भीरकोटमा बृहत् योग विज्ञान शिविर

भीरकोट ।
स्याङ्जाको भीरकोट नगरपालिकामा बृहत् योग विज्ञान शिविर संचालनमा छ । नगरपालिकाको आयोजनामा कार्तिक ९ गतेबाट सुरू भएको शिविर भीरकोट खेल मैदानमा १४ गतेसम्म संचालन हुने कार्यक्रम संयोजक छायाराम खनालले जानकारी दिए । हरेक दिन बिहान ५ बजे देखि ७ बजेसम्म सञ्चालन भएको यस शिविरमा बालबालिका, युवा तथा जेष्ठ नागरिक सबैले सहभागिता जनाएका छन् । योग शिविर संचालनका लागि निवर्तमान नगर प्रमुख छायाराम खनालको संयोजकत्वमा ३९ सदस्यीय बृहत् योग शिविर व्यवस्थापन समिती गठन गरिएको छ । पतञ्जली योगपिठ नेपालको योग प्रशिक्षक साध्वी देवाकृपाले सहभागीहरूलाई प्रशिक्षण दिइरहेकी छन् । योग संचालनको लागि ३ देखि ४ लाख रूपैयाँ खर्च हुने अनुमान गरिएको छ । शारीरिक श्रम कम गर्नेहरूका लागि योग अत्यावश्यक भएको उल्लेख गर्दै योग संचालन समितिका संयोजक छायाराम खनालले नगरवासीलाई शिविरमा सहभागिता जनाउन अनुरोध गरेका छन् ।
नगर प्रमुख गोविन्द कुमार कर्माचार्यले योग विभिन्न रोगबाट मुक्ती पाउने उत्तम उपाय भएकाले यसलाई दैनिक अभ्यास गर्नुपर्नेमा जोड दिए । उनले नगरका नागरिकको स्वास्थ्य सुधारका लागि शिविरको आयोजना गरिएको बताउँदै भविष्यमा वडास्तरीय शिविर तथा विद्यालयहरूमा योग शिक्षा लागू गर्ने योजना रहेको जानकारी दिए । शिविरका संयोजक छायाराम खनालले योगलाई जीवनसँग जोड्न आवश्यक रहेको बताउँदै शिविरमा सिकेका योग अभ्यासहरू परिवारका सदस्य र आफ्न्तहरूलाई सिकाउन अनुरोध गरे । स्वस्थ्य समाज निर्माणका लागि योगलाई व्यवहारमा उतार्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको उनको भनाई छ ।
शिविरमा सहभागी हुन इच्छुक नगरवासीका लागि छाङ्छाङ्दी, हेलु र सुन्दरबजार क्षेत्रबाट यातायातको सुविधा पनि उपलब्ध गराइएको छ । “योग गरौं, स्वस्थ रहौं” भन्ने मूल नाराका साथ आयोजना गरिएको यस शिविरमा नगरका सबै नागरिकलाई सहभागी भई स्वास्थ्य लाभ लिन अनुरोध गरिएको छ । आयोजकले करिब १ हजार जना सहभागी हुने अपेक्षा गरेको भएपनि दैनिक करिब ३ सय जना व्यक्तिहरूको शिविरमा सहभागिता रहेको छ । यसैगरी कार्तिक २६ गतेबाट शिक्षकहरुलाई लक्षित गरी १५ दिने प्रशिक्षण समेत आयोजना गरिने भएको संयोजक खनालले जानाकारी दिए ।
प्रतिक्रिया