गल्याङमा अन्तराष्ट्रिय अपाङ्ग दिवस मनाइयो
क्रान्ति अर्याल,
स्याङ्जा ।
अपाङ्गता भएका व्यक्तिहरूको ३३ औँ अन्तर्राष्ट्रिय दिवस देशभर विभिन्न कार्यक्रम गरि मनाइरहेका बेला स्याङ्जाको गल्याङ नगरपालिकामा पनि उक्त कार्यक्रम गरिएको छ । ‘समावेशी तथा दिगो भविष्यको पूर्वाधार, अपाङ्गता भएका व्यक्तिको प्रवल नेतृत्व यसको आधार’ भन्ने मुल नारा सहित स्याङ्जा अपाङ्ग समाज जिल्ला कार्यसमिति स्याङ्जाको आयोजनामा र सामाजिक विकास कार्यालय स्याङ्जाको सहयोगमा गल्याङ नगरपालिकामा कार्यक्रम सम्पन्न गरिएको हो ।
कार्यक्रममा फरक क्षमता भएका व्यक्तिहरुलाई सहायता सामाग्री वितरण गरिएको थियो । गल्याङ नगरपालिका भित्र ७६८ जना अपांगता भएका व्यक्तिहरुले अपाङ्गता परिचयपत्र लिएका छन् । ती मध्ये २३ जना अपांगता भएका व्यक्तिहरुलाई आवश्यकता अनुसार सेतो छडी, सहयोगी लौरो, बेल्ट, कम्बोड चेयर, ह्वील चेयर लगायतका सामाग्री वितरण गरिएको थियो ।
उक्त कार्यक्रममा बोल्दै नगरप्रमुख गुरु प्रसाद भट्टराईले सामाजिक विकास कार्यालयले अपाङ्गता भएका व्यक्तिहरूको लागि स्थानीय तहमै आएर गरेको काम अत्यन्त प्रशंसनीय रहेको बताए । फरक क्षमता भएका नागरिकको सम्मानजनक रुपले समाजमा हिडडुल गर्ने अधिकार सुनिश्चित गर्नुपर्ने धारणा नगर प्रमुख भट्टराईको थियो ।
त्यसैगरी उपप्रमुख हेमा न्यौपानेले अपाङ्गता भएका व्यक्तिहरूको सशक्तिकरण कार्यान्वयनमा नगरपालिकाले प्रदेश सरकारसँग समन्वय गरेर अगाडि बढ्न तयार रहेको बताए । उक्त कार्यक्रममा बोल्दै सामाजिक विकास कार्यालयका प्रमुख जीवन पौडेलले अपांगता भएका व्यक्तिहरुको सहजताका लागि र उनीहरूको सर्वाङ्गीण विकासका लागि विभिन्न प्रयास गर्नुका साथै सबै स्थानीय तहमा पुगेर सहायता सामग्री वितरण गरिने बताए ।
उक्त कार्यक्रममा गल्याङ अपांग समाजका उपाध्यक्ष नारायण प्रसाद भण्डारी, वडा नं –१ का वडा अध्यक्ष मणिप्रसाद बस्याल लगायतले बोलेका थिए । स्याङ्जा अपाङ्ग समाजका अध्यक्ष राम शर्मा पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गल्याङ नगरपालिकाका फरक क्षमता भएका व्यक्तिहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।
मंगलबार नै सामाजिक विकास कार्यालयले गल्याङ नगरपालिकामा –३ मा रहेको भानुभक्त आचार्य माध्यमिक विद्यालयका फरक क्षमता भएका विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण र अन्तरक्रिया कार्यक्रम गरेको थियो । त्यसैगरी फेदीखोला गाउँपालिका – १ मा सामाजिक विकास कार्यालयको तर्फबाट अपांगता भएका व्यक्तिहरुलाई सहायता सामाग्री वितरण गरिएको थियो ।
त्यस्तैगरी स्याङ्जाको पुतली बजार नगरपालिका – ३ मा रहेको चण्डी आधारभूत विद्यालयमा अपाङ्गता भएका विद्यार्थीहरू बीच विभिन्न खेलकुद प्रतियोगिता गरी पुरस्कार वितरण गरिएको थियो । सन् १९९२ देखि विश्वभर मनाउन थालिएको यो दिवस मंगलबार देशभरका विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयले विभिन्न जनचेतनामूलक कार्यक्रम गरि मनाएका थिए ।
प्रतिक्रिया