहयोग गरेको छ । नेपाली काँग्रेस भीरकोट नगर कार्यसमितिले १११ औं वि.पि. जयन्तीको अवसरमा भीरकोट नगरपालिका वडा नं. ६ चिउरेनी निवासी प्रेमबहादुर माझीलाई घर बनाइदिने भएको हो । घरबारविहिन माझी भीरकोटका विभिन्न पार्टी पौवामा सुत्दै आएका थिए । माझीका छोरा राजेन्द्र माझीको केही दिन अघि दुर्घटनामा परी निधन भएको थियो । आफ्नो घर नहुँदा उनीहरू छिमेकीको घरमा बसेर मृत्यु संस्कार गरिरहेका छन् ।
नेपाली काँग्रेस भीरकोटका सभापति याम प्रसाद अधिकारीले प्रेम माझीको परिवारका लागि २ कोठे टिनको छाना भएको सामान्य घर बनाइने र सम्पूर्ण खर्च नेपाली काँग्रेस भीरकोट नगर कार्यसमितिले व्यहोर्ने बताए । सकेसम्म चाँडो घर निर्माण गरिने बताउँदै उनले घर निर्माणमा आर्थिक सहयोग अभियान सुरु भैसकेको जानकारी दिए । काँग्रेसका नेता, कार्यकर्ता र शुभेच्छुकहरूलाई घर निर्माणमा आर्थिक सहयोग गर्न उनले अनुरोध गरेका छन् । माझीको २ कोठा र शौचालय सहितको घर निर्माण हुनेछ । सभापति अधिकारीले भने, ‘राजनीतिक रुपमा माझी परिवार कुन पार्टीका हुन भन्ने कुरालाई हामीले महत्व दिएनौ । गाँस, बास र कपासको आधारभुत आवश्यकता पनि नपाएका माझी परिवारले अव समान्य घर दुई महिना भित्रमा पाउने छन् ।ʼ
राजेन्द्रको तेह्रौ दिनको पूण्य तिथि पश्चात् घर निर्माण सुरू गरिने नेपाली काँग्रेस भीरकोटका सचिव तारा अर्यालले बताए । प्रेम बहादुर माझीको दुःखमा मलम लगाउन भीरकोट काँग्रेसका नेता कार्यकर्ताहरू अत्यावश्यक खाद्यान्न सामाग्री र लत्ताकपडा सहित सोमबार बिहान उनको निवास चिउरेनी पुगेका थिए । सामन्त र हुनेखानेको पार्टी भनेर आलोचित हुने गरेको काँग्रेसले वि.पि.को आदर्शलाई पछ्याउँदै विपि जयन्तीको अवसरमा घरबारविहीन परिवारलाई सहयोग गर्न लागेको हो ।
सहयोग कार्यक्रममा नेपालको प्रथम जननिर्वाचित प्रधानमन्त्री पनि रहेका कोइरालाको राजनितिक र साहित्यिक दुवै व्यक्तित्वको आयाम माथि विमर्श गरिएको थियो । नेपाली काँग्रेस भीरकोटको आयोजनामा भीरकोट ६ चिउरेनीमा सम्पन्न उक्त कार्यक्रममा भीरकोटका वर्तमान नगर प्रमुख गोविन्द कुमार कर्माचार्य र निर्वतमान नगर प्रमुख छायाराम खनालको पनि उपस्थिति रहेको थियो । भीरकोटका नगरप्रमुख कर्माचार्यले नेपाली राजनितीमा विपि कोइरालाले प्रतिपादन गरेको सिद्धान्त अझै पनि सान्दर्भिक रहनुले विपिको व्यक्तित्व सामान्य नभएको बताए । नेपाली काँग्रसका महासमिति सदस्य एवं निवर्तमान नगरप्रमुख खनालले सबै राजनीतिक दल, भाषा, धर्म, भुगोल, जात र लिङ्गलाई समान दृष्टीकोणले हेर्ने एउटै मात्र राजनीतिक दल नेपाली कांग्रेस भएको बताए । खनालले नेपाली कांग्रेसका हरेक अभियानमा समाहित हुन पनि सर्वसाधरणलाई आग्रह गरे ।
प्रतिक्रिया