‘होमस्टे’ संस्कृति र प्रकृति देखाउने माध्यम हो !

उर्मिला गुरुङ,
उपाध्यक्ष,
होमस्टे एशोशिएसन अफ नेपाल ।
नेपालमा होमस्टेको इतिहास लामो छैन । यो अभियानले गति लिएको २ दशक पनि भएको छैन । ʻपर्यटनका लागि संगसंगै’ भन्ने नारासहित ‘नेपाल पर्यटन वर्ष–२०११’ पश्चात नै होमस्टेले गति लिएको हो । त्यसो त कोहि पाहुनाको स्वागत सत्कार गर्नु नेपालीको संस्कार नै हो तर यहि संस्कारलाई व्यवसायमा रुपान्तरण गरि आयको स्रोत बन्न थालेको छ । अन्य समयमा कम व्यवसाय भएपनि नोभेम्बर र डिसेम्बरमा नेपालका ठुला साना होटलहरु ʻहाउसफुल’ नै हुने गर्छन । नोभेम्बर र डिसेम्बरमा कतिपय पर्यटकहरुले रुम नपाएर आफ्नो नेपाल भ्रमण रद्द गर्नुपरेको स्वयम होटल व्यवसायीहरु नै बताउछन । यस्तोमा नेपालमा व्यवसायीकरण हुने क्रममा रहेको होमस्टेको भूमिका के हुन्छ भन्नेबारे पब्लिक आवाज पत्रिकाका सम्पादक अमृत अर्यालले होमस्टे एशोशियसन अफ नेपालका उपाध्यक्ष तथा स्याङ्जाको सिरुबारी होमस्टेका संचालक उर्मिला गुरुङसँग गरेको कुराकानीको सम्पादित अंशः
१. उर्मिला जी आराम हुनुहुन्छ ?अहिले होमस्टे बिदेशी मात्र नभई स्वदेशी पर्यटकको लागि समेत चाँसोको बिषय बनेको छ, यहाँको बुझाईमा नेपालमा होमस्टेको इतिहास कति लामो छ ?
धन्यवाद, नमस्कार । म आरामै छु । नेपालमा होमस्टेको संगठनात्मक आन्दोलन र अभियान त्यति लामो छैन । २०५४ मा सिरुबारीबाट स्वर्गीय रुद्रमान गुरुङ र २०५५ मा घलेगाउँबाट सुरु गरिएको होमस्टे आन्दोलन २०६७ मा घोषणा भएको पर्यटन वर्ष र सोही वर्ष सरकारले होमस्टे सञ्चालन कार्यविधि ल्याएपछि संस्थागत भएको हो। होमस्टे भनेका ग्रामिण पर्यटनका अगुवा बनेका छन् । गाउँमा गएपछि संस्कृति र प्रकृति दूवै देख्न पाइने हुनाले ग्रामिण क्षेत्रमा आन्तरिक पर्यटक बढेका छन् । होमस्टे पर्यटकलाई सेवा दिने, रमाउने वाताबरण बनाईदिने काममा लागेका छन् । नेपालको ग्रामिण अर्थतन्त्रमा होमस्टेको महत्वपूर्ण योगदान रहेको छ । नेपालका सबैजसो जिल्लामा होमस्टेको संभावना धेरै छ । ग्रामिण महिलाहरुको अर्थोपार्जनको मुख्य स्रोत होमस्टे नै हो । स्याङ्जाको सिरुवारी नै नेपालको पहिलो होमस्टे हो । मुलुककै पहिलो पर्यटन गाउँको रुपमा स्वदेशमा मात्र होइन, विदेशमा समेत यसले ख्याती कमाएको छ ।
२. दक्षिण एशियाकै पहिलो होमस्टे सिरुबारीको प्रभाव देशैभरी परिरहदाँ तपाईको छरछिमेकमा यसको प्रभाव किन परेन ? तपाई होसानको केन्द्रिय उपाध्यक्ष हुदैगर्दा जिल्लाका अन्य होमस्टेहरुको प्रवर्धनमा किन चासो नदेखाएको ?
होइन, यसको प्रभाव छरछिमेकमा अवश्य परेको छ । देशका विभिन्न भाग हुदैं बुटवल, पोखरादेखि यहाँसम्म आउने पर्यटकले गर्दा अन्य ठाउँको व्यापार व्यावसाय बढेको छ । यहाँ आउने धेरैजसो पर्यटक अर्जुनचौपारीको थाप्लेमा रहेको बुद्धको मूर्ति हेर्न जानुहुन्छ । केही डहरे देउरालीसम्म पुग्ने गर्नुभएको छ । हामीले यहाँ नअटाएका पाहुनाहरुलाई छिमेकी गाउँमा पठाउने गरिएको छ । होमस्टेकै प्रभावले प्रत्येक दिन यहाँको पञ्चेबाजाको टोलीले १५÷२० हजार कमाउँछन् । अनि तपाई होसानको केन्द्रिय उपाध्यक्ष हुदैगर्दा अरुलाई केही गर्नुभएन भन्ने सन्दर्भमा मैले आफ्नो दक्षताले भ्याएसम्म अरु होमस्टेलाई पनि थोरैधेरै योगदान पु¥याएकी छु । होमस्टे संचालक तथा त्यहाँको समुदायले पनि चासो देखाउनुप¥यो नि । होमस्टेको नाममा सरकारी बजेट ल्याउने काम मात्र गर्नुभएन । म होसानको केन्द्रिय उपाध्यक्ष भएपनि पहिले त आफ्नै होमस्टेलाई बढी प्राथमिकता दिएको यथार्थ हो । तर होमस्टे संचालक समुदाय तथा साथीहरुले पनि सिरुवारीको रिस नगर्नु, देखासिकी गर्नु भन्न चाहन्छु ।
३. अर्थतन्त्रमा होमस्टेको योगदान चाँही के त ? सिरुबारी होमस्टेले स्याङ्जाको सुन्तला र पर्यटनलाई जोड्न किन सकेन ?
गाउँमा चलेका होमस्टेले केवल पर्यटक लगेका मात्रै छैनन् । यसले स्थानीय उत्पादनको खपत बढाउनुका साथै गाउँका नागरिकको जीवनस्तर समेत उकास्न मद्दत गरेको छ । छिमेकीको करेसामा फलेको साग, काउली आफ्नो बारीमा फलेको मकै, कोदो लगायतका अर्गानिक उत्पादन खुवाएका छन् । यसबाट स्वभावैले आर्थिक उपार्जन भएको छ । यसबाट वरीपरीको समाजले पनि लाभ लिएको छ । हाम्रा गाउँले दाजुभाई दिदी बहिनीहरु २–४ पैसा खेलाउन सक्ने भएका छन् । विस्तारै जीवनस्तर उठाउन यसले भूमिका खेलेको छ । ग्रामिण पर्यटनको नेता भनेकै होमस्टे हो । यसले महिला सशक्तिकरणमा योगदान पु¥याएको छ । महिलाहरु आर्थिक रुपमा आत्मनिर्भर भएका छन् । त्यसैले होमस्टे संचालन गरेका महिलालाई कसैले हेप्न सकेको छैन । सिरुवारीकै कुरा गर्दा यहाँ दैनिक ५ लाखसम्म भित्रिने गरेको छ । हामीले प्रत्येक वर्ष राज्यलाई कर पनि तिरेका छौं । अर्काे प्रसंगमा हामीले यहाँको सुन्तला र पर्यटनलाई जोड्ने प्रयास गर्दैछौं । हामीले चिस्यान केन्द्रको समेत माग गरेका छौं । अब चिस्यान केन्द्र बन्दैछ । सुन्तला लगायत स्थानीय उत्पादनलाई व्यवस्थित तरिकाले बेच्न कोसेली घरको संचालन गर्ने योजनामा छौं ।
४. होमस्टेमा बस्ने पर्यटकले त्यहाँको संस्कार र सस्कृति देख्न रुचाउँछन, तर सिरुबारीमा त पर्यटकलाई भुलाउन रेकडिङ संगीतको प्रयोग गरिन्छ भन्ने छ नि ? यहाँको विशेषता के हो र ?
हिजो आफ्ना परम्परागत बाजा बज्न छोडेका थिए । अहिले गाउँमा पर्यटक आउने भएपछि ती बाजाहरुको आवाज सुन्न थालिएको छ । हिजो आफ्ना परम्परागत भेषभूषा लगाउन छोडिएको थियो, आज पर्यटक आउने भएपछि लगाउन थालिएको छ । आज गुरुङहरु मारुनी नाच नाच्छन् । सबै समुदाय आफ्नो संस्कृति अनुसार रमाइलो गर्ने पद्धतिको विकास भएको छ । यी परम्परा हिजो लोप हुने अवस्थामा थिए । तर गाउँगाउँमा होमस्टे सञ्चालन हुन थालेपछि हाम्रा संस्कार संस्कृतिले पुनर्जीवन पाएका छन् । यो हेर्न पनि पर्यटक आउँछन् । होमस्टेका प्रणेता रुद्रमान बुवाको मृत्यूपछी नयाँ पुस्ताले झोरा र सोरठी सिक्न चाहेनन् । त्यसपछी म आफै लागिपरेर नयाँ पुस्तालाई सिकाउन थालेकी छु । यहाँ आउने पाहुनाहरुले नै रेकडिङ संगीतमा रुची राखेकाले पनि यसो गरिएको हो । यहाँको विशेषता नै गुरुङ संस्कृति हो । पाहुनाहरुलाई पञ्चेबाजाले स्वागत गरिनु, सबै ढुंगाले मात्रै बनेका बाटोघाटो र ढुंगैको छाना भएका घरहरु नै यसको मुख्य विशेषता हो । नेपालमा सामुदायिक होमस्टे सुविधासहित ग्रामिण पर्यटनको अभ्यास सिरुबारीबाटै शुभारम्भ भएको हो ।
५. होटलको विकल्प होमस्टे हो कि होईन ?अनि सिरुबारी होमस्टे कहाँ कहाँ बाट पुग्न सकिन्छ ?
होमस्टेमा बस्ने पर्यटक र होटलमा बस्ने पर्यटक भिन्दाभिन्दै हुन्् । उनीहरुको चाहाना नै फरक हुन्छ । होमस्टेमा बस्न आएकाहरु हेटलमा जाँदैनन र होटलमा आएकाहरु हेमस्टेमा आउँदैनन् । त्यसैले होमस्टे होटलको विकल्प होईन । होमस्टे बढेकाले होटलमा बस्ने पर्यटक घटे भन्नु पनि सत्य होईन । होमस्टे त आत्मियता महशुस हुने आफ्नै घर हो । हामेस्टेमा हामीले पाहुनासगँ दुखसुख साटासाट गर्छौ । यहाँ आ आफ्ना संस्कार र संस्कृतिको समेत साटासाट ह’ने गरेको छ । पोखराबाट ४५ किमीको छोटो दुरीमा स्याङ्जाको नागडाँडाबाट सेतीदोभान हुदै ग्रामिण पर्यटनको पाठशाला सिरुवारी पुग्न सकिन्छ । बुटवलबाट आउनेहरुलाई हेलु अर्जुनचौपारी हुदै आउन पनि मिल्छ । स्याङ्जा सदरमुकामबाट सतौं दरौं हुदै तथा पर्वतको कार्कीनेटाबाट पनि यहाँ सजिलै आउन सकिन्छ ।
६. सिरुबारी होमस्टेले कति जनालाई रोजगारी दिएको छ त ? अनि सरकारी सहयोग कत्तिको पाउनुभएको छ ?
यहाँका २२ घरहरुले पर्यटक पालेका छन् । हामीले प्रत्यक्ष रुपमा ६० जनालाई रोजगारी दिएको अवस्था छ । अहिले होमस्टेले गर्दा बसाई सराई रोकिएको छ । हरेक वर्ष ५÷१० लाख सरकारी सहयोग प्राप्त पनि भैराखेको छ । पूर्वाधार निर्माण लगायत अन्य कामलाई हामीले सरकारको मुख मात्र ताकेर बसेका छैनौं । हाम्रै आन्तरिक श्रोतबाट पनि धेरै काम सम्पन्न गरेका छौं । हामी अप्रत्यक्ष रोजगारीसँगै वरिपरिका समुदायलाई आर्थिक उन्नयनको प्रयास गरेका छौं । सिरुबारी सामुदायिक होमस्टेले सबैको सहयोग प्राप्त गरेको छ ।
७. सिरुबारी वरपरका पर्यटकीय स्थलहरु के के हुन् ?
नेपालको पर्यटन इतिहासमा सिरुबारी गाउँको नाम सुनौला अक्षरले लेखिएको छ । यो १६१० मिटरको उचाईमा रहेको छ । यहाँबाट २० मिनेटको दुरीमा भ्यूटावर सहितको ओलीबास डाँडा रहेको छ । यहाँको गुरुङ संग्राहलय, २१०० मिटरको उचाईमा रहेको डहरे देउराली, जिल्लाकै अग्लो पहाड थुम्रो चुरो लगायतका स्थानहरु पर्यटकीय स्थलका रुपमा रहेका छन् । यी सबै ठाउँ घुम्नका लागि कम्तिमा २ रातको प्याकेज लिएर आउँदा जाती हुन्छ ।
८. सिरुबारी होमस्टेको चर्चा व्यापक तर क्षेत्र साँगुरिदैं गएको, यूवा पलायन रोक्न नसकेर बुहारीहरुले मात्र चलाएको भन्ने सुनिन्छ नि ! वास्तविकता के हो ?अनि होमस्टेमा आउने पर्यटकबाट सुरक्षाको खतरा चाँही हुन्छ कि हुँदैन ?
धन्न बुहारीले भएपनि धानेका छन भन्न प¥यो नि । गाउँ पर्यटनको नायक रुद्रमानले यत्तीको गरिदिनुभएको थियो र गाउँ शून्य भएको छैन । बुवा रुद्रमान बितेको १ वर्षपछी म आफै नाचेर बुहारीहरुलाई नाच्न सिकाए । बन्द भएका घरहरुमा होमस्टे संचालन गर्ने वातावरण मिलाए । अहिले युवाहरु गाउँ फर्केर आउने क्रम शुरु भएको छ । अहिले हाम्रो गाउँमा युवाले मासिक १ लाख कमाउन सक्छन् । साँस्कृतिक टिममा बस्नेले त अझै धेरै कमाउँछन् । जिम्मेवारी लिएर गाउँमै बस्दा युवालाई पनि आयआर्जनमा जोड्न सकिन्छ । अब हामीले सिरुबारी पर्यटन पार्क निर्माण गर्दैछौं । सो पार्क दलित बस्ती भन्दा माथी बन्दैछ । यसले त्यहाँका दलितहरुलाई पनि आयआर्जनमा टेवा पुग्ने विश्वास गरिएको छ । गाउँमा बसेका युवालाई पागल भन्ने गलत अबधारणा बढेकाले पनि गाउँमा भनेजति युवा रोक्न सकिएन् । सुरक्षाको कुरा गर्दा अहिलेसम्म त्यस्तो खतरा भएको छैन । नियम र आचारसंहिताले गर्दा सबैलाई बाँधेको छ । रातभरी पिउन र खान पाईदैन् । राती १० बजेपछी साँस्कृतिक कार्यक्रम बन्द हुनेछ । नियमको परिधिभित्र रहेकाले र सभ्य नागरिक भएकाले अहिलेसम्म त्यस्तो अप्रिय केही भएको छैन ।पर्यटकलाई देखेपछि टाढैबाट नमस्ते गर्ने, हाँस्ने हाम्रो परम्परा संस्कार नै हो । अब आउन त विभिन्न स्वभाव भएका मानिस आउँछन्, तैपनि हामी समालेरै राखेका छौं ।
९. अहिले सरकारले होमस्टेलाई कसरी हेरेको पाउनुहुन्छ ?
होमस्टेको विकास गर्न, सञ्चालित होमस्टेलाई सम्पन्न बनाउन सरकारको जुन किसिमको तत्परता हुनुपथ्र्यो त्यो दखिएको छैन । कही कतै पर्यटन बोर्डले सामान्य तालिम दिएको छ । तर पछिल्ला वर्षहरुमा ग्रामिण पर्यटनको नेतृत्व र अगुवाई गरिरहेका होमस्टेको विकासमा सरकारी स्तरबाट महत्वपूर्ण पहलकदमी हुन थालेको छ । यहाँ भाषण गर्दा होमस्टे कि होमस्टे भनिन्छ । तर ऐन बन्दा, नियम बन्दा, कार्यविधि बन्दा त्यसैलाई उपेक्षा गरिन्छ । पर्यटन क्षेत्रको कान्छो संस्था हो यो एशोशियसन, तर आकर्षक छ । हामीले सरकारलाई यसै नछोड्नुस, यसलाई पनि साथसाथै लिएर हिड्नुस् भनेका छौँ । पछिल्लो समय गण्डकी प्रदेशमा धेरै नै होमस्टेका पूर्वाधारहरु निर्माण भैराखेका छन् । अहिले कार्यविधि अनुशार संचालन भैराखेका होमस्टेहरुलाई सरकारले पनि टेवा पु¥याएको देखिन्छ । हिजो रुद्रमानलाई पागल भन्नेहरु पनि थिए । तर आज सरकारले बल्ल यसको महत्व बुझेको छ र ध्यान पनि दिएको छ । गण्डकी प्रदेश सरकारले त झनै बढी होमस्टेलाई प्राथमिकता दिएको पाईन्छ । कहिकतै भने होमस्टेको रकम दुरुपयोग भएको सुन्दा दुख लाग्छ ।
१०. अन्त्यमा पब्लिक आवाजमार्फत आम नागरिकहरुलाई के भन्न चाहनुहुन्छ ?
पब्लिक आवाजको माध्यमबाट म सबैलाई यो अनुरोध गर्न चाहन्छु कि देशको भौगोलिक विविधता र प्रकृतिबाट फाईदा लिनुस् । हिजो ०४८ सालमा अनकन्टार मानिएको सिरुबारीमा त पर्यटक पुग्न संभव रहेछ भने तपाई हाम्रो इच्छा भए जे पनि संभव छ भन्न चाहन्छु । अबको विकास गाउँमा केन्द्रित हुनुपर्छ । सबै आमाबुवा, दिदिबैनी तथा दाजुभाईहरुलाई अब कृषि र पर्यटन सँगै जोड्न अनुरोध गर्दछु । साथै आफ्नो संस्कृति जोगाई कलाको माध्यमबाट यसलाई बिक्री गरौं भन्न चाहन्छु । अन्त्यमा, यो अवसरका लागि मोफसलको लोकप्रिय मिडिया पब्लिक आवाजलाई धन्यवाद दिन चाहन्छु ।
प्रतिक्रिया