प्रथम कालीगण्डकी प्रिमियर लिग क्रिकेट प्रतियोगिता सम्पन्न
गल्याङ ।
कालीगण्डकी गाउँपालिकामा पहिलोपटक आयोजना गरिएको कालीगण्डकी प्रिमियर लिग टि १० क्रिकेट प्रतियोगिता सम्पन्न भएको छ । पहिलो संस्करणको उपाधी कृष्णगण्डकी वारियर्सले हात पारेको छ । फाइनल खेलमा जगत्रदेवी टाइगर्सलाई ७ रनले हराउँदै वारियर्सले उपाधी जितेको हो ।
क्रिकेट खेलको विकास र प्रवर्द्धन गर्नका लागि खेलको व्यवसायिकरण गर्ने अवधारणा अनुरुप यो प्रतियोगिता आयोजना गरिएको थियो । प्रतियोगितामा उत्कृष्ट खेलाडी युवराज राना, म्यान अफ दि म्याचको उपाधी कृष्ण न्यौपाने, सर्वोत्कृष्ट ब्याट्सम्यान मिलन न्यौपाने, सर्वोत्कृष्ट बलर सन्तोष भट्टराई र उदयीमान खेलाडीको उपाधी अभिषेक भट्टराईले हात पारेका थिए ।
फाइनल खेलको समापन गर्दै कालीगण्डकी गाउँपालिका अध्यक्ष खिम बहादुर थापाले क्रिकेट खेलको बढ्दो क्रेजलाई मध्यनजर गर्दै आगामी संस्करणको अध्यक्ष कपमा महिला क्रिकेटलाई समेत समावेश गर्ने प्रतिवद्धता व्यक्त गरे । कालीगण्डकी गाउँपालिका समग्र खेलकुद क्षेत्रमा प्रगति गरिरहेको विषय सुखद रहेको अध्यक्ष थापाले बताए ।
प्रतियोगितामा कालीगण्डकी गाउँपालिकाका कुल १० टिमका ११० खेलाडी समावेश रहेका थिए । नयाँ र प्रतिभावान खेलाडी उत्पादन गर्दै समग्र राष्ट्रको प्रतिनिधित्व गर्न सक्ने सक्षम खेलाडी उत्पादन गर्ने प्लेटफर्मको रुपमा यस प्रतियोगिता विकास गर्न खोजिएको खेल संयोजक नारायण न्यौपानेले बताए । नव मिर्मिरे युवा क्लबको आयोजनामा सञ्चालन भएको प्रतियोगिता आश्विन २२ गतेदेखि आश्विन २९ गतेसम्म चलेको थियो ।
प्रतिक्रिया