मुलुकको आर्थिक संकटमा बैंकको प्रतिरक्षात्मक भुमिका महत्वपुर्ण — सिइओ उपाध्याय

अमृत अर्याल,
वालिङ ।
मुलुकमा बैंकिङ क्षेत्र बलियो भए ठूला वित्तीय संकटबाट पार पाउन सकिने गरिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत माधव प्रसाद उपाध्यायले बताएका छन् । बिहिबार स्याङ्जाको वालिङमा आयोजित पत्रकारसँग अन्तरक्रिया कार्यक्रममा सिइओ उपाध्यायले पछिल्ला वर्षहरुमा बैंकहरु बलिया भएकै कारण विश्वव्यापी आर्थिक संकटहरुको प्रतिरक्षा गर्न सकेको बताएका हुन् । पत्रकारहरुले राखेको जिज्ञासालाई सम्बोधन गर्दै उपाध्यायले कोभिड १९ ले शिथिल बनाएको अर्थतन्त्रमात्र नभएर मूल्यवृद्धि नियन्त्रण, वित्तीय संकटलगायत आर्थिक संकटको सजिलै प्रतिरक्षा गर्न मोफसलबाट उदाएको गरिमा बैंक सहित अन्य कर्मसियल बैंक सफल भएको बताए । ‘मुलुकको समग्र आर्थिक र वित्तीय स्थिरताका लागि बैंकहरुले संरक्षकको रुपमा काम गर्दै आएका छन्,’ उनले भने, ‘अब २१ औं शताब्दीमा आउने संकटहरु सामना गर्न बैंकहरु तयार रहनुपर्छ ।’ बैंकहरु अब उत्पादन र उद्यमशिलतामा जोडिनु आवश्यक छ उनले भने ।
समग्र आर्थिक विकासका लागि मौद्रिक नीति र वित्त नीतिबीच प्रभावकारी समन्वय हुनुपर्ने भएकाले राष्ट्र बैंकले त्यसतर्फ पनि काम गर्नु पर्ने उपाध्यायको भनाइ थियो । उत्पादन र आयात प्रभावित भएका कारण बैंकमा कर्जाको माग अत्यन्त न्यून छ उपाध्यायले भने, ‘अधिक तरलता तथा न्यून तरलता दुवै वित्तीय क्षेत्र स्थायित्वको लागि राम्रो मानिदैँन । निक्षेपको ब्याज घटाउँदै लैजाने हो भने बचत निरुत्साहित हुने, त्यस्तो बचतले वैंकिङ प्रणालीमा प्रवेश नपाउने, पुँजी अन्यत्र पलायन हुने, तुलनात्मकरुपमा नियमन कमजोर र जोखिम अधिक भएको सहकारी क्षेत्रतर्फ बचत प्रवाह हुने आदि जस्ता जोखिम वित्तीय प्रणालीले भोग्नु पर्नेहुन्छ । यस्तो अवस्था वित्तीय क्षेत्र स्थायित्वका लागि प्रमुख चुनौती हो ।’ बैकिङ् लगानीमा बिमा बलियो नहुदा थप संकटले बैंकहरुलाई चुनौती थपेको छ उनले भने ।
मोफसलबाट उदाएको गरिमा विकास बैंक र समसामयीक वित्तिय क्षेत्रबारे जानकारी दिने उद्देश्यले बैंकले पत्रकार सम्मेलन गरेको हो । पत्रकार सम्मेलनमा मुलुकको वास्तविक आर्थिक स्थितिको बिषयमा छलफल भएको थियो । बैंक तथा लघुबित्त प्रति सर्वसाधारणको आक्रोश, बैंकहरुको उच्च ब्याज दर र अर्थतन्त्रमा समस्या गहिरिदै गएको, आर्थिक बृदीदर घटेको, आयातको मात्रा बढेको तर निर्यात घटेको, राजश्व कम उठेको लगायतको समस्यालाइ लिएर पत्रकारहरुले जिज्ञासा राखेका थिए । कार्यक्रममा पत्रकारहरुले राखेको जिज्ञासा र देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिका बारेमा उपाध्यायले जानकारी गराएका थिए । पत्रकार भेटघाटको सहजिकरण नेपाल पत्रकार महासंघका अध्यक्ष श्रीकृष्ण सिग्देलले गरेका थिए ।
गरिमा विकास बैंकको सिइओमा नियुक्त भएपछि पहिलोपटक गृह जिल्ला आएका उपाध्यायलाई वालिङ बैंक क्लव, वालिङ उद्योग वाणिज्य संघले स्वागत तथा बधाई सहित सम्मान गरेका थिए । वित्तिय क्षेत्रमा दखल राख्ने उपाध्यायकै बागडोरका कारण गरिमाले राष्ट्रिय स्तरमा साख बचाउन सफल भएको भन्दै यहाँका उद्योगी व्यवसायीहरुको संस्था वालिङ उद्योग वाणिज्य संघले सम्मान गरेको हो ।
प्रतिक्रिया