चापाकोटका विद्यार्थीको प्रतिभा— विज्ञानका आविष्कार सामाग्रीको प्रदर्शनी

वालिङ ।
स्याङ्जाको चापाकोट नगरपालिकाले विद्यार्थीहरुबाट निर्मित विज्ञानका आविष्कार सामाग्री प्रदर्शनी गरेको छ । विद्यालय÷विद्यालय विच र विद्यार्थी÷विद्यार्थी विच प्रतियोगितात्मक कार्यक्रम गरेर विज्ञान, प्रविधि तथा आविष्कार सामाग्री प्रदर्शनी गरिएको हो । राष्ट्रिय शिक्षा दिवस तथा १२ औं राष्ट्रिय विज्ञान दिवसको अवसर पारेर नगरपालिकाले पालिकास्तरीय विज्ञान सामाग्रीहरुको निर्माण तथा प्रदर्शनी प्रतियोगिता गरेको जनाएको छ । सामुदायिक र संस्थागत गरी २३ विद्यालयहरु प्रतियोगितामा सहभागी भएको चापाकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ध्रुव खनालले जानकारी दिए ।

विज्ञान बिषयको पढाई भएपनि विद्यार्थीको प्राक्टिकल हेरिएको थिइएन प्रमुख प्रशासकीय अधिकृत खनालले भने, ‘विज्ञान दिवसमा विद्यार्थीको प्रतिभा खोज्ने प्रयास मात्रै गरेका छौं ।’ नगर स्तरीय विज्ञान प्रदर्शनीमा निकै उत्साहजनक प्रतिभा विद्यार्थीले देखाए उनले भने । पढाई मात्र भन्दा पनि विद्यार्थीको प्रतिभा खोज्नुपर्छ भन्ने उदेश्य नगरपालिकाको रहेको खनालले बताए । पालिकाभित्र विज्ञान सामाग्री आविष्कार गर्ने प्रतिभा रहेछ । उक्त प्रतिभाको यो प्रदर्शनीले उजागर गराएको नगरपालिकाको ठम्याई छ ।

प्रदर्शनीमा विद्यार्थीहरुले स्मार्ट सिटी, सडक सुरक्षा, सुरक्षित चापाकोट, बैकल्पीक उर्जा, धान कुट्ने मेसिन लगायतका सामाग्रीहरु प्रदर्शन गरेका थिए । चापाकोटलाई कसरी स्मार्ट सिटी बनाउन सकिन्छ भन्ने चित्रण, कसरी सडक सुरक्षा गर्न सकिन्छ भन्ने सामाग्रीले वास्तविक चापाकोटको चिनारी देखाएको चापाकोट नगरपालिका शिक्षा शाखाका प्रमुख मनोज श्रीमलले बताए । विद्यार्थीले प्रदर्शनी गरेको मध्ये सबैभन्दा आकर्षण सुरक्षित चापाकोटको विज्ञान सामाग्री बनेको थियो । यो सामाग्रीमा विद्यार्थीहरुले पहिरो खस्दा बज्ने साइरन, नदीमा पानीको बहाव नाप्ने यन्त्र, पानीको गहिराई कति छ भन्ने मेसिनबाट देखाउने तरिका प्रस्तुत गरिएको शिक्षा शाखा प्रमुख श्रीमलले बताए ।
प्रतियोगितामा चापाकोट १ चौघेरामा रहेको भानु माध्यमिक विद्यालय पहिलो भएको छ । त्यस्तै गंगालाल मावि चापाकोट ९ सुन्तलीटार दोस्रो, जनज्योती मावि चापाकोट १० बोटेटार तेस्रो र राधादामोदर मावि चापाकोट ७ तथा बुद्ध सामुदायिक अंग्रेजी मावि सुन्तलीटार सान्त्वना भएको छन् । प्रतियोगितामा उत्कृष्ट भएका विद्यालयहरुले क्रमश १० हजार, ७ हजार, ५ हजार र ३ हजार नगद पुरस्कार प्राप्त गरेको नगरपालिकाले जनाएको छ । विगतका बर्षहरुमा चापाकोट नगरपालिकाले विद्यालयस्तरीय प्रदर्शनी गरेपनि यो बर्षदेखी नगरस्तरीय प्रदर्शनी शुरु गरेको हो ।

नगरपालिकाको बार्षिक शैक्षिक क्यालेण्डर २०८१ मा उल्लेख गरिए अनुसार यो प्रदर्शनीको आयोजना गरिएको नगर प्रमुख देवबहादुर खाँण (इश्वर) ले बताए । विद्यार्थीको सैद्धान्तिक सँगसँगै प्रयोगात्मक ज्ञान बढाउन यो प्रदर्शनीले मद्धत गर्छ भन्ने विश्वास लिएको छु नगर प्रमुख खाँणले भने, ‘आफुले जानेको प्रतिभा देखाउन सक्ने क्षमताको विकास कार्यक्रमको प्रमुख लक्ष्य हो ।’ विज्ञानको विकासमा चापाकोट नगरपालिका अगाडी रहेछ भन्ने चित्रण यो प्रदर्शनीले गरेको छ नगर प्रमुख खाँणले भने । यसलाई निरन्तता दिने योजनामा पालिका रहेको छ, उनले भने, ‘जसले गर्दा विज्ञानका सामाग्री उत्पादनमा टेवा मिलोस ।’ हरेक बर्ष यो प्रदर्शनी गर्दा विद्यार्थीले नयाँ—नयाँ टेक्नोलोजी खोज्ने र व्यवहारमा उतार्न सजिलो हुने उनको दावी छ ।

आगामी आर्थिक बर्षदेखी नीति तथा कार्यक्रममा नै समावेस गराएर लैजाने योजनामा चापाकोट नगरपालिका रहेको छ । विज्ञानको विकास हुन सक्यो भने नगरपालिकाको विकास हुन्छ भन्ने विश्वास यो प्रदर्शनीले नगरपालिकालाई दिलाएको बताइएको छ । नीति तथा कार्यक्रम अनुसार बजेट नै छुट्टाएर शिक्षालाई प्रथामिकतामा राख्नुपर्ने सवक सिकाएको नगर उपप्रमुख ईशा रानाले बताइन् । चापाकोटका विद्यार्थीको यो खालको प्रतिभा छ भन्ने हामीलाई थाहा नै रहेनछ उपप्रमुख रानाले भनिन्, ‘पालिकाले थोरै सहयोग गरिदिने हो भने आविष्कारमा चापाकोट अगाडी हुन्छ भन्ने लाग्यो ।’ हामी अचम्मित परेका छौं अब चापाकोटले आविष्कार तथा प्रयोगलाई प्रथामिकता दिएर लाग्ने छौं उनले भनिन् । चापाकोट नगरपालिकाले दिवसको अवसरमा आयोजना गरेको विज्ञान प्रदर्शनीमा विद्यार्थीहरुको उत्साहजनक सहभागिता रहेको थियो ।

प्रतिक्रिया