गल्याङ नगरले भन्यो — बचत फिर्ता नदिए उजुरी दिनुहोस !

स्याङ्जा ।
गल्याङ् नगरपालिकाले सहकारीहरुले बचत फिर्ता नदिएमा निवेदन सहित गुनासो दर्ता गर्न सार्वजनिक सूचना जारी गरेको छ । सहकारी ऐन २०७४ को दफा ४३ बमोजिम सहकारीमा जम्मा गरेको रकम बचतकर्ताले माग गरेमा सावाँव्याज सहित फिर्ता दिनुपर्ने व्यवस्था रहेको उल्लेख गर्दै नगरपालिकाले बचत नपाएमा उजुरी दर्ता गर्न सूचना जारी गरेको नगरपालिकाले जनाएको छ ।

उजुरी दर्ता गर्दा नागरिकताको प्रतिलिपी, सहकारीमा बचत गरेको आवद्यिक कागतजात र सहकारीमा बचत फिर्ता पाउँ भन्ने निवेदनको प्रतिलिपी बुझाउनु पर्ने उल्लेख गरेको छ । यसले गल्याङ नगरपालिकाका सहकारी बचकर्ताहरु खुशी भएका मात्रै छैनन् सहकारीहरुबाट नठगिनेमा ढुक्क रहेका छन् । केही पालिकामा सहकारीका बचतकर्ताले बचत रकम फिर्ता नपाएर समस्या झेलिरहेका बेला गल्याङ नगरपालिकाले यो कदम चल्नु निकै प्रशंसनीय रहेको बताइएको छ । स्याङ्जाका ११ पालिका मध्ये गल्याङ नगरपालिकाले सहकारीले बचत फिर्ता नदिएमा उजुरी दिन र पौष मसान्तभित्र साधरणसभा सम्पन्न गरी प्रतिवेदन बुझाउन निर्देशन दिने पहिलो पालिका हो । अन्य पालिकाले सहकारी ऐन अनुसार सामान्य बिषयमा समेत चासो दिन सकेका छैनन ।

सहकारीहरुले हरेक आर्थिक बर्ष शुरु भएको ६ महिना भित्र पौष मसान्तसम्म प्रगति विवरण प्रतिवेदन बुझाउनु पर्ने व्यवस्था सहकारी ऐनले तोकेको छ । आफ्नै मातहतमा रहेका सहकारीहरुले प्रतिवेदन नबुझाउदा सहकारी सक्रिय छन् वा छैनन् भन्ने बिषयमा स्थानीय सरकारहरु बेखबर छन् । सहकारी ऐन २०७४ को दफा ५२ ले सहकारीहरुले हरेक आर्थिकबर्ष शुरु भएको ६ महिना भित्र लेखा परीक्षण सहित बार्षिक प्रतिवेदन बुझाउनु पर्ने उल्लेख छ । यो ऐनलाई लागु गर्न गल्याङ् नगरपालिकाले सक्रियता देखाएको छ । गल्याङ्मा १०६ ओटा सहकारीहरु दर्ता छन् । सहकारीहरुले बार्षिक प्रतिवेदन बुझाउने व्यवस्था अनुसार गतबर्ष २१ सहकारीले मात्र बार्षिक प्रतिवेदन बुझाएका छन् ।

गल्याङ् नगरपालिकाको सहकारी शाखामा ८५ शाखाले प्रतिवेदन नबुझाएको तथ्याङ्क छ । दर्ता गर्ने तर सहकारी संचालन गरे वा नगरेको भन्ने बारे अन्योल भएपछि गल्याङ् नगरपालिकाले एक सूचना जारी गरेर पौष मसान्तभित्र सबै सहकारीहरुले साधरणभा सम्पन्न गर्न र १५ दिनभित्र विवरण खुल्नेगरी पेश गर्न आब्ह्रान गरेको छ । गल्याङ नगरका सहकारी शाखा प्रमुख थानपति न्यौपानेले सहकारी ऐन २०७४ अनुसार नगरभित्र दर्ता भएका सबै सहकारीहरुले साधरणसभा सम्पन्न गरी साधरणसभाको प्रमाणित प्रतिलिपि, सबै संचालक समितिको दस्खत र सहकारीको छाप सहित प्रतिवेदन बुझाउन १५ दिनको समयावधी दिएको बताए ।

पछिल्लो समय सहकारीहरुको गतिविधिमा प्रश्न चिन्ह्र खडा हुन थालेपछि नगरपालिकाले कडाई गर्न थालेको उनले बताए । कुनै बेला धमाधम सहकारीहरु दर्ता भए उनले भने,‘कसैका विधान छन्, कसैका छैनन् अब नियमानुसार हुनेछन् ।’ अहिलेसम्म कुनै सहकारीको उजुरी नगरभित्र नपरेपनि अब गल्याङ्का सहकारीहरु ऐन अनुसारको पद्धतिमा लाने प्रयास शुरु गरेका छौं उनले भने । काम गर्न पनि कठिनाई रहेको छ उनले भने,‘कर्मचारीको अभावका कारण सहकारीको अनुगमन गर्न पनि समस्या छ ।’ एउटै कर्मचारीले सबैकुरा हेर्नुपर्दा पनि सहकारीहरुको नियमनमा कठिनाई भएको छ उनले भने । गल्याङ्मा बचत तथा ऋण २२, कृषि ३९, बहुउदेश्यीय १३, दुग्ध १२ र अन्य २० गरी १०६ सहकारी दर्ता रहेको तथ्याङ्क छ । तर अहिलेसम्म सहकारीका बिषयमा कुनै जटिल समस्या नभएको शाखाले जनाएको छ ।

गल्याङ नगर प्रमुख गुरुप्रसाद भट्टराईले सहकारीको समस्याका बारेमा गुनासो नआएपनि स्थानीय सरकारले गर्नुपर्ने दायीत्वमा चासो दिएको बताए । पहिलोपटक सूचना मार्फत नगरभित्रका सबै सहकारीहरुलाई सहकारीको सिद्धान्त अनुरुप संचालन गर्न अनुरोध गरेका छौं उनले भने,‘साधरणसभा पनि नगर्ने, प्रतिवेदन पनि नबुझाउने सहकारीहरु खारेजी प्रक्रियामा अगाडी बढाउछौं ।’ नगरभित्र रहेका सहकारीहरुलाई सहकारी ऐन अनुसार संचालन गर्न लगाई अनुशासित बनाउने प्रयास अब रोकिदैन उनले भने । केही सहकारीमा बचत फिर्ता नदिएको मौखिक गुनासो आएपनि अहिले सम्म उजुरी भने दर्ता नभएको उनले बताए । नगरपालिकाले जारी गरेको सूचना र परिपत्रले कुनै सहकारीले बचत फिर्ता नदिएको भएपनि समाधान हुने नगरपालिकाले विश्वास लिएको छ ।

प्रतिक्रिया