जेष्ठ नागरिकलाई सम्झिने दिवस

क्रान्ति अर्याल
गल्याङ ।
ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता वितरण गर्न सुरू गरिएको सम्झनामा नेपालमा प्रत्येक वर्ष पुस ११ गते राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाइन्छ । यसै सन्दर्भ पारी सामाजिक विकास कार्यालय स्याङ्जाले चापाकोट नगरपालिकाको समन्वयमा चौथो राष्ट्रिय जेष्ठ नागरिक दिवस मनाएको छ । श्री राधा दामोदर आरोग्य आश्रम चापाकोट नगरपालिका –६ स्याङ्जामा जेष्ठ नागरिक दिवस मनाएर सम्पन्न गरेको छ ।

उक्त कार्यक्रममा सामाजिक विकास कार्यालय स्याङ्जाले ज्येष्ठ नागरिकहरूको सम्मान स्वरुप श्री राधा दामोदर आरोग्य बृद्वाआश्रममा बस्ने २२ जना जेष्ठ नागरिक र अन्य ८ जना जेष्ठ नागरिक गरि जम्मा ३० जनालाई न्यानो कम्बल वितरण गरेको सामाजिक विकास कार्यालयका प्रमुख जीवन पौडेलले जानकारी दिए । कार्यक्रममा बोल्दै चापाकोट नगरपालिकाका उपप्रमुख ईसा रानाले जेष्ठ नागरिकको योगदान र अनुभवको कदर गर्दै समाजमा उनीहरूको महत्वलाई उजागर गर्नुपर्ने बताइन् । जेष्ठ नागरिकको ज्ञान र सिपलाई राष्ट्र हितमा जोड्नुपर्ने उपप्रमुख रानाले जोड दिइन् ।

त्यसैगरी वडा नं– ६ का वडाअध्यक्ष तारा पोख्रेलले ज्येष्ठ नागरिकहरूको सामाजिक सुरक्षा, स्वास्थ्य सेवा र सम्मानका लागि सरकार र समाज दुवैको सक्रिय सहभागिताको आवश्यकता रहेको बताए । ज्येष्ठ नागरिक दिवसले ज्येष्ठ नागरिकहरूको सम्मान, सामाजिक सुरक्षा र अधिकारको महत्वलाई उजागर गर्दै उनीहरुको जीवन सहज र मर्यादित बनाउन समाज र सरकारले सामूहिक प्रयास गर्नुपर्ने बताए । यस दिनले उनीहरूको योगदानको कदर गर्दै नयाँ पुस्तालाई जिम्मेवार बनाउन प्रेरणा दिने अध्यक्ष पोख्रेलको भनाई थियो ।

नेपालमा मनाइदै आएका हरेक दिवसमा सामाजिक कार्यालय स्याङ्जाले साथ दिदै आएको छ । लुकेका प्रतिभाको खोजी र नखोजिएका मानवीय संवेदनशिलतामा समाजिक विकास कार्यालयले महत्वपुर्ण भुमिका खेल्दै आएको स्थानीयले बताएका छन् । जेष्ठ नागरिक दिवसलाई कार्यालयले अत्यन्तै महत्वमा राखेर मनाइएको पौडेलले बताए ।

प्रतिक्रिया