सिरक—डसना बनाउने श्रमिक ट्याक्टर दुर्घट्नामा मृत्यू

स्याङ्जा ।
स्याङ्जाको कालीगण्डकी गाउँपालिका–३ मा मंगलबार राती ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । कालीगण्डकी–३ को बिर्घा–मिर्मी पक्की भित्री सडक खण्डमा आलमबाट बिर्घातर्फ जाँदै गरेको लु. ४ त. ७८३१ नम्बरको ट्याक्टर अनियन्त्रित भई सडकबाट झण्डै ४० मिटर तल खसेर दुर्घट्ना हुँदा एकजनाको उपचारको क्रममा मृत्यू भएको छ भने दुईजना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी निरीक्षक उमेशलाल श्रेष्ठका अनुसार दुर्घटनामा परी बाराको गढीमाई नगरपालिका–११ बस्ने अन्दाजी २२ वर्षीय सब्दुल अन्सारीको मृत्यु भएको छ । अन्सारीलाई ट्याक्टरले च्यापेको अवस्थामा प्रहरी र स्थानीयले उद्धारगरी कालीगण्डकी अस्पताल मिर्मीमा उपचारको क्रममा मृत्यू भएको प्रहरीले जनाएको छ ।
ट्याक्टर दुर्घटनामा परी बाराको कलैया उपमहानगरपालिका–१० का २४ वर्षीय अर्जुन शाह र कलैया–११ का २६ वर्षीय सलाम मुदिन मन्सुरी गम्भिर घाइते भएको प्रहरीले जनाएको छ । दुबै जनाको कालिगण्डकी अस्पताल मिर्मी स्याङ्जामा सामान्य उपचार पश्चात थप उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पा पठाइएको छ । सिरक—डसना बनाउने मेसिन जोडेको ट्याक्टर अनियन्त्रित भइ दुर्घट्ना भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । उक्त ट्याक्टरमा सवार अर्का गढीमाई नगरपालिका–११ का १४ वर्षीय सिकिन्दर यादब भने सकुशल रहेका छन् ।
ट्याक्टर दुर्घट्ना भएको खबर पाएपछि स्थानीय र प्रहरीको सहयोगमा उद्धार कार्य गरिएको कालीगण्डकी–४ का वडा अध्यक्ष यादवप्रसाद पाण्डेले जानकारी दिए । उनीहरुले पुराना कपडा पेलेर सिरक—डसना बनाउने व्यवसाय गर्दै आएको वडा अध्यक्ष पाण्डेले बताए । ट्याक्टर दुर्घट्नाको बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया