स्याङ्जाको वालिङमा पालिकास्तरीय भलिबल प्रतियोगिता शुरु

वालिङ ।
स्याङ्जामा पालिकास्तरीय पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समिति (आईसिसि) को आयोजनामा ‘स्याङ्जा आईसिसि प्रथम भलिबल कप’ स्याङ्जाको वालिङमा सुरु भएको हो । खेलकुद प्रतियोगिताको गण्डकी प्रदेश सरकारका अर्थ तथा विकास समितिका सभापति भोजराज अर्यालले शुभारम्भ गरेका थिए । प्रतियोगिताको शुभारम्भ गर्दै सभापति अर्यालले बिदेशमा बसेर कमाएको थोरै—थोरै रकम संकलन गरेर आयोजना गरिएको खेलकुद प्रतियोगिताले स्याङ्जाको खेलकुद क्षेत्रमा महत्वपुर्ण भुमिका खेल्ने बताए । खेलकुद सगै यो प्रतियोगिताले आन्तरिक र बाह्रय पर्यटकको आकर्षण बढाउन स्याङ्जालाई अर्को सफलता मिलेको सभापति अर्यालले बताए ।

कार्यक्रममा गण्डकी प्रदेशका सांसद कल्पना तिवारी, गण्डकी प्रदेशका पुर्व सांसद मोहोन रेग्मी, पुतली बजार नगरपालिकाका प्रमुख तुलसीराम रेग्मी, कालीगण्डकी गाउँपालिकाका प्रमुख खिम थापा लगायतका बक्ताहरुले स्याङ्जा समाजले खेलेको भुमिकाका बिषयमा चर्चा गरेका थिए ।

स्याङ्जाको वालिङ खेल मैदानमा शुक्रबारबाट सुरु भएको प्रतियोगितामा ११ वटै पालिकाको सहभागिता रहेको आईसिसिका अध्यक्ष वीरेन्द्रजंग केसीले जानकारी दिए । प्रतियोगितालाई सम्पन्न गराउन वालिङ भलिवल संघले सहयोग गरेको केसीले बताए ।

 

प्रतियोगितामा पहिलो हुने समूहले एक लाख ५० हजार रुपियाँ, दोस्रो हुने समूहले एक लाख रुपियाँ, तेस्रो र चौथो हुने समूहले क्रमशः ५० हजार रुपियाँ र २५ हजार रुपियाँ प्राप्त गर्ने आयोजकले जनाएका छन् । स्याङ्जाबाट रोजगारी तथा विभिन्न कामका सिलसिलामा विदेशमा रहेकाहरुको साझा संस्था स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिले विभिन्न सामाजिक कार्य गर्दै आइरहेको छ ।

दसैँ र तिहारको अवसर पारेर पहिलोपटक समितिले पालिका स्तरको भलिबल प्रतियोगिता गरेको हो । ‘समृद्ध स्याङ्जाको लागि विश्व अभियान’ भन्ने नाराका साथ स्थापना भएको समितिको विभिन्न २० देशमा राष्ट्रिय समितिहरु छन् । प्रतियोगिताका लागि भनेर विभिन्न देशबाट प्रतिनिधिहरु जिल्ला आइपुगेका छन् । पाँच नगरपालिका र ६ गाउँ पालिकालाई चार वटा समूहमा विभाजन गरिएको छ । प्रतियोगिता कात्तिक ५ गते सम्म सञ्चालन हुने कार्यक्रम संचालक खेमनारायण काफ्लेले बताए ।

 

प्रतिक्रिया