अर्जुनचौपारी गाउँपालिकाबाट क्रिकेट तीन खेलाडीलाई सम्मान
भीरकोट ।
स्याङ्जाको अर्जुनचौपारी गाउँपलिकाले कात्तिक १९ गतेबाट २९ गते सम्म युएईमा सञ्चालित यू–१९ विश्वकपका छनोटमा उपाधि जितेका स्याङ्जाका तीन खेलाडीलाईसम्मान गरेको छ ।
गाउँपालिकाले पुतलीबजार नगरपालिका १ का ज्योत्सिना मरासिनी, १३ का सीमाना केसी र कुसुम गोदारलाई जनही १५ हजार रुपियाँ नगद, सम्मानपत्र सहित दोसल्ला ओढाएर सम्मान गरिएको हो भने क्यान स्याङ्जाका अध्यक्ष दिवाकर थापालाई सम्मान पत्रले सम्मान गरिएको हो । पालिकाले दोस्रो राष्ट्रपति रनिङ शिल्ड तथा खेलकुद महोत्सबको उद्घाटनमा बिहीबार तीनजना खेलाडी र क्यान अध्यक्ष थापालाई गाउँपालिका अध्यक्ष प्रकाश तिवारी, उपाध्यक्ष सपना गुरुङ, प्रकाशकिय अधिकृत कौशल पाण्डेले सम्मान गरेका हुन् ।
सम्मान गर्दै अध्यक्ष तिवारीले खेलाडी देशको गहना भएकाले सबैले खेल र खेलाडीको सम्मान गर्नुपर्ने बताए । खेलकुदको विकासमा गाउँपालिका हरपल सहयोग रहने पालिका अध्यक्ष तिवारीको भनाई थियो । गण्डकीका चार मध्ये स्याङजाका तीन खेलाडीले सन् २०२५ जनवरी १८ देखि २ फेबु्रअरी सम्म मलेसियामा हुने विश्वकप खेल्ने इतिहास बनाएका थिए ।
सिनियर महिला क्रिकेट टोलीले विश्वकपमा स्थान पक्का गर्न नसकेको अवस्थामा यू–१९ टोलीले विश्वकपमा स्थान पक्का गरेको हो । मङसिर ८ गते सम्म सञ्चालनहुने यहाँ सञ्चालित रनिङ शिल्ड तथा खेलकुद महोत्सबमा गाउँपालिकाका ३३ विद्यालयका नौ सय विद्यार्थीको सहभागिता रहेको छ । ४५ स्वर्ण, ४५ रजत र ४५ का स्कपदकको लागि प्रतिस्पर्धा हुने प्रतियोगितामा कक्षा –१ देखि १२ कक्षाका विद्यार्थीको सहभागिता रहेको छ ।
खेलकुद महोत्सबमा कक्षा –१ देखि कक्षा –५ सम्म चम्चा दौड, म्युजिकल चियर, एकल नृत्य पतियागिता रहेको छ । यस्तै कक्षा –६ देखि कक्षा –१२ सम्म दौड, हाइजम्प, लड्ढजम्प, त्रिपलजम्प, भलिबल, कबड्डी, डोरी तान्ने खेल रहेका छन् ।
कार्यक्रममा क्यानका अध्यक्ष थापाले विद्यालयबाट वल्र्डकपको यात्रा खेलाडीले तय गरेको बताए ।
महिला क्रिकेटमा पछिल्लो समय गण्डकी प्रदेशमा स्याङजाका खेलाडी दबदबा रहेको बताउदै केन्द्रमा समेत अब बर्चश्व रहने बताए । कार्यक्रममा सम्मानित खेलाडी सीमाना केसी, वडा नं १ का अध्यक्ष रण बहादुर थापा, लाल केसी लगायतले मन्तब्य राखेका थिए ।
प्रतिक्रिया