प्याब्सन स्याङ्जाको अध्यक्षमा गोदार निर्वाचित

स्याङ्जा ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल ( प्याब्सन ) स्याङ्जाको १५औं अधिवेशन शनिबार सम्पन्न भएको छ । अधिवेशनबाट सर्वसम्मत रुपमा कार्यसमिति चयन भएको छ । नयाँ कार्यसमितिमा राजेन्द्र गोदार अध्यक्ष, यामप्रसाद डुम्रे बरिष्ठ उपाध्यक्ष, तेजन राना उपाध्यक्ष, हरिप्रसाद अर्याल सचिव, मेकराज केसी कोषाध्यक्ष, सोमुमाया राना सहसचिव र टेकराज सुवेदी सहकोषाध्यक्ष छानिएका छन् । यस्तै गरेर सदस्यहरुमा मनोज खड्का, स्मृति काफ्ले, सुवर्ण लुइटेल, साजन परियार, ध्रुवबन्धु पौडेल, द्रबेन्द्रदेव खनाल, हरि प्रसाद अधिकरी, दुर्गा प्रसाद भट्टराई , गिरिराज वाग्ले (बिमल) र रामकृष्ण सुबेदी छानिएका छन् ।

प्याब्सन स्याङ्जाका अध्यक्ष मेघराज गैह्रेको अध्यक्षता तथा प्याब्सनका केन्द्रीय उपाध्यक्ष कृष्ण अधिकारीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा शुभकामना मन्तव्य राख्दै कार्यक्रमका प्रमुख अतिथि अधिकारीले निजी विद्यालय सञ्चालकहरु भौतिक निर्माणमा भन्दा पनि मानवीय स्रोत साधनको विकासमा लाग्न जोड दिए । उनले नेपालको वर्तमान शिक्षाको अवस्था हेर्दा अबको दश बर्षमा विद्यालयमा पढ्ने विद्यार्थी मात्रै नभई शिक्षक पनि पाउन मुस्किल हुने बताए ।

अधिकारीले वर्तमान पुस्ता उज्वल भविष्यको खोजिमा बिदेशिएको अवस्थामा निजि विद्यालय सञ्चालकहरुले विश्वस्तरको शिक्षा प्रणालीको बिकास गरेर बिदेशी विद्यार्थीहरुलाई समेत ल्याउन सके मात्र शिक्षा क्षेत्र धरासायी नहुने बताए । जिल्लाका प्याब्सनिष्टहरुलाई सम्बोधन गर्दै अधिकारीले प्याब्सनको केन्द्रिय समितिले सरकारले बनाउने हरेक शिक्षा नियमावली र नीतिहरुमा निजि विद्यालय सञ्चालकको हक अधिकारका लागि लडिरहेको बताउँदै ढुक्क भएर विद्यालय सञ्चालन गर्न आग्रह गरे । कार्यक्रमका प्रमुख अतिथि कृष्ण अधिकारीले प्याब्सन स्याङ्जाको भवनको समेत शिलन्यास गरेका छन् ।

कार्यक्रममा प्याब्सनका केन्द्रिय उपाध्यक्ष अधिकारी सहित पुतलीबजार नगरपालिकाका उपप्रमुख देवी अर्याल, शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख विश्वराज आचार्य, नेपाली काँग्रेसका भरत लम्साल, नेकपा एमालेका अमृत श्रेष्ठ, रास्वपाका विश्वास भण्डारी, समाजवादीका विष्णु गिरी, प्याब्सन गण्डकी प्रदेशका सल्लाहकार अमृत अर्याल, पूर्व केन्द्रिय उपाध्यक्ष पुष्पराज बराल, पूर्व केन्द्रिय सदस्य ध्रुवप्रसाद शर्मा पंगेनी, नागरिक समाजका ओमप्रकाश शर्मा, पूर्व जिल्ला अध्यक्ष हर्कबहादुर कार्की, रेडियो स्याङ्जाका अध्यक्ष ध्रुववन्धु पौडेल, कोशेली पब्लिकेशनका गोपाल ध्वजु लगायतले निजी विद्यालयको योगदानको बारेमा बोलेका थिए ।

कार्यक्रममा प्याब्सन स्याङ्जाका पूर्व अध्यक्ष बुद्धीसागर त्रिपाठी र पुष्पराज बराललाई सम्मान गरिएको थियो । प्याब्सन स्याङ्जाका वरिष्ठ उपाध्यक्ष राजेन्द्र गोदारको स्वागत मन्तव्य रहेको कार्यक्रमको सहजीकरण प्याब्सनका जिल्ला सचिव लेखनाथ रेग्मीले गरेका थिए । कार्यक्रममा जिल्लास्थित संस्थागत विद्यालयका सञ्चालकहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

प्रतिक्रिया