भूमिगत सिंचाई योजनाबाट भीरकोटमा १५ हेक्टर क्षेत्रफलमा सिंचाई पुर्याउने लक्ष्य

भीरकोट ।

स्याङ्जा जिल्लाको भीरकोट नगरपालिकामा भूमिगत पानीको उपयोग गर्न निर्माण गरिएको नयाँ प्रविधिको सिंचाइ योजना अन्तिम चरणमा पुगेको छ। वडा नं ६ मा कार्यान्वयन भैरहेको एकुवार बिस्रीखोला जैसीडाँडा नयाँ प्रविधी सिंचाई योजनाले सिमलचौर र एकुवार क्षेत्रका १५ हेक्टर जमिनलाई सिंचाइ गर्ने लक्ष्य राखिएको छ। तीन वर्षअघि सुरु भएको यो योजनाको अहिलेसम्म ९० प्रतिशत काम सम्पन्न भएको छ। यो योजनामा सिमलचौरमा ६ इन्चको फलामको पाइप ७२ मिटर गहिरो गाडेर प्रति सेकेन्ड ७ लिटर पानी निकालिएको छ। एकुवारमा ८ इन्चको पाइप ६० मिटर गहिरो गाडेर प्रति सेकेन्ड २५ लिटर पानी निकाल्ने प्रविधि प्रयोग गरिएको छ। दुबै स्थानमा भूमिगत पानी तान्न विद्युतीय मोटरको व्यवस्था गरिएको छ।

योजनाका साइट इन्चार्ज शिवराज थापाका अनुसार योजना सम्पन्न गर्ने क्रममा हालसम्म करिब ६० लाख रुपैयाँ खर्च भइसकेको छ। जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालय स्याङ्जाका प्रमुख किरण आचार्यका अनुसार स्याङ्जामा नयाँ प्रविधिमा आधारित भूमिगत सिंचाइ प्रणाली पहिलो पटक कार्यान्वयन गरिएको हो। उनका अनुसार योजनाको करिब ९० प्रतिशत काम सम्पन्न गरिएको छ। प्राविधिक परीक्षण पश्चात् कृषकहरूले सिंचाई प्रयोजनका लागि पानी प्रयोग गर्न पाउने उनले बताए ।

भीरकोटको उब्जाउ क्षेत्र सिमलचौर र एकुवारमा सिंचाइको लागि २ वटा नहर भएपनि माथिल्लो नहरको संरचना जीर्ण भएको छ भने तल्लो नहरमा बाढीले पूर्ण क्षती पुर्‍याएको छ। खोलाको किनारमै भएपनि आकाशे भेलपानीको भरमा सिंचाई गर्नुपर्ने बाध्यता भएको कृषक लोकप्रसाद कोइरालाले बताए । अनियन्त्रित नदी उत्खननले गर्दा नदीको सतह करिब ३ मिटर गहिरिएको छ। भीरकोट नगरपालिकाले व्यवसायिक रूपमा नदी उत्खनन गर्न थालेपछि सिंचाई प्रणालीमा निरन्तर अवरोध भैरहेको छ। पुरानो नहर पुनःनिर्माणका लागि करिब ३० करोड रुपैयाँ लाग्ने भएकाले निवर्तमान नगर प्रमुख छायाराम खनाल र प्रदेश सांसद भोजराज अर्यालको पहलमा वैकल्पिक सिंचाई प्रणालीको रूपमा भूमिगत पानीको उपयोग गर्न लागिएको हो।

यस योजनाबाट हिउँदे बाली र नगदेबालीको उत्पादन वृद्धि हुने अपेक्षा गरिएको छ। बिस्रीखोला जैसिडाँडा नयाँ प्रविधि सिंचाइ योजनाका अध्यक्ष सूर्यप्रसाद कोइरालाले खेत र बारी दुबैमा सिंचाइ हुने भएकाले किसानहरू खुशी भएको बताए । स्थानीय कृषकहरूले कृषि उत्पादन वृद्धि गर्न नहर नै संचालनमा ल्याउनुपर्ने माग राख्दै आएका छन्। गत निर्वाचनमा स्याङ्जा क्षेत्र नं २ का उम्मेदवार धनराज गुरूङ र पद्मा अर्यालले नहर निर्माणलाई चुनावी मुद्दा बनाएको भएपनि हालसम्म कुनै काम भएको छैन। निर्वाचन जितेर कानुन मन्त्री भैसकेका गुरूङले आफ्नो कार्यकालभित्र नहर निर्माण गरिछाड्ने प्रतिबद्धता जनाएका थिए ।

प्रतिक्रिया