‘समग्र स्वास्थ्य क्षेत्रको सुधारका काम अगाडि बढाएका छौं’

डा. सुरज ढकाल,
प्रमुख,
गह्रौ प्राथमिक अस्पताल, वालिङ ।
स्वास्थ्य क्षेत्र मानव स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने, स्वस्थ जिवनको लागि आधारशिला निर्माण गर्ने, सम्भावित रोगहरुको रोकथाम तथा नियन्त्रण गर्ने, बिरामीहरुको उपचार गर्ने जस्ता विविध विषय जोडिएको अत्यन्त महत्वपूर्ण क्षेत्र हो । हरेक खाले विकास निर्माण र अध्ययन अनुसन्धानको केन्द्रमा मानव जिवन हुन्छ । उत्पादन, प्रविधि, गुणस्तर लगायतका हरेक सवालहरुको केन्द्रबिन्दुमा मानव स्वास्थ्य रहेको हुन्छ । मानव स्वास्थ्यमा हुने कुनै पनि त्रुटि क्षम्य हुँदैन त्यसैले स्वास्थ्य क्षेत्रलाई अत्यन्त संवेदनशील मानिन्छ । यहि संवेदनशीलता र नागरिक अपेक्षालाई समेत मध्य नजर गर्दै राज्यले स्वास्थ्य क्षेत्रलाई संविधानमा समेत उल्लेख गरेको छ । नेपाल सरकारको स्वामित्वमा रहेको वालिङको गह्रौ प्राथमिक अस्पतालले विगत लामो समयदेखि स्वास्थ्य सेवा दिइरहेको छ । जिल्लामै अत्याधिक बिरामीको चाप हुने यस अस्पतालले उपचारमा नयाँ प्रविधि पनि भित्राइरहेको छ । डा. सुरज ढकालले विगत २० महिनादेखि यस अस्पतालको प्रमुखको जिम्मेवारी सम्हालिरहेका छन् । हाल यस अस्पतालले प्रदान गर्दै आइरहेको सेवा, व्यवस्थापनमा रहेका चुनौती तथा आगामी दिनमा अस्पतालका योजनाबारे अस्पतालका प्रमुख डा. ढकालसँग पब्लिक आवाजका सम्पादक अमृत अर्यालले गरेको कुराकानी ः
१. डा. साव आराम हुनुहुन्छ ? तपाईंं यस अस्पतालमा आउनुअघि र पछिको स्वास्थ्य सेवामा के फरक परेको छ ?
धन्यवाद, नमस्कार । म आरामै छु । नेपाल सरकारको स्वामित्वमा रहेको यस अस्पतालमा बिरामीको अत्याधिक चाप हुने गर्दछ । जाडो महिनाको तुलनामा गर्मीमा यहाँ बिरामीको अत्याधिक चाप हुने गर्छ । ओपिडी तथा इमर्जेन्सीमा गरी स्याङ्जा एवं पर्वत जिल्लाबाट करिब दैनिक ४ सय भन्दा बढी बिरामी उपचारका लागि यस अस्पताल आउने गर्छन् । यस अस्पतालले सरुवा रोगका साथै टाइफाइड, कालाजार, जापानिज इन्सेफ्लाइटिस, हैजा, रेबिजलगायतका रोगहरुको उपचारमा विशेष योगदान दिँदै आएको छ । यसका साथै विभिन्न भ्याक्सिनहरुको सेवा समेत दिँदै आइरहेको छ । हामीले भएको स्रोत साधनको अधिकतम प्रयोग गरेर सेवा दिइरहेको अवस्था छ । यो अस्पताल जनविश्वास जितेको अस्पताल भएकोले यसले प्रदान गर्ने सेवालाई अझै चुस्त दुरुस्त बनाउँदै लैजाने पक्षमा हामी रहेका छौं । मैलै अस्पतालको जिम्मेवारी पाएको करिब २० महिनामा सुधारका केही कामहरु भइसकेका छन् भने केही हुने क्रममा छन् । अन्य सुधारका काम पनि टिमको सहयोगमा अगाडि बढाइरहेको छु । मेरो एकल प्रयास भन्दापनि अस्पतालका सबै टिमको साथ र सहयोगमा काम अगाडि बढेको हो । हाम्रो कार्यक्षेत्र नै धेरै छ । पहिले सुत्केरी सेवाको लागि अपरेशन थिएटर थिएन्, अहिले अपरेशन थिएटर सेट गरियो । उक्त अपरेशन थिएटर सेट गरेपछी १ सय १९ वटा अपरेशन गरी सुत्केरी गराउँन सफल भएका छौं । जसले गर्दा नर्मल डेलीभरी पनि बढेको छ । हिमालय आँखा अस्पतालसँगको सहकार्यमा मोतियाविन्दुको शल्यक्रिया अस्पतालमै हुने गरेको छ । हामीसँग आफ्नै ब्लड बैंक रहेको छ, यसले गर्दा डायलासिस गर्ने बिरामीलाई सजिलो भएको छ । साथै ओपिडीको टिकटका लागि इलेक्ट्रोनिक टोकन सिष्टमको व्यवस्थापन गरिएको छ ।
२. अहिले रिफर गर्नुपर्ने अवस्था घटेको हो ?
अहिले हामीसँग स्वास्थ्य मन्त्रालयले तोकेको मापदण्ड अनुशारका दक्ष चिकित्सकको टिम भएकाले रिफर गर्नुपर्ने अवस्था घटेको छ । पहिले मेडिकल अफिसर मात्रै हुँदा धेरै रिफर गर्नुपथ्र्याे तर जटिल केश बाहेक अधिकांश उपचार यही संभव भएको छ । विशेषगरि अस्पतालमा न्युरो तथा मुटुको उपचार गर्ने उपकरणको अभावले त्यससँग सम्बन्धि बिरामी रिफर गर्नैपर्ने अवस्था छ ।
३. यस अस्पतालमा शल्यक्रिया सहितको प्रसुती सेवा प्रदान हुन थालेपछी यसका प्रभावहरु के–के देखिएका छन् ?
शल्यक्रिया सहितको प्रसुती सेवा अस्पतालमै उपलब्ध हुन थालेपछी पोखरा, स्याङ्जा पु¥याउनुपर्ने अवस्थाको अन्त्य भएको छ । सबै खाले डेलीभरी केश यही संभव भएको छ । पछिल्लो समय शल्यक्रियाद्वारा बच्चा जन्माउने क्रम अस्वाभाविक रुपमा बढ्दो देखिएको छ । गर्भमा रहेको बच्चामा कुनै समस्या देखिए चिकित्सकहरुले नै शल्यक्रियाका लागि सिफारिस गर्नुहुन्छ, जुन अनिवार्य पनि हो । तर, कतिपय अवस्थामा विरामी स्वंयले शल्यक्रियाद्वारा बच्चा जन्माउने इच्छा प्रकट गर्ने परेका छन् ।
४. बिरामीको चापले सेवाप्रवाहमा समस्या त आएको छैन ? अस्पतालको सुशासन र पारदर्शिताको सवालमा यहाँको भूमिका कस्तो हुन्छ ?
हामीसँग क्षमताभन्दा बढी बिरामी लिनुपर्ने बाध्यता छ । उपचारका लागि यहाँ आइपुगेका बिरामीहरुलाई स्रोत साधनले भ्याएसम्मको सेवा हामीले दिदैं आएका छौं । यहाँको क्षमताभन्दा बढी बिरामी आएका कारण कतिपय बिरामी बाहिर जान बाध्य छन् । कहिलेकाँही त दैनिक ५ सय सम्म बिरामी हेर्नुपरेको पनि छ, त्यतीबेला समस्या हुने गरेको छ । समग्र ६० जना कर्मचारीमा धेरैजसो करारमा हुनुहुन्छ । तथापि इलेक्ट्रोनिक हाजिरीको व्यवस्थाले ड्यूटी प्रभावकारी भएको छ । सबैजसो कारोबारमा सफ्टवेयरको प्रयोग गरिएको छ । अस्पतालको प्रमुखको भूमिकामा रहेसँगै सबैको साथ तथा सहयोग पाएको छु । अस्पतालमा कार्यरत सम्पूर्ण स्वास्थ्यकर्मी, नर्स तथा कर्मचारीहरुको सहयोगका कारण प्रभावकारी रुपमा काम भएको छ भन्ने मलाइ लाग्छ । यद्यपि गर्न बाँकी धेरै छ ।
५. अहिले पनि सरकारी अस्पतालभन्दा प्राइभेट अस्पतालमा मानिसहरु बढी विश्वास गर्छन् । तपाई कसरी विश्वस्त पार्नुहुन्छ कि यस अस्पतालको स्वास्थ्य सेवाको गुणस्तर कमजोर छैन भनेर ?
सरकारी अस्पतालमा बिरामी तथा स्वास्थ्यकर्मीको अनुपात नमिलेको अवस्था छ । एक चिकित्सकले दैनिक सय जना भन्दा बढी बिरामी हेर्नुपर्ने बाध्यता रहेको छ । यसरी चिकित्सकहरुलाई कामको अत्याधिक चाप हुँदा सेवामा गुणस्तर अवश्य पनि घट्छ नै । त्यसैले गुणस्तरीय स्वास्थ्य सेवाका लागि स्वास्थ्यकर्मीहरुको जनशक्ति थप गरिनुपर्छ तथा चिकित्सकहरुले तनावरहित वातावरणमा काम गर्न पाउनुपर्छ । पहिले दैनिक ७०÷८० जना बिरामीको मात्र चेकजाँच गर्ने यस अस्पतालमा अहिले दैनिक करिब ४ सयसम्म बिरामी उपचारको केन्द्र बनेको छ । हामीसँग सबैखाले प्रयोगशाला छ । हाम्रो गुणस्तर कमजोर छैन भन्न चाहन्छु ।
६. यहाँहरुकहाँ आइपुगेका बिरामी र केशहरुको संश्लेषण गर्दा मुख्य समस्याहरु के–के छन्, जुन सामान्य सावधानीले पनि हुन नदिन भूमिका खेल्न सकिन्छ ?
अहिले नसर्ने रोगहरुको केश बढी छ । उहाँहरुले नियमित चेकजाँच गर्ने, नियमित औषधी सेवन गर्ने गर्नुपर्ने हुन्छ । प्रसूति सम्बन्धि नै कुरा गर्दा हामीकहाँ गलत धारणा के छ भने, गर्भवती भएको तीन चार महिना नभै जचाउँनु हुन्न भन्ने । गर्नुपर्ने के हो भने, तपाई बच्चा जन्माउने योजना बनाउँदै हुनुहुन्छ भने त्यतिबेलै डाक्टरकहाँ गएर हामी यस्तो योजनामा छौँ, के गर्नुुपर्छ भनेर सल्लाह लिनुपर्छ । किनभने बच्चा बस्नुभन्दा अगाडि नै आफूमा केही समस्या छ कि भन्ने समयमै पहिचान हुन्छ र निदान पनि हुन्छ । त्यो पनि सकिएन भने बच्चा बस्नेबित्तिकै पनि डाक्टरकहाँ जानुप¥यो । तीन महिना चार महिना पछि जाँदा के हुन्छ भने कहिलेकाहीँ बच्चामा खराबी आइसकेको हुन्छ । जचाउँनलाई स्वास्थ्य संस्थमा गएर जचाउँदा पनि हुन्छ, तर नियमितरुपमा जचाउँनुप¥यो । कहिलेकाँही प्रेसरमा ध्यान दिनुहोस्, प्रेसर नियमित जाँच्नुहोस् भन्छौँ, त्यसमा पनि ध्यान दिइरहेका हुँदैनौँ । अलिकति रगत बगेमा, बच्चा कम चलेमा पनि जँचाइहाल्नुपर्छ । परिवारमा सुगरको समस्या छ भने अलि ध्यान दिएर जचाउँनुपर्छ । नियमित स्वास्थ्य जाँच गरायौँ भनेपनि हामी धेरै समस्याबाट जोगिन सक्छौँ ।
७. स्वास्थ्यसँग जोडिएका हाम्रा सामाजिक समस्याहरु के–के छन् ?
अहिले नसर्ने रोगहरुको बिगबिगी छ । २८ बर्षदेखि नै सुगर र प्रेसरको ओषधी खानुपर्ने बाध्यता बनेको छ । मदिरा सेवन र धुम्रपान जस्ता खराब आदतले नागरिकको स्वास्थ्य बिग्रदो छ । बालबिबाह, छाउपडी, यौन दुव्र्यवहार जस्ता स्वास्थ्यसँग जोडिएका सामाजिक समस्याहरु अझै पनि कहिकतै देख्न र सुन्न परेको छ । स्वस्थ वातावरण, स्वस्थ समाज, निरोगी नागरिक, स्वास्थ्य संस्थाहरुमा सहज, सुलभ, समान पहुँच सहितको छिटोछरितो र गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्न चाहनु नै नागरिक अपेक्षा हो । त्यसका लागि स्वस्थ वातावरण निर्माण गर्न नसक्नु पनि स्वास्थ्यसँग जोडिएको जटिल सामाजिक समस्या हो ।
८. भौतिक पूर्वाधार, जनशक्ति र उपकरणको हिसावले यस अस्पतालको अवस्था के छ ? अस्पतालको सेवालाई प्रविधिसँग जोड्ने बेला आएन र ?
यो अस्पताल भएपनि सोही अनुशारको दरबन्दी र उपकरण नहुँदा समस्या भएको छ । यो वालिङ क्षेत्रमा लामो इतिहास बोकेको अस्पताल हो । यहाँ केही नयाँ काम थालनी गर्नुपर्ने छ, भने केही पुरानै कामलाई विस्तार गर्नुपर्ने अवस्था छ । पुरानो काम अन्तर्गत अस्पतालप्रति रहेको बिरामीको विश्वासलाई कायम राख्नु हो । नयाँ प्रविधि तथा सुविधा, उपचार विधिहरु, नभएको विधामा चिकित्सक आउने तथा भएका सेवा सुविधालाई अझै विस्तार गर्ने कार्य गर्नु पनि अत्यावश्यक छ । स्वास्थ्य सेवालाई अझै गुणस्तरीय रुपमा विस्तार गर्ने मुख्य लक्ष्यका साथ हामी काम गरिरहेका छौं । त्यहीअनुसार योजना बनाएर नै हामी अगाडि बढीरहेका छौं । पुराना राम्रा कामलाई थप विस्तार गर्दै नयाँ नयाँ विधा र प्रविधिहरु ल्याउँदै काम गरिरहेका छौं । अहिलेको हाम्रो भौतिक संरचना अस्पतालको मापदण्ड अनुशार छैन । स्पेश अभावमा आँगनमा ओपिडी कक्ष निर्माण गर्नुपरेको छ । हामीसँग उपलब्ध जनशक्ति पनि अझै पर्याप्त छैन । जनशक्ति व्यवस्थापन गर्नुपर्ने चुनौती छ । तथापि हाम्रा अधिकांश सेवा प्रविधिसँग जोडिएको छ । स्वास्थ्य बिमाको सबै सेवा प्रविधिमैत्री छन् । अब हामीसँग इलेक्ट्रोनिक मेडिकल रिपोर्टको आवश्यकता छ, त्यसलाई पनि जडान गर्नेछौं ।
९. यस अस्पतालमा ओपिडी अवधिमै चिकित्सकहरु भेट्न मुस्किल पर्छ भनेर बिरामी गुनासो सुनाउँछन् किन ?
हाम्रो अस्पतालमा सेवा लिन दैनिक रुपमा ओपिडीमा आउने बिरामीलाई कोटा तोकेका छैनौं । जसले गर्दा जति बिरामी आएपनि उनीहरुले उपचार सेवा पाउँछन् । बिरामीहरु दैनिक ३ सय देखि ४ सयसम्म हुँदा सेवा लिन करिब १ घण्टा कुर्नुपर्ने अवस्था हुन्छ । कहिलेकाँही धेरै बिरामी हुँदा त्यो भन्दा बढी पनि समय लाग्न सक्छ । बिरामीको अवस्था अनुसार हामीले प्राथमिकता पनि निर्धारण गरेका छौं । गम्भीर प्रकृतिको बिरामीलाई आधा घण्टाभित्र नै जाँच गरेर उहाँहरुको अवस्था पत्ता लगाएर सोहीअनुसार उपचार गर्छौं । हामीहरु कहिलेकाँही ३ जना मात्र डाक्टर भइन्छ, कहिले ७ जना पनि भइन्छ । एउटाले हप्तामा ४२ घण्टा ड्यूटी गर्ने हो, तथापि हामीले त्यो भन्दा बढी गरेका छौं । अहिले ओपिडिमा पनि डाक्टर नै उपलब्ध हुनुहुन्छ । नाइट ड्यूटी गरेको डाक्टर डे टाइममा नभेटिएको होला । डाक्टरै नभेटिएको चाँही होइन् । हामीसँग २४सै घण्टा डाक्टर उपलब्ध हुनुहुन्छ ।
१०. अन्त्यमा पब्लिक आवाजमार्फत आम नागरिकहरुलाई के भन्न चाहनुहुन्छ ?
सर्वप्रथम त यो अवसरका लागि जिल्लाको लोकप्रिय पत्रिका पब्लिक आवाजलाई धन्यवाद दिन चाहन्छु । सरकारी अस्पतालमा सेवा गुणस्तरीय हुँदैन भन्ने भ्रममा नपरी हाम्रो सेवा लिन म यसै पत्रिका मार्फत आम नागरिकलाई अपिल गर्न चाहन्छु । औषधीको गोली बन्दुकको गोली भन्दा कडा हुन्छ, त्यसैले नजचाँई आफुखुशी औषधी सेवन नगरौं भन्न चाहन्छु । जिल्लामै धेरै बिरामीको चाप हुने यस अस्पतालको गुणस्तर सुधारको लागि सबैले हातेमालो गरौं भन्न चाहन्छु ।
प्रतिक्रिया