महिलालाई आयआर्जनमा जोड्न बाख्रपालन तालिम
गल्याङ ।
निर्धन उत्थान लघुुवित्त वित्तिय संस्थाले व्यवसायीक बाख्रापालनलाई प्रोत्साहन गर्न तालिम सञ्चालन गरेको छ । स्याङ्जाको गल्याङ नगरपालिकामा रहेको शाखाले महिलाहरुलाई व्यवसायीक बनाउन तालिम प्रदान गरेको हो । तीनदिने तालिममा समुहका ३६ जना महिलाहरु सहभागी रहेको निर्धन लघुवित्त संस्थाले जनाएको छ ।
लघुवित्तमा रहेका समूह सदस्यहहरुको क्षमता अभिवृद्धि गर्दै स्वरोजगार सिर्जना गर्ने उद्देश्यले तीन दिने व्यवसायिक बाख्रापालन तालिम सञ्चालन गरिएको संस्थाका शाखा प्रमुख तुलसा पाण्डेले बताइन् । लघुवित्तले बचत गर्ने र ऋण लगानी मात्रै गरेर महिलालाई आर्थिक चलायमान सगँ जोड्दै आएको थियो । तर पछिल्लो समय अव महिलाहरुलाई उत्पादनसगँ जोड्नुपर्छ भन्ने उदेश्य राखेर बाख्रा पालन तालिम प्रदान गरिएको शाखा प्रमुख पाण्डेले बताइन् ।
तालिममा गल्याङ नगरपालिकाका पशुसेवा शाखाका डाक्टर तोजनाथ ढकाल, कमलराज भट्ट, महादेव वन र दिलिपकुमार रायमाझी लगायतले प्रशिक्षण दिएका थिए । उक्त तालिममा बाख्राको जात छनोट गर्ने, खोर व्यवस्थापन गर्ने, बाख्राको पोषण व्यवस्थापन गर्ने, स्वास्थ्य तथा रोग नियन्त्रण गर्ने, प्रजनन व्यवस्थापन गर्ने, व्यवसाय दर्ता र लघुवित्तको सहयोग आदी विषयमा प्रशिक्षण दिइएको थियो ।
तालिममा प्रशिक्षणसँगै सहभागीहरूलाई गल्याङ नगरपालिकामा रहेका दुई वटा बाख्रा फर्म अवलोकन गराइ थप अनुभव समेत सिकाइएको प्रमुख प्रशिक्षक तोजनाथ ढकालले बताए ।
सहभागीहरुको व्यवसायिक सफलताका लागि निर्धन उत्थान लघुवित्तले आयोजना गरेको तालिमले महिलाहरुलाई थप मद्धत गर्ने विश्वास गल्याङ नगर उपप्रमुख हेमा न्यौपानेले गरिन् । तीन दिने तालिममा सिकेका कुराहरुलाई व्यवहारमा लागू गर्न र क्षमता अभिवृद्धिसँगै बाख्रापालनलाई विस्तार गर्न उपप्रमुख न्यौपानेको भनाई थियो । बाख्रा पालनमा थप मद्धत गर्न गल्याङ नगरपालिकाले समेत साथ दिने प्रतिबद्धता समेत उपप्रमुख न्यौपानेले गरिन् ।
संस्थाका क्षेत्रीय अधिकृत प्रेमप्रसाद सुवेदीले विगतदेखि वर्तमानसम्ममा संस्थाले महिला सदस्यहरूको सशक्तिकरणमा जोड दिनका निम्ति यस्ता तालीमहरु प्रदान गर्दै आएको बताए । पछिल्लो समय लघुवित्त संस्थाका बारेमा सामाजिक सञ्जालमा आएका भ्रामक समाचारको भ्रममा नपरि अनुशासित बनी चुस्त र दुरुस्त रूपमा आफ्नो कारोबार गर्न सदस्यहरूलाई आग्रह गरे ।
कार्यक्रममा बोल्दै सामाजिक विकास गल्याङ शाखाका प्रमुख थानापती न्यौपानेले तालिमले सहभागीहरुलाई आर्थिक रुपमा आत्मनिर्भर र व्यावसायिक बनाउने हुँदा तालिम पश्चात सक्रिय भएर लाग्न आग्रह गरे । तीन दिने तालिमको समापनमा सहभागी सदस्यहरूलाई प्रमाणपत्र प्रदान गरिएको थियो । छाप महिला समूहको केन्द्र प्रमुख घनेसरा बरालको अध्यक्षता सम्पन्न कार्यक्रमको संचालन संस्थाका कर्मचारी तारा पाण्डेले गरेकी थिइन् । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले हालसम्म देशभरका ७७ वटै जिल्लामा १८५ शाखा सञ्चालन गरी आफ्नो वित्तीय कारोबार संचालन गरिरहेको छ ।
प्रतिक्रिया