क्षेत्री समाजले बनाउने भयो बहुउद्देश्यीय भवन

भीरकोट ।

भीरकोट नगरपालिकामा बहुउद्देश्यीय भवनको शिलान्यास गरिएको छ । क्षेत्री समाज नेपाल, भीरकोट नगर कार्यसमितिले वडा नं १ बयरघारीमा निर्माण गर्न लागेको सो भवनको नगर प्रमुख गोविन्द कुमार कर्माचार्य र समाजका अध्यक्ष क्याप्टेन मीन बहादुर के.सी. ले संयुक्त रुपमा शिलान्यास गरेका हुन् । ३ करोड लागत अनुमान गरिएको सो भवन ७ हजार १ सय ६५ बर्गफिट क्षेत्रफलमा बन्नेछ । ३ तलाको संरचनामा समेटिने भवनको सभाहल कम्तिमा पनि ६ सय जना अट्ने क्षमताको हुने समाजका अध्यक्ष क्याप्टेन मीन बहादुर के.सी.ले जानकारी दिए । क्षेत्री समाजको अगुवाइमा निर्माण गरिने भवन समुदायका सबै जातजातिले प्रयोग गर्न पाउने अध्यक्ष के.सी.ले बताए ।

भवन निर्माणका लागि करिब ३ करोड लागत अनुमान गरिएकाले समाजले सबै शुभेच्छुकहरुसँग आर्थिक सहयोगका लागि अपिल गरेको छ । शिलान्यास समारोहमा उपस्थित क्षेत्री समाजका सदस्यहरु र शुभेच्छुकहरुबाट करिब १२ लाख रुपैयाँ रकम संकलन भएको समाजका सचिव लेख बहादुर के.सी. (किरण) ले जानकारी दिए । बहुउद्देश्यीय भवन निर्माणका लागि भीरकोट नगरपालिकाले पनि १० लाख रुपैयाँ रकम विनियोजन गरेको छ ।

प्रतिक्रिया