स्वास्थ्यमा अब्बल बन्दै पुतलीबजार

स्याङ्जा ।
स्याङ्जाको पुतलीबजार नगरपालिकाले स्वास्थ्यमा नागरिकलाई स्वस्थ बनाउने अभियानलाई तिब्रता दिएको छ । नगरपालिका भित्रका हरेक नागरिक स्वस्थ भएमात्रै नगर अब्बल बनाउन सकिन्छ भन्ने उदेश्यले स्वास्थ्य क्षेत्रलाई प्रथामिकता दिएर अभियान शुरु गरेको हो । एकसाता अगाडी गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले आयोजना गरेको आर्थिक बर्ष २०८०÷०८१ को प्रदेशस्तरीय बार्षिक समिक्षमा पुतलीबजार प्रदेशभरीका स्थानीयतहहरु मध्ये स्वास्थ्यमा तेस्रो स्थानमा पर्न सफल भएको थियो । यो नतिजाले पनि पुतलीबजार नगरपालिकाले आफुलाई स्वास्थयमा अब्बल बनाउन खोजेको देखिन्छ ।

नगरपालिकाले गतबर्ष महिलाहरुको पाठेघर र स्तन क्यान्सर सम्वन्धी शिविर आयोजना गरेको थियो । त्यस्तै मुटु रोग शिविर पनि सम्पन्न गरेको थियो । दुवै स्वास्थ्य शिविरले पुतलीबजार नगरपालिकामा रहेका नागरिकलाई स्वस्थ बनाउन अभिप्रेरित गरेको देखाएको छ । महिलाहरुको सबैभन्दा बढी देखिने समस्या पाठेघर र स्तन क्यान्सरबाट जोगाउन नगरपालिकास्तरीय स्वास्थ्य शिविर गरेको थियो । उक्त शिविरबाट झण्डै २५ सय महिलाहरुले स्वास्थ्य परिक्षण गराएको पुतलीबजार नगर स्वास्थ्य शाखाले जनाएको छ ।

पछिल्लो समय मुटु रोगबाट धेरै पिडित भएको तथ्याङकको आधारमा नगरपालिकाले नगरस्तरीय मुटुरोग शिविर सम्पन्न गरेको छ । मुटु रोग शिविरमा २४ सय नागरिकले स्वास्थ्य परिक्षण गराएका थिए । जसमध्ये ४५ जनाको अपरेसन गर्नुपर्ने देखिएपछि उनीहरुलाई मनमोहन कार्डियोलोजी मेमोरियलमा रिफर गरिएको स्वास्थ्य शाखा प्रमुख अनिशा सुवेदीले जानकारी दिइन् । मलिाहरुको पाठेघर र स्तन क्यान्सर शिविर, मुटुरोग शिविर गतबर्ष सम्पन्न गरेको नगरपालिकाले यो आर्थिक बर्षबाट नसर्ने रोगको शिविर शुरु गरेको छ ।

पुतलीबजार ३ मा आयोजना गरिएको नसर्ने रोग शिविरमा ४० बर्षदेखी माथीका २३१ जना नागरिकले स्वास्थ्य परिक्षण गराएका थिए । शिविरमा सुगर, प्रेसर, मृगौला लगायतका रोगका बारेमा परिक्षण गरिएको थियो । अधिकांश नागरिकमा सुगर, प्रेसर देखिएपनि अवस्था सामान्य रहेको नगरपालिकाले जनाएको छ । सबै नागरिकको स्वास्थ्य परिक्षणको रिर्पोट नागरिककै हातहातमा पुगेको र आफ्नो स्वास्थ्य आफै हेर्न सकिने गरि रिर्पोट उपलब्ध गराएको स्वास्थ्य शाखा प्रमुख सुवेदीले बताइन् । नसर्ने रोगबाट गम्भिर भएका नागरिकको तथ्याङ्क भने संकलन भइरहेको उनले बताइन् । नसर्ने रोगको मास स्क्रिनिङ शिविर रगत तथा पिसाबको नमुना परीक्षण गरिएको थियो ।

स्वास्थ्य निर्देशनालय र स्याङ्जा अस्पतालका मेडिकल अधिकृत डा. रुक्मिना अधिकारी, डा. शचिन रानाभाट, तथा गण्डकी आयुर्वेद औषधालयका आयुर्वेद चिकित्सक डा. दिक्षा पौडेलले परामर्श सहित सेवा प्रदान गरेको उनले बताइन् । उक्त शिविरमा नसर्ने रोग सम्बन्धि जानकारीमूलक प्रस्तुतीकरण पनि गरिएको नगरपालिकाले जनाएको छ । शिविरमा नागरिकले लुकाएका र आफैले पहिचान गर्न नसकेका रोगहरुको बारेमा थाहा पाउन सहज हुने र समयमै जोखिमबाट मुक्त हुन सहज भएको पुतलीबजार नगर प्रमुख तुलसी राम रेग्मीले बताए ।
नगरवासीको स्वास्थ्यप्रति सचेत रहन, समयमै रोग पहिचान गर्न, र भविष्यको जोखिमलाई न्यूनिकरण गर्न यस्ता कार्यक्रमले विशेष भूमिका खेल्छ भन्ने उदेश्यले प्रत्येक वडा÷वडामा यस्ता शिविरहरु संचालन गर्ने नगर प्रमुख रेग्मीले बताए । नागरिकको स्वास्थ्य नै जिवनको सम्पती हो भन्ने नगरपालिकाले बुझेको छ नगर प्रमुख रेग्मीले भने,‘नागरिक स्वस्थ भएमात्रै नगरपालिका अब्बल बन्छ ।’ नागरिकको आधारभुत स्वास्थ्यमा नगरपालिका संवेदनशिल बन्नुपर्छ भन्ने हाम्रो ध्येय हो उनले भने । स्वास्थ्य शिविरबाट नागरिकको स्वास्थ्य अवस्था बुझ्ने, सामान्य भएमा नगरपालिकाबाटै उपचार गर्ने र अलि गम्भीर भएमा पोखरा वा काडमाण्डौं लगायत अन्यन्त्र स्वास्थ्य क्षेत्रमा पठाउन सहज मिल्ने गरेको नगर प्रमुख रेग्मीले बताए ।

नागरिकको स्वास्थ्य समस्या नागरिकले बेलैमा थाहा पाउन सकुन भन्ने उदेश्य नगरपालिकाको रहेको छ । भबिष्यमा हुने जोखिम बेलैमा जानकारी पाए उपचारमा सहज हुने भएकाले नगरपालिकाले सबैभन्दा बढी प्रथामिकतामा स्वास्थ्य क्षेत्रलाई रोजिएको नगर उपप्रमुख देवी अर्यालले बताइन् । पुरुष भन्दा पनि बढी जोखिममा महिलाहरु नै देखिएकाले यस्ता शिविरले रोग पत्ता लगाउन सहज हुने गरेको उनले बताइन् ।

 

प्रतिक्रिया