गल्याङको लल्याङ गाउँ शोकमा
गल्याङ ।
शुक्रवार र शनिवार परेको अविरल बर्षाले स्याङ्जाको गल्याङ ३ स्थित सिङ्गो लल्याङ् गाउँ शोकमा डुब्न पुग्यो । अविरल वर्षाका कारण पृथ्वीराजमार्गको नागढुङ्गा नौबिसे सडकखण्डको झ्याप्लेखोलामा आएको पहिरोमा परी एकै परिवारका तीन जनाको दुःखद निधन भएपछि उक्त गाउँ शोकमा डुवेको हो । गल्याङ नगरपालिका वडा नं. ३ लल्याङ स्थायी घर भै बुटवल बसोबास गर्दै आएका आमा सीता भट्टराई छोरा दिपेश भट्टराई र छोरी दीपिका भट्टराईको पहिरोले पुरेर निधन भएको खबरले सिङ्गो गाउँ शोकमा डुवेको गल्याङ नगरपालिका प्रमुख गुरुप्रसाद भट्टराईले बताए । बुटवल बस्दै आएपनि गल्याङ नगरपालिकाले २ बालक सहित एक अभिभावक गुमाएको भट्टराईले बताए ।
बुटवलको कालिका मानविज्ञान मा.वि. कक्षा १० मा अध्ययनरत दिपेश भट्टराई र दीपिका भट्टराईले नेपाल एस्ट्रोनोमिकल सोसाइटीको आयोजनामा भएको नेसनल एस्ट्रोनोमी ओलम्पियर २०२४ मा भाग लिएका थिए । पहिलो चरणमा छनोट भएर दोस्रो चरणका लागि बङ्गलादेश पुग्नुपर्ने भएका कारण उनीहरु शुक्रबार काठमाडौ जानको लागि बुटवलबाट माइक्रो चढेका थिए ।
बुटवलबाट काठमाडौंको लागि छुटेको लु १ ज ४५७८ नम्बरको उनीहरू सवार रहेको माइक्रो शनिबार राती झ्याप्ले खोलामा आएको पहिरोमा पुरिएको थियो । उनीहरूसंगै त्यस ठाउँबाट १४ जनाको शव निकालिएको नागढुंगा प्रहरी विभागले जनाएको छ । वैदेशिक रोजगारीको सिलसिलामा कोरिया बस्दै आएका बुवा होमनाथ भट्टराई भने नेपाल आउने तयारीमा रहेका छन् ।
प्रतिक्रिया