शुभलक्ष्मी सहकारीको १२औं वार्षिक साधारण सभा सम्पन्न

अमृत अर्याल,
भीरकोट ।
शुभलक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १२औं वार्षिक साधारण सभा बिहिबार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष भक्तबहादुर केसीको अध्यक्षतामा भीरकोट, बयरघारीमा साधारण सभा सम्पन्न भएको हो । भीरकोट नगरपालिकाका प्रमुख गोविन्द कुमार कर्माचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न साधारण सभामा संस्थाको बित्तीय अवस्था र बित्तिय अनुशासनका बारेमा चर्चा भएको थियो । प्रमुख अतिथि कर्माचार्यले ’हिजो आज पाँचवटा राष्ट्रिय समाचार शीर्षक प्रसारण हुँदा कम्तिमा चारवटा समाचार सहकारी संस्था सम्बन्धी हुने र ती चार समाचार मध्ये तीनवटा समाचार खराब सहकारीका बारेमा हुनेगरेको तीतो यथार्थका बाबजुद शुभलक्ष्मी सहकारी जस्तो बित्तीय रुपमा सबल, आर्थिक अनुशासनका हिसाबले अब्बल र सामाजिक उत्तरदायीत्वका हिसाबले अग्रीणी संस्था हुनु र यस्तो संस्थाको साधारण सभामा प्रमुख अतिथि बन्न पाउँदा खुसी लागेको भन्दै शुभलक्ष्मी साकोसको प्रशंसा गरेका थिए ।
संस्थाका उपाध्यक्ष तारक बहादुर केसीले संस्थागत मन्तव्य सहित सेयर सदस्य, प्रमुख अतिथि, विशेष अतिथि, अतिथि लगायत सम्मानित ब्यक्तित्वहरुलाई स्वागत गरेका थिए । झण्डै उन्नतीस करोडको सम्पत्ति (कारोवार) सहितको यस शुभलक्ष्मी साकोसको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाका अध्यक्ष भक्तबहादुर केसीले संस्थालाइ आगामी दिनमा अझ प्रभावकारी र सदस्यमुखी बनाउने र आर्थिक अनुशासनमा आँच आउन नदिइ सामाजिक उत्तरदायित्वमा पनि अग्रसर भैरहने प्रतिवद्धता ब्यक्त गरेका थिए । विशेष गरि बयरघारीमा विभिन्न पेशा ब्यबसाय गरि बस्ने ब्यक्तिहरुको पहलमा आज भन्दा १२ वर्ष अघि सुरु भएको यो सहकारी भीरकोटमा खोलिएका विभिन्न सहकारीहरु मध्ये नमुना सहकारी मानिन्छ ।
वार्षिक साधारण सभामा उत्कृष्ट कर्मचारी पूजा घर्ती क्षेत्री, जेष्ठ नागरिक सदस्य मीन बहादुर खत्री, उत्कृष्ट ऋणी रण बहादुर खत्री, उत्कृष्ट कृषक कमला गोदार, नियमित बचतकर्ता भविश्वर गुरुङ र उत्कृष्ट लघुवित्त समुह मुलपानी महिला स्वालम्बन केन्द्र, मुलपानीलाई सम्मान गरिएको थियो । बन्दसत्रमा संस्थाका अध्यक्षको वार्षिक प्रतिवेदन, प्रवन्धक लेखबहादुर केसी (किरण)द्वारा प्रस्तुत आर्थिक वर्ष २०८०÷०८१ को आयब्यय तथा आर्थिक वर्ष २०८१÷०८२ को बजेट सहितको प्रतिवेदन, लेखा सुपरीवेक्षण समितिका सदस्य शेषकान्त खनालद्वारा प्रस्तुत प्रतिवेदन, बाह्य लेखा परीक्षक द्वारा प्रस्तुत लेखा परीक्षण प्रतिवेदन लगायत बिषयहरु उपर छलफल गरि सर्वसम्मत रुपमा पारित गर्ने निर्णय भएको छ ।
स्याङ्जा जिल्लाभरी कार्यक्षेत्र रहेको भीरकोटको प्रतिष्ठित सहकारी शुभलक्ष्मी बचत तथा ऋण सहकारी “समृद्धिका लागि सहकार्य” भन्ने मूल नाराका साथ वि.सं. २०७० साल असार ३ गते स्थापना भएको थियो । यस सहकारीले उद्यमशीलता र स्वरोजगारलाई प्राथमिकता दिदै आएको छ । डिभिजन सहकारी कार्यालय, स्याङ्जा र जिल्ला सहकारी संघबाट पटकपटक सम्मानित भएको यस सहकारीमा शेयर सदस्यको संख्या २ हजार ४३ रहेको छ । १ करोड ९८ लाख ६२ हजार ८ सय शेयर पूँजी रहेको सहकारीले २८ करोड ५८ लाख बराबरको आर्थिक कारोबार गर्दै आएको छ । सहकारीले आर्थिक वर्ष २०८०÷८१ मा करिब ९० लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । संस्थाको प्रधान कार्यालय बयरघारीमा रहेको छ ।
कार्यक्रममा बोल्दै जिल्ला सहकारी संघका अध्यक्ष रविन्द्रप्रसाद श्रेष्ठले वार्षिक प्रतिवेदनका आधारमा हेर्दा शुभलक्ष्मी सहकारी बलियो र पारदर्शी भएको धारणा ब्यक्त गरे । सहकारी अभियानलाई बलियो बनाउन नगरपालिकाले सबै सहकारीहरुलाई राम्रोसँग नियमन गर्नुपर्ने कुरामा उनको जोड थियो । कार्यक्रममा राष्ट्रिय सहकारी बैंक, वालिङ शाखा प्रमुख टिकाराम अधिकारी, निवर्तमान नगर प्रमुख छायाराम खनाल, नेपाली काँग्रेसका नगर सभापति याम प्रसाद अधिकारी, नगर प्रवक्ता दिपेन्द्र के.सी., लायन्स क्लब अफ भीरकोटका अध्यक्ष ढाकाराम खनाल, नेकपा एमाले भीरकोटका अध्यक्ष हर्क बहादुर गरुङ लगायतले सहकारीको बारेमा बोलेका थिए । कार्यक्रममा बालज्योती मा.वि. का विद्यार्थीहरुले नृत्य प्रस्तुत गरेका थिए ।
प्रतिक्रिया