अर्जुनचौपारीलाई आलुखेतीले चिनाउने अभियान

स्याङ्जा ।
आलुखेतीलाई स्याङ्जाको एक पालिकाले पहिचानको रुपमा अगाडी सार्नेगरी अभियान शुरु गरेको छ । आलुखेतीले अर्जुनचौपारी गाउँपालिकालाई चिनाउने अभियान शुरु गरेको हो । पालिकाले आलुखेतीमा आत्मनिर्भर बनाउने र आलुखेती गाउँपालिकाको पहिचान बनाउन २० ट्रन आलु अनुदानमा वितरण गरेको छ । किसानले ५० प्रतिशत अनुदान पाउनेगरी गाउँपालिकाले २० ट्रन आलु वितरण गरेको हो ।

आलुको राम्रो सम्भावना भएको गाउँपालिकाको सबै वडामा समुहगत र व्याक्तिगत आलुखेती लगाउनेगरी ५० प्रतिशत अनुदानमा आलुको बिऊ वितरण गरिएको गाउँपालिकाका अध्यक्ष प्रकाश तिवारीले बताए । हामी आलुखेतीले पालिकालाई चिनाउन चाहान्छौं अध्यक्ष तिवारीले भने,‘सबै वडाका आमा समुह मार्फत आलुखेती लगाउने अभियानमा छौं ।’ पहिलो चरणमा बजारीकरणका लागि भन्दापनि पालिकामा आलु आयत रोक्ने प्रयासमा छौं अध्यक्ष तिवारीले भने । ६ ओटै वडाका आमा समुहलाई आलुमा आत्मनिर्भर बनाउन पालिकाले यो अभियान अगाडी सारेको उनले बताए ।

गाउँपालिकाले झण्डै पालिकाभरी २ सय रोपनीमा आलुखेती लगाउने अभियानमा छ । पालिकामा ७० वटा आमा समुह रहेका छन् । ति मध्ये ५० ओटा आमा समुह यो पटकको आलुखेतीमा सहभागी हुने पालिकाले जनाएको छ । ५० प्रतिशत अनुदानमा उन्नत जातको जनकदेव, कार्डिनल रातो, खुमल उज्ववल सेतो आलुको विऊ वितरण गरिएको अर्जुनचौपारी गाउँपालिका कृषि शाखा प्रमुख प्रतिक अर्यालले जानकारी दिए । पालिकाका नागरिकलाई आलुमा व्यवसायीककरण गर्न उन्नत जातको आलुको विऊ वितरण गरेको अर्यालले बताए ।
यो पटक सबै आमाहरुले आलु लगाउनुहुन्छ कृषि शाखा प्रमुख अर्यालले भने,‘बिस्तारै आलुखेतीमा व्यवसायीक तर्फ जोड्ने प्रयास गछौं ।’ आलुखेतीलाई पकेट बनाउन आलुखेतीमा आमाहरुलाई सक्रिय बनाउन लागेका हौं अर्यालले भने । विगतका बर्षमा समुहगत आलुखेती लगाउन प्रयास गरेपनि सफलता नभएपछि अहिले व्याक्तिगत रुपले आलुखेती लगाउन सुरु गरेको उनले बताए । किसानलाई प्राविधिक सहयोग सहित आलुखेतीमा चाहिने सबै औषधी पनि पालिकाबाटै उपलब्ध गराउने प्रयासमा रहेको उनको भनाई छ ।

नागरिकलाई आलुखेतीमा आत्मनिर्भर बनाउने मात्रै नभएर पालिकाले पनि आफै आलु लगायत अन्य खेती पनि सुरु गर्ने अभियानमा रहेको छ । यो बर्षबाट पालिकाले ३७ रोपनी जग्गा भाडामा लिएर आलु, मुला, प्याज, लसुन लगायत खेती आफैले गर्न लागेको गाउँपालिका अध्यक्ष तिवारीले बताए । पालिकाले आफै गर्न लागेको खेती नमुनाको लागि हो अध्यक्ष तिवारीले भने,‘यो पालिकाले कृषिमा केही गर्दै छ भन्ने सन्देस पनि हो ।’ यो प्रयासले कृषिमा प्रचार प्रसारको पनि सन्देश हो उनले भने ।

कृषिमा पालिकाले गर्न खोजेको काम प्रशंसनीय रहेको स्थानीयहरुले बताएका छन् । अन्यबालीनालीमा बाँदर लगायत बन्यजन्तुबाट हैरानी व्यहोरेका पालिकाबासीले आलुखेतीबाट आयआर्जनमा टेवा पुग्ने विश्वास उनीहरुले लिएका छन् । अधिकांश ग्रामिण क्षेत्र रहेको पालिकामा आलु राम्रो उत्पादन हुन्छ । भुगोल अनुसारको खेतीमा पालिकाले थालेको आलुखेतीको अभियानले पालिकालाई चिनाउने विश्वासमा स्थानीयहरु छन् ।

 

प्रतिक्रिया