वालिङको पिसजोन विद्यालयमा ‘एग्रिभेसन ट्यालेन्स सो’ प्रतियोगिता
क्रान्ति अर्याल,
स्याङ्जा ।
विद्यार्थीहरूलाई विज्ञान र प्रतिभा प्रदर्शन गर्नका लागि प्रेरित गर्ने उद्देश्यले वालिङको एक विद्यालयमा साइन्स एग्रिभेसन एण्ड ट्यालेन्ट सो कार्यक्रम गरिएको छ । स्याङ्जा जिल्ला वालिङ नगरपालिका ९ भुम्रे स्थित पिस जोन इन्डिग्रेटेड एजुकेशनल एकेडेमी स्कुलले शुक्रबार उक्त कार्यक्रम सम्पन्न गरेको हो ।
उक्त कार्यक्रममा २६३ जना विद्यार्थीहरू सहभागी थिए । ती मध्ये साइन्स एग्रिमेन्ट एग्रिभेसनमा २०० जना विद्यार्थी सहभागी थिए भने ट्यालेन्ट सो प्रतियोगितामा ६३ जना विद्यार्थीहरूले भाग लिएका थिए ।
उक्त कार्यक्रममा विद्यार्थीहरूले विज्ञानसँग सम्बन्धित आफ्ना सिर्जनात्मक सोच प्रयोग गरी प्रतिभा प्रदर्शन गरेका थिए । साइन्स एग्रिभेसन अन्तर्गत विद्यार्थीहरूले बायोग्यास, हाइड्रोपावर, इलेक्ट्रिसिटीका डेमो, लिफ्टिङ पुल लगायतका विज्ञान प्रदर्शनी गरेका थिए । त्यसैगरी नृत्य प्रस्तुत गरि आफ्नो प्रतिभा देखाएका थिए ।
वालिङ नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष अमृत श्रेष्ठले उक्त कार्यक्रममा बोल्दै विद्यार्थीहरूको यस्ता कार्यक्रमले वैज्ञानिक चेतना विकास हुने, प्रतिभा पहिचान हुने, विद्यार्थीहरूको सीप विकास हुने र समस्याको समाधान खोज्ने क्षमताको विकास हुने हुँदा यस्ता कार्यक्रमहरु विद्यालयले निरन्तर रूपमा गर्नुपर्ने सुझाव दिए ।
त्यसैगरी विद्यालयको प्रिन्सिपल याम प्रसाद डुम्रेले यस्ता कार्यक्रमको माध्यमबाट विद्यार्थीहरूमा लुकेर रहेको प्रतिभा प्रस्फुटन हुने बताए । उक्त कार्यक्रममा विद्यार्थी तथा अभिभावकको उत्साहजनक उपस्थिति रहेको थियो ।
प्रतिक्रिया