पब्लिक एकेडेमी माविको ७३ औं वार्षिकोत्सव

भीरकोट ।

स्याङ्जाको भीरकोट ८ मा रहेको पब्लिक एकेडेमी माध्यमिक विद्यालयको ७३ औं वार्षिकोत्सव आईतबार मनाईएको छ । विद्यालयको वार्षिकोत्सव समारोहमा बोल्दै भीरकोट नगर प्रमुख गोविन्द कुमार कर्माचार्यले शिक्षाको अभावमा कोही पनि बालबालिका अशिक्षित हुन नदिन र गुणस्तरीय शिक्षा प्रदान गर्ने कार्यका लागि नगरपालिका प्रतिबद्ध रहेको बताए । उनले नगरको शैक्षिक विकासका लागि सरोकारवाला पक्षहरुसित हातेमालो गर्दै अगाडि बढ्ने बताउँदै विद्यालयलाई बालमैत्री विद्यालयकारुपमा विकास गर्दै लगिनेमा जोड दिए ।

कार्यक्रममा नगरप्रमुख कर्माचार्यले उत्कृष्ट शैक्षिक नतिजा हासिल गर्ने विद्यालय र शिक्षकलाई बालमैत्री दिवसको अवसरमा नगदसहित पुरस्कृत गरिने जानकारी दिए । शैक्षिक गुणस्तर सुधार्न कक्षा ३, ५ र ८ को नगरस्तरीय परीक्षा अनिवार्य गरिने र स्वतः उतिर्णको परिपाटीलाई अन्त्य गरिने प्रतिबद्धता जनाए । उनले शैक्षिक सुधारका लागि नगरपालिकाले प्रभावकारी परीक्षा प्रणाली अपनाउने बताए । कर्माचार्यले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता यही पुस ९ गतेदेखि सञ्चालन हुने जानकारी दिए ।

कार्यक्रममा बोल्दै भीरकोटका निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइराला, वडा नं ८ का अध्यक्ष नन्दलाल खनाल, प्याब्सन केन्द्रिय सदस्य तथा बालोदय माविका प्रिन्सिपल अमृत अर्याल र भाग्योदय माविका प्रधानाध्यापक रेशमलाल खनालले पनि शैक्षिक गुणस्तर सुधारका लागि शिक्षक, विद्यार्थी र अभिभावकहरूको सक्रिय भूमिका आवश्यक रहेको औँल्याए । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक देवकी रेग्मीले विद्यालयको आर्थिक तथा शैक्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेकी थिईन् । विद्यालयका सहायक प्रधानाध्यापक रिबन बिकको स्वागतसँगै शुरु भएको वार्षिकोत्सव समारोह विद्यालय ब्यवस्थापन समितिका का.वा. अध्यक्ष चित्रबहादर राना भुजेलको सभापतित्वमा सम्पन्न भएको थियो भने सञ्चालन विद्यार्थी उपासना थापा र टेकनसिंह सुनारले गरेका थिए ।

कार्यक्रममा उत्कृष्ट, गरिब तथा जेहन्दार विद्यार्थीलाई छात्रवृत्ति तथा खेलकुद र अतिरिक्त क्रियाकलापको पुरस्कार वितरण गरिएको थियो । विद्यार्थीहरूको तर्फबाट मन्तव्य राख्दै अतीत गुरुङ र भगवती रेग्मीले कक्षा १ देखि ९ सम्म स्वतः उतिर्ण हुने प्रणालीका कारण शैक्षिक गुणस्तर खस्किएको र एसईई परीक्षामा अपेक्षित नतिजा नआएको धारणा राखे।

 

प्रतिक्रिया