गल्याङमा १५ शैयाको नगर अस्पताल सञ्चालन

गल्याङ ।

स्याङ्जाको गल्याङ नगरपालिका ३ बल्पुकमा रहेको नगर अस्पतालको उद्घाटन गरिएको छ । ‘नेपाल – भारत विकास सहकार्य’ बाट निर्मित १५ शैयाको गल्याङ नगर अस्पताल भारत सरकारको ४ करोड १३ लाख रुपियाँ आर्थिक सहयोगमा निर्माण गरिएको हो । नेपालस्थित भारतीय राजदुतावासका प्रथम सचिव अविनाश कुमार सिंह, जिल्ला समन्वय समिति स्याङ्जाका प्रमुख श्रीप्रसाद जिटि, गल्याङ नगरपालिकाका नगर प्रमुख गुरु प्रसाद भट्टराई, गल्याङ सामुदायिक स्वास्थ्य केन्द्रका अध्यक्ष लालगोपाल अर्यालले सुविधा सम्पन्न अस्पताल भवनको संयुक्तरुपमा उद्घाटन गरे ।

कार्यक्रममा नेपालमा अप्ठ्यारो पर्दा सधैं भारत सरकारको सहयोग रहँदै आएको बताउँदै प्रथम सचिव सिंहले भारतमा गणतन्त्र दिवसका अवसरमा हरेक वर्ष भारत सरकारले नेपालमा स्कुल बस र एम्बुलेन्स प्रदान गर्दै आएको बताए । भारत सरकार र नेपाल सरकारबिच भएको सम्झौता अन्तर्गत यो परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा अघि बढाइएको थियो । यो परियोजनाको जिल्ला समन्वय समिति स्याङ्जामार्फत कार्यान्वयन गरिएको थियो । सन् २०१० मा नेपाल सरकारको स्वीकृतिमा स्थानीय जनताले गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने र स्वास्थ्यसम्बन्धी विभिन्न समस्या समाधान गर्ने उद्देश्यले एउटा सानो भाडाको घरमा गल्याङ सामुदायिक स्वास्थ्य केन्द्रको स्थापना भएको थियो । गल्याङ नगरपालिकाको आर्थिक सहयोग रहेको गल्याङ सामुदायिक स्वास्थ्य केन्द्रलाई नगर अस्पतालको रुपमा परिणत गरिएको हो । बिरामीमैत्री र सुविधा सम्पन्न अस्पतालले स्याङ्जा, पाल्पा, पर्वत र गुल्मी जिल्लाका बासिन्दालाई सेवा प्रवाह गर्दै आएको गल्याङ नगरपालिकाका नगर प्रमुख गुरु प्रसाद भट्टराईले जानकारी दिए ।

प्रतिक्रिया