वालिङमा सञ्चार र सामाजिक संजालको प्रभावकारिता विषयक अभिमुखीकरण

गोपाल जिटी,
वालिङ ।
स्याङ्जाको वालिङमा सञ्चारको महत्व र सामाजिक सञ्जालको प्रभावकारिता विषयक अभिमुखीकरण कार्यक्रम गरिएको छ । नेकपा एमाले वालिङ नगर कमिटीको आयोजना र प्रेस चौतारी नेपाल स्याङ्जाको सहजिकरणमा अभिमुखी कार्यक्रम गरिएको हो । कार्यक्रममा नगर भित्रका एमाले अगुवा कार्यकर्ता एवम् पत्रकारहरुको सहभागिता रहेको थियो ।

कार्यक्रमको शुभारम्भ गर्दै नेकपा एमाले गण्डकी प्रदेश सचिव धनञ्जय दवाडीले एमालेका कार्यकर्ताहरु अध्ययनशिल हुनुपर्ने बताए । अध्ययन गर्ने बानीले मात्रै सहि र गलत छुट्याउन सकिने उनको भनाई थियो । पछिल्लो समय सामाजिक सञ्जालको प्रभावमा परेको देखिएको उल्लेख गर्दै गण्डकी प्रदेश सचिव दवाडीले त्यस्ता कुरामा विश्वास गर्ने र तत्कालै आफ्नो विचार राख्नुभन्दा पहिले सहि र गलत पहिचान गर्न जरुरि रहेकोमा जोड दिए ।

अहिले नेकपा एमाले प्रति भ्रम छरेर चौतर्फी रुपमा आक्रमण गर्ने प्रयास भइरहेकोले यसको सबै नेता एवं कार्यकर्ताहरुले प्रतिवाद गर्नुपर्नेसमेत उनले औंल्याए । धेरैपटक धेरै कुरा सुनियो र हेरियो भने उनले भने, ‘झुट कुरालाई पनि साँचो हो कि जस्तो लाग्न सक्छ । यस्ता खाल्का कुराहरुलाई प्रतिवाद गरेर जनतालाई सहि सूचना दिनुपर्छ ।’ सामाजिक संजाललाई दुरुपयोग भन्दा पनि सदुपयोग गर्नुपर्ने उनको सुझाव छ ।

कार्यक्रममा प्रेस चौतारी नेपाल कास्कीका पूर्व अध्यक्ष एवं केन्द्रीय सदस्य दिपेन्द्र श्रेष्ठले प्रशिक्षण दिएका थिए । अहिले बढ्दै गएको सञ्चार प्रविधिको युगमा यसको महत्व र प्रभावकारिताका बारे जानकारी लिनुका साथै सहि रुपमा सदुपयोग गर्नुपर्ने विषयमा सहभागीहरुलाई प्रशिक्षण दिइएको थियो ।

सामाजिक सञ्जालमा आएका सबै कुराहरु सत्य हुन्छन भन्ने नरहेको र ती विषयवस्तुहरुलाई तथ्य जाँच गरेर मात्रै आफ्नो प्रतिक्रिया जनाउनु पर्नेमा प्रशिक्षक श्रेष्ठले जोड दिए । आफ्ना कुराहरु सकारात्मक रुपले प्रस्तुत गर्दै पार्टी गतिविधिलाई चलायमान बनाउने उद्देश्यले अभिमुखीकरण कार्यक्रमको आयोजना गरिएको वालिङ नगर कमिटीका अध्यक्ष शोभाकान्त पौडेलले बताए । हाम्रो पार्टीले गरेका कामका बारेमा सञ्चार माध्यम र विभिन्न सामाजिक सञ्जाल मार्फत आम नागरिकलाई जानकारी दिन अभिमुखिकरण कार्यक्रम गरेका हौ उनले भने, ‘यसले पार्टीका गितिविधिहरुलाई प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका खेल्नेछ ।’ सामाजिक संजालको सदुपयोग भन्दा दुरुपयोग गर्ने बढी हुदा यसप्रति सजग हुनुपर्ने सुझाव उनको छ ।

प्रतिक्रिया