बालमैत्री समाज निर्माणको पहल

भीरकोट ।

स्याङ्जाको भीरकोट नगरपालिकाले बालबालिकाको अधिकार सुनिश्चित गर्न र बालमैत्री शासनको अबलम्वनका लागि बालबालिकाको सहभागिता र सचेतनालाई केन्द्रमा राखेर विभिन्न कार्यक्रमहरूको आयोजना गर्दै बालमैत्री समाजको परिकल्पनालाई यथार्थमा परिणत गर्न खोजेको छ । भीरकोट नगरपालिकाको बालमैत्री शाखाले विद्यालय, समाज र सामाजिक संघसंस्थालाई केन्द्रमा राखेर सचेतना कार्यक्रम संचालन गरिरहेको छ । लागूऔषध दुर्व्यसनी, बाल विवाह, लैङ्गिक हिंसा, सामाजिक विकृतिका विषयमा सचेतना कार्यक्रम संचालन भैरहेको बालमैत्री स्थानीय शासनका नगर सहजकर्ता विष्णुमाया काफ्लेले जानकारी दिईन् ।

काफ्लेका अनुसार यो आर्थिक वर्षको कार्तिक महिनासम्म करिब २ दर्जन सचेतनाका कार्यक्रम संचालन भएका छन् । हालसम्म पब्लिक एकेडेमी मावि, भाग्योदय मावि, जनप्रिय मावि, महेन्द्र ज्योति मावि, पिपलडाँडा मावि, सिरूखर्क जोगिस्थान मावि, दभुङठाटी मावि र ठूलीभञ्जाङ् मावि गरि ९ वटा विद्यालयस्तरीय सचेतनाका कार्यक्रम संचालन भएका छन् । यसैगरी खोरबार, जामुनेडाँडा, रिप, मोहनडाँडा, झारूङ्खोला लगायतका ११ वटा टोलमा टोलस्तरीय सचेतनाका कार्यक्रमहरू पनि संचालन भएका छन् । हेलु र दार्सिङ् गरी २ वटा बालक्लबस्तरीय सचेतनाका कार्यक्रमहरू समेत सम्पन्न भएको बालमैत्री शाखाले जानकारी दिएको छ ।

नगर बाल संजालको बैठक पनि मासिक रूपमा बसिरहेको छ । बाल दिवसको अवसरमा ९ वटा वडा बाल संजाल र १ वटा नगर बाल संजाललाई यही आर्थिक वर्षमा आधिकारिकता प्रदान गरिएको छ । हरेक टोल र विद्यालयमा सचेतनाका कार्यक्रमलाई निरन्तर संचालन गरिने बालमैत्री नगर सहजकर्ता काफ्लेले बताईन् । भीरकोट नगरपालिकाले बालमैत्री शासन अन्तर्गत सामाजिक विकृतिहरूको न्यूनीकरणमा विशेष ध्यान दिएको नगरप्रमुख गोविन्द कुमार कर्माचार्यले जानकारी दिए । नगर प्रमुख कर्माचार्यले बालमैत्री स्थानीय शासनलाई प्रभावकारी बनाउन शैक्षिक गुणस्तरमा पनि ध्यान दिइएको बताए । यही शैक्षिकसत्र देखि कक्षा ३, ५ र ८ को नगरस्तरीय परीक्षा संचालन गरिने कर्माचार्यको भनाई छ । उनले भने “हामी बालबालिकाको अधिकारलाई सर्वोपरि मान्छौं र उनीहरूको उज्ज्वल भविष्य निर्माणमा प्रतिबद्ध छौं । हाम्रा बालबालिका यो देश हाक्न सक्ने प्रधानमन्त्री, मन्त्री, मुख्य सचिवसम्म बन्न सकुन् भन्ने हेतुले बालमैत्री गतिविधिलाई प्राथमिकता दिइरहेका छौं ।”

महेन्द्र ज्योति माविका प्रधानाध्यापक गोविन्द अर्यालले सचेतना कार्यक्रमले शिक्षक, विद्यार्थी, अभिभावक र जनप्रतिनिधिबिचको सम्बन्ध सुदृढ बनाउन र सभ्य समाजको निर्माणमा टेवा पुगेको बताए । पब्लिक एकेडेमी माविमा कक्षा ८ मा अध्ययनरत विद्यार्थी भगवती रेग्मीले सचेतना कार्यक्रमबाट उमेर नपुगी विवाह गर्दा र लागूऔषध दुर्व्यसनीमा फस्दा व्यक्तिको जीवनमा र समाजमा पर्ने नकारात्मक प्रभावको बारेमा प्रष्ट बुझेको बताईन् । भीरकोट नगरपालिकाले बालबालिकाको हितमा गरेका यी पहलहरूले बालमैत्री शासनको अवधारणालाई साकार बनाउँदै समाजमा सकारात्मक परिवर्तन ल्याउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया