बजार निस्क्यो स्याङ्जाको अनुगमन टोली

स्याङ्जा ।
जिल्ला प्रशासन कार्यालय स्याङ्जा, पर्यटन तथा उद्योग कार्यालय र स्थानीय सरकारका निकायहरुले चाडवाड लक्षित अनुगमनलाई तिब्रता दिन थालेका छन् । चाडवाडका बेला कालोबजारी बढी हुने देखिएपछि सरकारका निकायहरु बजार अनुगमनलाई तिब्रता दिन थालेका हुन् । जिल्लाका मुख्य बजार क्षेत्र सहित ग्रामिण बजारहरुमा अनुगमन टोलीको बढी ध्यानाकर्षण हुने बताइएको छ । कानुनले स्थानीय बजारहरु अनुगमन गर्ने अधिकार स्थानीय सरकारको उपप्रमुखलाई दिएको छ । तर पनि स्थानीय सरकारहरुले अनुगमनमा खासै चासो नदिएपछि जिल्ला प्रशासन र पर्यटन तथा उद्योग कार्यालयले बजार अनुगमनमा बढी नै चासो देखाएका छन् ।

नेपालीहरुको घरदैलोमा ठुला पर्वहरु नजिकिएका छन् । यो समयमा बढी खाद्य सामाग्री विक्रिवितरण हुने गर्दछ । चाडबाडको मौका छोपी बढी कालोबजारी हुन सक्ने आकलन गरी प्रशासनले राजमार्गका बजारक्षेत्र देखि ग्रामिण क्षेत्रका पसलहरुमा समेत अनुगमन शुरु गर्न थालेको जिल्ला प्रशासन कार्यालय स्याङ्जाका सहायक प्रजिअ दीपक पौडेलले जानकारी दिए । जिल्ला प्रशासन, उद्योग कार्यालय, उद्योग वाणिज्य संघ, उपभोक्ता मञ्च, सुरक्षा निकाय, पत्रकारहरु सहितको संयुक्त टोली तयार गरी बजार अनुगमन भइरहेको सहायक प्रजिअ पौडेलले बताए । अहिलेसम्म जिल्लाका तीन पालिकाका बजारहरुमा अनुगमन भइरहेको उनले बताए ।

टोलीले चापाकोट, वालिङ र पुतलीबजारमा अनुगमन गरिसकेको छ । अहिलेसम्म अनुगमन भएका बजारक्षेत्रमा म्याद गुज्रेका सामाग्री, सरसफाईमा ध्यान र मुल्य सूचीमा केही सुधार भएको पर्यटन तथा उद्योग कार्यालय स्याङ्जाका प्रमुख नारायण ढकालले बताए । यो पटकको अनुगमनमा बढी गुणस्तर र कालोबजारीलाई ध्यानाकर्षण गरिएको ढकालले बताए । चाडवाड लक्षित अनुगमनसगै पर्यटन तथा उद्योग कार्यालयले हरेक महिना अनुगमन गर्नेगरी कार्य योजना तयार गरिएको ढकालको भनाई छ । साउन देखी हरेक महिनाको एकपटक अनुगमनमा टोली पुग्ने गरेको छ, पर्यटन तथा घरेलु कार्यालयका प्रमुख ढकालले भने, ‘सचेतना दिनेगरी गरिएको अनुगमन अव कारवाही हुनेगरी अगाडी बढ्दैछ ।’ अनुगमनमा सबैभन्दा बढी समस्या उत्पादनशिल बस्तुमा देखिएको छ उनले भने । उत्पादकको कमजोरीका कारण बिक्रि गर्ने व्यवसायीलाई कारवाही गर्न निकै समस्या भएको ढकालले बताए ।

बजारमा खाने तेलको गुणस्तरमा बिशेष ध्यान दिइएको उनले बताए । बजारमा बिक्रि हुदै आएको अमृत र फ्यामिली नामक खाने तेल गुणस्तरहिन पाइएकोले कारवाहिको लागि पत्राचार गरिएको प्रशासनले जनाएको छ । अनुगमन टोलीले चापाकोटमा औषधी पसल, रेष्टुरेन्ट, होटल, किराना पसल, चाउमिन उद्योग सहित एकदर्जन पसलमा अनुगमन गरेको छ । विगतका बर्षमा चापाकोटको बजारमा कालोबजारी देखी गुणस्तरहिन सामाग्री बिक्रि वितरण गरेको पाइएकोमा केही पसलहरु कारवाहीमा परेका थिए । अहिले चापाकोटको बजारमा केही सुधार देखिएको उपभोक्ता मञ्चका जिल्ला अध्यक्ष राजेन्द्र मरासिनीले बताए । स्थानीय सरकारको पनि अनुगमनमा सक्रियता देखिएकाले बजार सुधारोन्मुख भएको मरासिनीको भनाई छ । चापाकोटको अनुगमनमा उपप्रमुख इशा रानाको नेतृत्वमा प्रशासन, उपभोक्ता मञ्च, पत्रकार, घरेलु कार्यालय, सुरक्षा निकाय लगायतको सहभागिता रहेको थियो ।

त्यस्तै अनुगमन टोलीले वालिङ र पुतलीबजारका पसलहरुमा पनि चेकजाँच गरेको छ । पर्यटन तथा उद्योग कार्यालयका प्रमुख नारायणप्रसाद ढकालको संयोजकत्वमा वालिङका पानी उद्योग, होटल, चाउमिन उद्योग, किनारा पसलहरुमा अनुगमन गरिएको थियो । अनुगमनका क्रममा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय पोखराका दिपक कुँवर, जिल्ला प्रशासन कार्यालयका मोहनराज पौडेल, उपभोक्ता मञ्चका अध्यक्ष राजेन्द्र मरासिनी, वडा प्रहरी कार्यालय, पत्रकार महासंघ स्याङ्जा, वालिङ उद्योग वाणिज्य संघका प्रतिनिधिलगायतको सहभागिता रहेको थियो । वालिङ नगरपालिका भने अनुगमनमा सहभागि नभएको बताइएको छ ।

अनुगमनका क्रममा भेटिएका अखाद्य वस्तुलाई जफत गरिएको छ भने आगामी दिनमा म्याद गुजे्रका वस्तु विक्रिवितरण नगर्न, सरसफाईमा ध्यान दिन निर्देशन दिईएको भन्दै आगामी दिनमा फेरि यस्ता गल्ती दोहोरिएमा कानुन अनुसार कारबाही गरिने जनाउ दिइएको थियो । पुतलीबजारमा पनि गरिएको अनुगमनमा सचेत गराइएको जिल्ला प्रशासनले जनाएको छ । यसैगरी कालीगण्डकी गाउँपालिकाले पनि बजार अनुगमन गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत परर्शुराम शर्माले जानकारी दिए । अन्य पालिकाहरुमा पनि अनुगमन गर्ने प्रक्रियामा रहेको बताइएको छ ।

प्रतिक्रिया