वालिङ र भीरकोटमा क्षयरोग परिक्षण सम्बन्धी शिविर

अमृत अर्याल,
भीरकोट ।
स्याङ्जाको वालिङ र भीरकोटमा आयोजना गरिएको छातीको रोग सम्बन्धी एक दिने निःशुल्क स्वास्थ्य शिविरबाट झन्डै १२ सय नागरिक लाभान्वित भएका छन् । भीरकोटमा १९ गते र वालिङमा २० गते आयोजना गरिएको निशुल्क शिविरमा १ हजार १ सय ४३ जना नागरिक लाभान्वित भएका हुन् । वालिङ र भीरकोट नगरपालिकालाई क्षयरोगमुक्त नगर बनाउने अभियान अनुसार यो शिविर आयोजना गरिएको हो ।
वालिङ १ रामबाच्छामा आयोजना गरिएको शिविरको गण्डकी प्रदेश सरकारका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले उदघाटन गरेका थिए । वालिङलाई अस्पताल बनाउने बिषयमा गण्डकी प्रदेश सरकार सकरात्मक हुने विश्वास स्वास्थ्य मन्त्री पाठकले दिलाए । क्षयरोग सम्वन्धी शिविर प्रत्येक वडा—वडामा गर्न जरुरी रहेको बताए । नगर प्रमुख कृष्ण खाँणको अध्यक्षतामा भएको शिविर उदघाटन कार्यक्रममा स्वागत उपप्रमुख कविता तिवारी गैह्रे, धन्यवाद नगर प्रवक्ता पदमराज गुरुङ र संचालन स्वास्थय शाखा प्रमुख कमल पाण्डेले गरेका थिए ।

जन्त्र नामक संस्थाको सहयोगमा वालिङ र भीरकोटमा निशुल्क यो शिविर गरिएको थियो । वालिङको शिविरमा ६९३ जनाले स्वास्थ्य परिक्षण गराउका थिए । ती मध्ये ४ जनामा क्षयरोग देखिएको र एकजनामा अलि जटिल खालको क्षयरोग देखिएको वालिङ नगर स्वास्थ्य शाखा प्रमुख कमल पाण्डेले जानकारी दिए । वालिङलाई स्वास्थ्य क्षेत्रमा कुनै कसुर बाँकी नरहनेगरी काम गरिरहेको प्रमुख प्रशासकीय अधिकृत गंगालाल सुबेदीले बताए ।

यसै गरी भीरकोटमा भएको शिविरमा साढे ४ सय जना लाभान्वित भएका छन् । भीरकोट नगरपालिकाको आयोजनामा फोक्सोसँग सम्बन्धित श्वासप्रश्वास र टी.बी.का बिरामीहरुलाई लक्षित गर्दै आयोजना गरिएको स्वास्थ्य शिविरबाट १५ बर्ष माथीका युवादेखि ज्येष्ठ नागरिकसम्म गरेर ४ सय ३४ जनाले सेवा लिएको भीरकोट नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख अञ्जु सापकोटाले बताईन् । मोफसलका सबै अस्पतालहरुमा छाती रोगसँग सम्बन्धित दक्ष जनशक्ति नहुँदा नागरिकले रोग पालेर बसिरहनुपरेको अवस्था र त्यसमा पनि टी.बी.को समस्या सुक्ष्म अवस्थामा हुन सक्ने भएकाले जन्त्र नामक संस्थाको सहयोगमा शिविरका आयोजना गरिएको हो । शिविरमा चेस्ट फिजिसियन डा. प्रमोद भट्टराई सहित जन्त्रबाट आएको चिकित्सकको टोली ५ जना, क्षयरोग उपचार केन्द्र पोखराका २ जना, स्वास्थ्य कार्यालय स्याङ्जा र भीरकोटका स्वास्थ्यकर्मी सहित १५ जनाको स्वास्थ्यकर्मीहरुको टोलीले सेवा दिएका हुन् ।

भीरकोट नगरपालिका स्वास्थ्य शाखाका सिनियर अहेव श्रीराम अर्यालका अनुसार शिविरमा ४ सय ३४ जनाले छातीको प्रोटेवल परीक्षण सेवाबाट आफ्नो स्वास्थ्य अवस्थाको बारेमा थाहा पाएका छन् । स्वास्थ्य परीक्षणको लागि आएकामध्ये १३ जनामा टी.बी.को समस्या देखिएको छ । शिविरमा भीरकोट नगरपालिकाका विभिन्न ग्रामीण क्षेत्रका नागरिकले पनि स्वास्थ्य परीक्षण गराएका छन् । परीक्षणका लागि आएकामध्ये अधिकांश जेष्ठ नागरिक रहेको अर्यालले बताए । स्वास्थ्य परीक्षणसँगै क्षयरोग देखिएका बिरामीहरुलाई सम्पर्क गरी निःशुल्क रुपमा औषधि वितरण पनि थालिएको छ ।

एक दिने शिविर भए पनि लामो समयदेखि छाती सम्बन्धी समस्या भएका र आर्थिक अभावका कारण उपचार गर्न पोखरा काठमाडौँ लगायतका सहरमा रहेका सुविधाजनक अस्पतालमा जान नसक्ने विपन्न, असहाय तथा ज्येष्ठ नागरिकहरुले केही हदसम्म भए पनि राहत महसुस गरेको भीरकोट नगरपालिकाका उपप्रमुख भगवती रेग्मी अर्यालले बताईन् । शिविर सञ्चालनका लागि स्थानीय क्लब तथा संघसंस्थाहरुले पनि सहयोग गरेका थिए । शिविरको उद्घाटन गर्दै क्षयरोग उपचार केन्द्र पोखराका निर्देशक डा. सुनिलराज गौतमले क्षयरोग जस्ता जटिल खालका

रोगीहरुका लागि विशेषज्ञ युक्त उपचार तथा परीक्षण सेवाको अभावमा नागरिकहरुमा अझै समस्या रहेको बताए । यस्तै खालका शिविर समय समयमा सञ्चालन गर्नुपर्नेमा जोड दिँदै उनले सरोकारवालालाई यसमा गम्भीर हुन आग्रह गरे । शिविरमा सहभागी वरिष्ठ छाती रोग विशेषज्ञ डा. प्रमोद भट्टराईले अझै पनि नागरिक तहमा स्वास्थ्यसम्वन्धि चेतना अभिवृद्धि नभएको बताउँछन् । रोग लागेर जटिल अवस्था आएपछि मात्र उपचार गर्ने बानीलाई सुधार गर्दै लक्षण देखिने बित्तिकै उपचार गराउन सकेमा भविष्यमा ठुलो जोखिम नआउने उनको सुझाव छ ।

 

प्रतिक्रिया