७ महिनापछी बन्द क्रसर उद्योग खुल्यो

भीरकोट ।

जिल्ला प्रशासन कार्यालय स्याङ्जाले जिल्लामा संचालित विकास निर्माणमा सहजीकरण गरेको छ । प्रशासनले भीरकोट नगरपालिकामा संचालित एकीकृत सहरी पूर्वाधार विकास कार्यक्रममा आवश्यक पर्ने निर्माण सामाग्री आपूर्तिका लागि यहाँको क्रसरमा लगाएको तालाबन्दी खोलिदिएको छ । दर्ता नगरी÷अनुमती नलिइ संचालन गरेको भन्दै जिल्ला प्रशासन कार्यालय स्याङ्जाले गत असार १ गते भुसाल इन्टरप्राइजेजको स्वामित्वमा रहेको क्रसरमा तालाबन्दी गरेको थियो ।

सहायक प्रमुख जिल्ला अधिकारी दिपक पौडेलले निर्माण व्यवसायी, नगरपालिका र संघीय सहरी विकास तथा भवन निर्माण पोखराले भीरकोटको उक्त आयोजना निर्माणका लागि क्रसर संचालन गर्न अनुमती मागेपछि प्रशासनले ताला खोलेको जानकारी दिए । “योजनाका लागि आवश्यक पर्ने निर्माण समाग्री आपूर्तिका लागि मात्रै २० महिनासम्म क्रसर संचालन गर्न अस्थायी अनुमती दिइएको हो । तोकिएको योजना बाहेक अन्यन्त्र आपूर्ति वा बेचबिखन गरेको पाइएमा कानुनबमोजिम कारबाही हुन्छ।” सहायक प्रजिअ पौडेलले भने, “यसको अनुगमन जिल्ला प्रशासन, भीरकोट नगरपालिका र संघीय सहरी विकास तथा भवन निर्माण कार्यालय पोखराले पनि गर्छ।”

योजनाको लागि २ हजार ३ सय ५ घनमिटर ढुङ्गाको काम, १ सय ४१ घनमिटर आरसीसी काम, २ हजार ४३ घनमिटर बेस र ३ हजार १ सय ८० घनमिटर सब बेसको लागि सामाग्री आवश्यक रहेको आयोजनाका इन्जिनियर अच्युत पौडेलले जानकारी दिए । निर्माण कम्पनी ग्र्याण्ड एस के एण्ड शिव जेभी काठमाडौंले भ्याट सहित ८ करोड २४ लाख ५५ हजार ५ सय ५६ रूपैयाँको लागतमा भीरकोटमा सडक पूर्वाधार र अन्य निर्माणको काम गरिरहेको छ। यही असार ६ गते सम्झौता भै काम भैरहेको यो योजना २०८२ फागुन ५ गते भित्र सम्पन्न हुने बताइएको छ । योजना अन्तर्गत भीरकोट नगरपालिकाको वडा नं. १, ६ , २ र ८ मा सडक तथा अन्य पूर्वाधार निर्माणको काम भैरहेको छ । स्थानीय निर्माण व्यवसायीको अवरोधका कारण ठेक्का पाएको निर्माण कम्पनीले काम गर्न नसकेपछि स्थानीय भूसाल इन्टरप्राइजेजले निर्माण कम्पनीसँग सम्झौता गरि योजनाको काम अगाडि बढाइरहेको छ।

प्रतिक्रिया