सम्पादकीय— स्वास्थ्यमा महत्वपूर्ण कदम

स्वास्थ्य मानव जीवनको मूल आधार हो । स्वस्थ जीवन शैली अपनाउन र स्वस्थ नागरिक बनाउने अभियानमा स्याङ्जाको पुतलीबजार नगरपालिकाले एक नयाँ मापदण्ड स्थापित गर्दैछ । हालैका वर्षहरुमा, मुटु रोगको बढ़्दो प्रकोपले स्वास्थ्य क्षेत्रमा गम्भीर चुनौतीहरु खडा गरेको छ । यस समस्यालाई मध्यनजर गर्दै, पुतलीबजार नगरपालिकाले स्वस्थ नागरिक अभियानलाई तीव्रता दिने काम गरेको छ । पुतलीबजार नगरपालिकाले हालै मुटुरोग शिविर आयोजना गरेर स्वास्थ्यको क्षेत्रमा आफ्नो प्रतिबद्धता प्रकट गरेको छ । यस शिविरमा नगरस्तरीय रुपमा नागरिकलाई मुटुरोगका बारेमा जानकारी, परामर्श र चिकित्सा सेवा प्रदान गरिएको थियो । स्वास्थ्य विशेषज्ञहरुको टोलीले नागरिकलाई मुटुरोगका लक्षण, उपचारका तरिकाहरु र रोकथामका उपायहरुबारे विस्तृत जानकारी दिएका थिए । यो पहलले नगरका नागरिकहरुको स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ ।

स्वस्थ नागरिक अभियानले जनचेतना फैलाउने मात्र होइन, स्वास्थ्य सेवाहरुलाई पनि प्रभावकारी बनाउने प्रयास गरेको छ । मुटुरोग शिविरमा गरिएको परामर्श र उपचारले धेरैलाई समयमै स्वास्थ्य जाँचगर्न प्रेरित गरेको छ, जसले दीर्घकालीन स्वास्थ्य समस्याहरुको रोकथाम गर्न मद्दत गर्नेछ । नगरपालिकाको यो प्रयास स्वास्थ्यको क्षेत्रमा सकारात्मक परिवर्तनको संकेत हो । पुतलीबजारको स्वास्थ्य अभियानलाई सफल बनाउन, स्थानीय सरकार र नागरिकको सहकार्य आवश्यक छ । नगरपालिकाले समुदायमा स्वास्थ्य शिक्षा र जनचेतनाको अभियानलाई प्राथमिकता दिनुपर्नेछ । यसका लागि, स्कूल, कलेज, र अन्य सामाजिक संस्थाहरुमा स्वास्थ्य सम्बन्धी कार्यक्रमहरुको आयोजना गर्न सकिन्छ । यसले नागरिकलाई स्वस्थ जीवन शैली अपनाउन र स्वास्थ्यका विषयमा सचेत गराउन सहयोग पु¥याउनेछ ।

पुतलीबजार नगरपालिकाले स्वास्थ्य प्रति सचेत रहँदै नगरवासीको स्वास्थ्य समस्याबारे बेलैमा जानकारी दिने उद्देश्यमा प्रतिबद्धता देखाइरहेको छ । नगरप्रमुखका अनुसार, स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिएर मात्रै नगरलाई अब्बल बनाइने विश्वास गरिएको छ । गतवर्ष महिलाहरुको पाठेघर र स्तन क्यान्सर सम्बन्धी शिविरको सफलतापछि, हालको मुटुरोग शिविरमा २४ सय नागरिकले स्वास्थ्य सेवा लिएका छन् । यस प्रकारका शिविरहरुले नगरका नागरिकहरुलाई समयमै स्वास्थ्य समस्या थाहा पाउन र रोकथामका उपाय अपनाउन मद्दत गर्नेछन् । स्वस्थ नागरिकको निर्माणले पुतलीबजारलाई समृद्ध बनाउनेछ । नसर्ने रोगहरु, जस्तै मधुमेह, उच्चरक्तचाप र मुटु रोग आजको समयमा एक गम्भीर स्वास्थ्य चुनौती बनेका छन् । यी रोगहरुको रोकथाम र व्यवस्थापनमा समयमै स्वास्थ्य सेवा र जनचेतना अत्यन्त महत्वपूर्ण छ ।

अन्ततः, पुतलीबजार नगरपालिकाको स्वस्थ नागरिक अभियानले नगरका नागरिकलाई स्वस्थ र सशक्त बनाउने दिशामा महत्वपूर्ण कदम उठाएको छ । यो अभियानले न केवल मुटुरोगको जोखिमलाई कम गर्ने छ, बरु सम्पूर्ण स्वास्थ्यको अवस्था सुधार्नमा पनि योगदान गर्नेछ । स्वस्थनागरिक निर्माणको यो अभियानले समग्र समाजमा स्वास्थ्यप्रतिको धारणा बदल्न र स्वस्थ जीवनयापनको प्रवृत्तिलाई प्रवर्धन गर्न महत्वपूर्ण भूमिका खेल्ने छ । स्वस्थ जीवन, स्वस्थ समाज र स्वस्थ भविष्यको लागि पुतलीबजारका नागरिकहरुलाई एकसाथ मिलेर अगाडि बढ्न आवश्यक छ ।

प्रतिक्रिया