विद्यालयको सबै कुराको जिम्मेवारी प्रधानाध्यापकले लिनुपर्छ

मुक्तीप्रसाद रेग्मी
प्रधानाध्यापक
त्रिभुवन आदर्श नमूना मा.वि., स्याङ्जा

अधिकांश सामुदायिक विद्यालयको शैक्षिक, भौतिक एवम् अन्य पक्षहरु कमजोर छन् । सामुदायिक विद्यालयको शैक्षिक एवम् भौतिक पक्षहरुको व्यवस्थापनको लागि प्रधानाध्यापकको भूमिका महत्वपूर्ण हुन्छ । विद्यालयको सबै पक्षको समन्वयकर्ता र व्यवस्थापकीय जिम्मेवारीसहित पठनपाठनमा पनि संलग्न हुनुपर्ने प्रधानाध्यापक कुशल र लगनशील भयो भने सामुदायिक विद्यालय पनि अब्बल बन्नसक्छ । सामुदायिक विद्यालयको शैक्षिक, भौतिक अवस्थाका साथै विद्यालय र समुदायको सम्बन्धको बारेमा त्रिभुवन आदर्श नमूना माध्यामिक विद्यालय पुतलीबजार स्याङ्जाका प्रधानाध्यापक मुक्तीप्रसाद रेग्मीसँग पब्लिक आवाजका सम्पादक अमृत अर्यालले गरेको कुराकानी ः

१. हेडसर आराम हुनुहुन्छ ? प्रधानाध्यापकको विद्यालयभित्रको भूमिका र जिम्मेवारी के कस्तो रहन्छ ?

नमस्ते, आरामै छु । प्रश्नको लागि धन्यवाद । यहाँले विद्यालयमा प्रधानाध्यापकको भूमिका र जिम्मेवारीको बारेमा प्रश्न राख्नु भएको छ । प्रधानाध्यापक विद्यालयको शैक्षिक नेता हो । जिम्मेवारीको रुपमा हेर्दा विद्यालयको सम्पूर्ण जिम्मेवारी प्रधानाध्यापकको काँधमा हुन्छ । शिक्षा एउटा प्रणाली हो । यस प्रणालीभित्र लगानी, प्रक्रिया र उत्पादन निरन्तर रुपमा चलेको हुन्छ । यसलाई प्रभावकारी रुपबाट संचालन गरी शिक्षामा गुणस्तर कायम गर्नको लागी प्रधानाध्यापकको महत्वपुर्ण भुमिका रहको हुन्छ । यसको लागि प्रधानाध्यापकले विभिन्न भूमिकामा रहेर आफ्नो कार्य सम्पादन गर्नु पर्दछ । जस्तैः– प्रशासकको रुपमा, सुपरिवेक्षकको रुपमा, समन्वयकर्ताको रुपमा, द्वन्द व्यवस्थापकको रुपमा, परामर्शदाताको रुपमा, मार्गदर्शकको रुपमा, मुल्याङ्कनकर्ताको रुपामा, शिक्षकको रुपमा, उत्प्रेरकको रुपमा, योजनाकारको रुपमा, व्यवस्थापकको रुपमा प्रधानाध्यापकले भूमिका निर्वाह गर्नुपर्ने हुन्छ । विद्यालयलाई राम्रोसँग संञ्चालन गर्नको लागि आर्थिक, भौतिक एवं मानवीय स्रोत साधनको व्यवस्थापन गर्नुपर्दछ । विद्यालयमा जति धेरै लगानी गर्न सकियो त्यति नै शौक्षिक गुणस्तर कायम गर्ने सकिन्छ । यसको लागी विद्यालयलाई आर्थिक रुपमा सबल बनाउन सकेमा मात्र विद्यालयको सर्वोपरी विकास गराउन सकिन्छ । यसको लागि आर्थिक स्रोतको पहिचान गरी आर्थिक संकलनको लागि विभिन्न व्याक्ति, संघ संस्थामा गई सहयोग जुटाउनुपर्ने हुँदा प्रधानाध्यापक एउटा ब्यबस्थापक पनि हो भन्ने कुरामा दुईमत छैन ।

२. समग्र विद्यालयमा शैक्षिक वातावरण सृजना गर्नका निम्ती तपाईंले गर्दै आउनु भएका कामहरु के कस्ता छन् ? तपाईंको विद्यालयमा पछिल्लो समयमा के कस्ता प्रविधिमैत्री शैक्षिक गतिविधिहरु संचालनमा रहेका छन् ?

जहाँसम्म समग्र विद्यालयमा स्वच्छ र मर्यादित एवं भयरहित शैक्षिक वातावरण सृजना गर्ने कार्यमा प्रधानाध्यापकको महत्वपुर्ण भूमिका रहन्छ । यस्तो वातावरण सृजना गर्न सकियो भने मात्र शैक्षिक गुणस्तर कायम गर्न सकिन्छ । यस विद्यालयमा शैक्षिक वातावरण सृजना गर्नका निमित्त शिक्षक÷विद्यार्थी आचारसंहिता लागु गरिएको छ । शिक्षकहरुलाई विभिन्न जिम्मेवारी दिइएको छ । जस्तैः–शैक्षिक इन्चार्ज, इन्जिनियरीङ इन्चार्ज, साइन्स इन्चार्ज, अनुशासन इन्चार्ज, अतिरिक्त क्रियाकलाप इन्चार्ज, खेलकुद इन्चार्ज, सरसफाई इन्चार्ज, परीक्षा इन्चार्ज आदी । यसका साथै शिक्षण सिकाइ अरु बढी प्रभावकारी होस भन्नका निमित्त विषयगत समितिहरु बनाइएको छ । शिक्षण सिकाइमा आइपरेका समस्याहरुलाई छलफलमा ल्याई सिकाइमा सहजीकरण गर्नुको साथै ४५ दिन हुने बर्षे विदा मध्ये ३० दिन वा एक महिना पूरा शिक्षण सिकाइ क्रियाकलाप सञ्चालन गरी १५ दिन मात्र वर्षे विदा गर्ने गरिएको छ । यसको लागि शिक्षक कमर्चारीहरुलाई थप सुविधा प्रदान गरिएको छ । आफुले उपभोग गर्न पाउने क्या. वि. पर्व विदालाई समेत बचाएर कम विदा लिने शिक्षक कर्मचारीलाई समेत थप सुविधाको व्यवस्था प्रदान गरीएको हुदाँ शिक्षण सिकाइमा वढी समय दिन सकिएको छ भने विदालाई सुविधा भन्दा पनि सहुलियतको रुपमा लिइएको छ । समय समयमा अभिभावक भेला गराइ अभिभावक शिक्षा दिदै आएको हँदा अभिभावकहरु आफ्नो जिम्मेवारी र कर्तव्यप्रति सजग हुनु भएको छ । अहिलेको समयमा प्रविधिको भरपुरप्रयोग गर्ने समय हो र विद्यार्थीहरु पनि प्रविधिमा नै बढि रमाउन चाहन्छन । विद्यालयमा प्रविधिमैत्री क्रियाकलाप सञ्चालन गर्नको लागि कक्षाकोठाहरुमा प्रजेक्टर जडानका साथै शिक्षकहरुलाई ल्यापटपको ब्यवस्था गरिएको छ । केहि कक्षाकोठाहरुमा स्मार्ट वोर्डको जडान गरी प्रयोगमा ल्याइएको छ । शिक्षकहरुलाई शिक्षण सिकाइमा बढी सजिलो होस भन्नका निमित्त टिचिङ माइक्रोफोनको व्यवस्था गरिएको छ ।

३. तपाई विगत लामो समयदेखी यस विद्यालयको प्रधानाध्यापकको रुपमा कार्यरत हुनुहुन्छ, विद्यालयमा प्रधानाध्यापक हुँदा हालसम्म यहाँको कस्तो अनुभव रह्यो ?

विशेषत म २०५२ साल देखि गणित÷विज्ञान शिक्षकको रुपमा कार्यरत हुदै गर्दा २०७२ बैशाख २९ गतेका दिन झण्डै २० बर्षको शिक्षण अनुभव पश्चात विद्यालयमा प्रधानाध्यापको जिम्मेवारी सम्हाल्ने अवसर मिल्यो । प्रधानाध्यापक आफैमा गरिमामय पद हो । प्रधानाध्यापक भएर अहिलेसम्म आँउदा मेरो पूरा समय शैक्षिक सुधार, भौतिक निर्माण एबम् आर्थिक ब्यवस्थापनमा नै वित्यो । विषेशतः विद्यालय विहानी र दिवा सत्रमा सञ्चालन भएको हुँदा विहानदेखि बेलुकीसम्म पुरै समय विद्यालयमा नै ब्यतित गर्छु । शैक्षिक गुणस्तर कसरी कायम गर्न सकिन्छ र कसरी राम्रो नतिजा ल्याउन सकिन्छ भनि हरेक बर्ष शिक्षक, विद्यार्थी, अभिभावक÷विद्यालय व्यवस्थापन समिति÷शिक्षक अभिभावक संघको विचमा अन्तरक्रिया गर्दै आइएको छ । नेपालका सामुहिक रुपमा उत्कृष्ट विद्यालयको छनौट गरी शैक्षिक अवलोकन भ्रमण गरी असल अभ्यासहरुको अनुसरण गर्दै र आफ्नो विद्यालयमा भए गरेका असल अभ्यासहरुलाई पनि साटासाट गर्दै अगाडि बढेको हुदा बास्तविक प्रधानाध्यापक भएर कार्य सम्पादन गर्न अलि बोझिलो महसुस गरेको छु । तर पनि विद्यालयले उत्कृष्ट नतिजा ४ जिपिए सहित जिल्लामै धेरै विद्यार्थीहरु एसइइमा सामेल गराई धेरै विद्यार्थी उत्तिर्ण गराउन सफल भएकोमा गर्वको अनुभुति गरेको छु । जे होस प्रधानाध्यापकको इच्छाशक्ति, विद्यार्थीमा लगनशिलता, शिक्षकको पेसाप्रतिको समर्पण, अभिभावकको वालवालिकाप्रतिको चासो एबम् जिम्मेवार विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघ भएको खण्डमा शिक्षामा सुधार आउन सक्छ भन्ने कुरामा म ढुक्क छु ।

४. स्थानीय तहले त्यस नगरपालिकाभित्रका विद्यालयका प्रधानाध्यापकहरुसँग कत्तिको समन्वय गरेको अवस्था छ ?

हाम्रो स्थानीय तह पुतलीवजार नगरपालिकाले नगरभित्रका प्रधानाध्यापकहरुसँग भरपुर मात्रमा समन्वय गरी शैक्षिक गुणस्तर कसरी कायम गर्न सकिन्छ भनेर प्रत्येक महिना छलफल गरीरहेको हुन्छ । यसको साथै आवश्यक परेको वेलामा प्रधानाध्यपकलाई वोलाएर अन्य शैक्षिक गतिविधि सञ्चालनको लागि विचार विमर्श गरेको छ । यसको साथै विद्यालयहरुलाई विभिन्न शिर्षकमा अनुदान दिदै आएको छ भने हाम्रो विद्यालयमा डिप्लोमा इन सिभिल इन्जिनियरिङ पढ्ने प्रत्येक विद्यार्थीहरुका लागि १ लाख ५ हजारका दरले छात्रावृत्ति दिने व्यवस्था मिलाएको छ ।

५. एउटा प्रधानाध्यापक कत्तिको जिम्मेवार भयो भने विद्यालय अझ सफल हुन्छजस्तो लाग्छ हजुरलाई ?

प्रधानाध्यापक एउटा बहुआयामिक व्यक्तित्व हो र हुनुपर्छ । उसले आफ्नो विद्यालय कस्तो बनाउने भन्ने वारेमा योजना बनाउँछ । सोहि योजना अनुसार जिम्मेवार भई विद्यालयलाई राम्रोसँग अगाडी बढाउन सकिन्छ । प्रधानाध्यापक जिम्मेवार वनेपछि मात्रै अरुलाई जिम्मेवार वनाउन सकिन्छ । त्यसैले प्रधानाध्यापक स्वयम् पुर्ण रुपमा जिम्मेवार, कर्तव्यनिष्ट भएर अगाडी बढेको खण्डमा मात्र विद्यालयलाई हरेक क्षेत्रमा सफल बनाउन सकिन्छ ।

६. सामुदायिक विद्यालयप्रति अभिभावकको चासो कत्तिको पाउनुभएको छ ? अभिभावक शिक्षा आवश्यक हुने कुरा यहाँलाई कस्तो लाग्छ ?

वर्तमान समयमा सामुदायिक विद्यालयप्रति अभिभावकको चासो बढ्दै गएको छ । एक त सामुदायिक विद्यालयहरु सुधार उन्मुख छन भने अर्को तर्फ सामुदायिक विद्यालयमा पढेका विद्यर्थीहरु अब्वल दर्जामा प्रमाणित भएका छन् । यसको साथै सामुदायिक विद्यालयमा पढ्ने विद्यार्थीहरुलाई सरकारको तर्फवाट विभिन्न सुविधाहरु पनि प्राप्त भै रहेका छन ।

७. सरकारले विद्यालयमा विद्यार्थी आकर्षणका निम्ति प्राथमिक तहका विद्यार्थीहरुलार्ई व्यवस्थापन गरेको १५ रुपैयाँ बराबरको खाजाले पुगिरहेको छ त ?

बास्तवमा सामुदायिक विद्यालयमा अध्ययनरत कतिपय वालवालिकाहरुलाई खाजा खान पनि समस्या छ भन्ने कुरालाई मध्यनजर राखेर संघिय सरकारले दिवा खाजा स्वरुप १५ रुपैया दिदै आएको छ । तर यो रकम समय सापेक्ष पर्याप्त छैन । कम्तिमा पनि यो रकमलाई सतप्रतिशत वढाउन सकेको खण्डका राम्रो हुने थियो । तैपनि केहि पनि नहुनु भन्दा संघिय सरकारले दिएको १५ रुपैयाले गरिव निमुखा बालबालिकाहरुलाई राहात पु¥याएको छ । हाम्रो पुतलीवजार नगरपालिकामा पालिकाले रु १० थप गरी २५ रुपैया बराबरको खाजा खुवाउने व्यवस्था मिलाएको छ । सो कार्यले अभिभावक तथा बालबालिकामा राम्रै प्रभाब परेको छ ।

८. विद्यालयमा एउटा प्रधानाध्यापक भइसकेपछि के कस्ता समस्याहरुले शैक्षिक तथा व्यवस्थापकीय कामहरु गर्न गाह्रो भएको अनुभव गर्नुभएको छ ?

विद्यालय एउटा समाजको सानो स्वरुप हो । विभिन्न जातजाति, भाषाभाषि, धर्म संस्कृतिका विद्यार्थीहरु विद्यालयमा आएका हुन्छन । उनीहरुमा आ–आफ्नै समस्याहरु त छन नै तर पनि उनीहरुको फरक फरक इच्छा चाहना र रुचीलाई सम्वोधन हुनेगरी एउर्टै वास्केटमा राखेर पढाउने कुराको ब्यवस्थापन गर्ने कुरा ज्यादै चुनौतिपुर्ण मात्रै नभई ज्यादै कठिन पनि छ । तर पनि सिमित स्रोत र साधनको प्रयोग गरेर गुणस्तरीय शिक्षा दिने प्रयास गरिरहेको छु । भनिन्छ नि जहाँ इच्छा त्यहाँ उपाय, काम गर्ने मानिसको अगाडी समस्याहरु हुन्छन नै सबैको साथ अनि सहयोग लिएर रणनितिक तवरवाट समस्याको समाधान गर्दै जानुपर्दछ । अनिमात्रै सफलता हात पार्न सकिन्छ ।

९. यस विद्यालयमा विद्यालय व्यवस्थापन समितिको भूमिका कस्तो पाउनुभएको छ ?

हाम्रो विद्यालय व्यवस्थापन समिति जिम्मेवार छ । विद्यालय व्यवस्थापन समितिले आफ्नो कर्तव्य र भुमिकालाई जिम्मेवार तरिकावाट निर्वाह गरेको हँदा प्रधानाध्यापकलाई आफ्नो दैनिक कार्य सम्पादनमा भरपुरमात्रामा सहयोग भएको छ ।

१०. तपाईंको विद्यालयमा सञ्चालन भएका असल अभ्यासहरु के के छन् ?

नमुना विद्यालय विकास गुरुयोजना निर्माण गरी सो अनुसार वार्षिक रुपमा कार्यान्वयनमा रहेको छ । विद्यार्थीको प्रवेश परीक्षा लिई क्षमता अनुसार विद्यार्थी वर्गीकरण गरी छुट्टाछुट्टै ब्यबस्थापनका साथ अंग्रेजी र नेपाली माध्यमका कक्षाहरु सञ्चालन गरिएको छ । विद्यार्थी आवागमनमा सहजता ल्याउन तीनवटा विद्यालय वसको व्यवस्था गरिएको छ । विज्ञान विषय प्रभावकारी अध्यापनको लागि स्तरीय ल्याबको व्यवस्था गरिएको छ । ब्यबस्थित पुस्तकालय र चमेनागृहको व्यवस्था गरिएको छ । वार्षिक रुपमा चारवटा परीक्षा लिई, परीक्षण पश्चात उत्तरपुस्तिका विद्यार्थीलाई उपलब्ध गराउने र प्रत्येक नतिजा प्रकाशनको दिन शिक्षक, अभिभावक र विद्यार्थीविच अन्तरक्रिया गर्ने गरिएको छ । विद्यार्थीको रुचीको आधारमा विधागतरुपमा विद्यार्थीको वर्गीकरण गरी सोही बमोजिम प्रतिभा प्रस्फुटन कार्यक्रम गर्ने गरिएको छ । अतिरिक्त क्रियाकलापको लागी बढी विद्यार्थी सहभागी गराउन तहगत रुपमा तीन तह (१–५, ६–८ र ९–१०) बनाई प्रत्येक तहमा छ समुहमा विद्यार्थी वर्गीकरण गरी प्रत्येक शुक्रवार अतिरिक्त क्रियाकलाप सञ्चालन गर्ने गरिएको छ । शैक्षिक क्रियाकलाप प्रभावकारी वनाउन शैक्षिक विभाग प्रमुख र प्राथमिक तह ईन्चार्ज, अनुशासन कायम राख्न अनुशासन संयोजक, खेलकुद र सरसफाइ संयोजन गर्न खेलकुद र सरसफाई संयोजकका साथै प्रत्येक विषयगत संयोजकको व्यवस्था गरिएको छ । शिक्षक, विद्यार्थी र अभिभावक प्रोत्साहनका विविध कार्यक्रम सञ्चालन गर्ने गरिएको छ । विद्यार्थी सक्रियताका लागि विद्यार्थीद्वारा प्रार्थना सभा र प्रश्नोत्तर कार्यक्रम सञ्चालन गरिएको छ । तहगतरुपमा वनभोज र शैक्षिक अवलोकन भ्रमण गर्ने गरिएको छ । विद्यालयमा वालक्लव, इकोक्लव जुरेशको गठन र नियमितरुपमा बैठक वस्ने गरिएको छ । विद्यार्थीको रुचि अनुसार शिक्षा, ब्यवस्थापन, विज्ञान र इन्जिनियरिङ समुहका विभिन्न विषयमा पठनपाठनको सुविधा उपलब्ध गराइएको छ । वर्षेविदाको समयमा समेत १५ दिनमात्र विदा गरी अन्य समयमा कक्षा सञ्चालन गरिएको र उक्त समयमा अध्यापन गरेवापत प्रोत्साहन भत्ता प्रदान गर्ने गरिएको छ । तल्लो तहमा कार्यरत शिक्षकले माथिल्लो तहमा अध्यापन गरेवापत प्रोत्साहन भत्ताको व्यवस्था गरिएको छ । शिक्षक उपस्थिति वृद्धि गर्न विदा बचत गरेबापत आर्थिक सुविधा प्रदान गर्ने गरिएको छ । शिक्षक प्रोत्साहन एवं ज्ञान अभिवृद्धिको लागि प्रत्येक वर्ष देशका विभिन्न नमुना विद्यालय एवं धार्मिक र प्राकृतिक स्थलको भ्रमण र असल अभ्यास आदानप्रदान तथा अन्तरक्रिया गर्ने गरिएको छ । विद्यार्थी सख्या वढि भएका कक्षामा अध्यापन गर्ने शिक्षकलाई लाउड स्पीकरको व्यवस्था गरिएको छ । विद्यालय सुरक्षा एवं अनुशासनको लागि सुरक्षा गार्ड र संवेदनशील क्षेत्रमा सिसिटिभीको व्यवस्था गरिएको छ । विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, प्रधानाध्यापक तथा सहायक प्रधानाध्यापकवाट समय समयमा कक्षा अवलोकन र परामर्श प्रदान गर्ने गरिएको छ । गुणस्तर अभिवृद्धिको लागि समय समयमा अभिभावक घरदैलो कार्यक्रम गर्ने गरिएको छ । विद्यालय शान्तिक्षेत्र कायम गर्दै दण्डरहित र विद्यार्थीमैत्री शैक्षिक वातावरण निर्माणको लागि प्रयास गरिएको छ ।

११. अन्त्यमा पब्लिक आवाज मार्फत आम नागरिकहरुलाई के भन्न चाहनुहुन्छ ?

पहिलो कुरा त मलाई शैक्षिक गतिविधि एवम् विद्यालयको बारेमा प्रश्न राखेर भलाकुसारी गर्ने मौका दिनुभएकोमा अमृत सर अनि पब्लिक आवाजको सिंगो टिमलाई हार्दिक धन्यवाद भन्न चाहान्छु । शिक्षा विना कुनै पनि मूलुक समृद्ध हुन सक्दैन भन्ने करालाई बुझ्दा बुझ्दै पनि शिक्षमा आसा गरे जति प्रतिफल आर्जन गर्न नसक्नु दुःखद कुरा हो । यस विषषयमा सरकारले शिक्षकलाई मात्र दोष लगाएर कदापि उम्किन मिल्दैन । शिक्षामा समयसापेक्ष सुधार गरी सिमित स्रोत साधनको प्रयोग गरेर केहि सामुदायिक विद्यालयहरुले आफुलाई समाजमा स्थापित गर्न खोजिरहेको वर्तमान अवस्थालाई हेर्दा शिक्षामा लगानी अभिवृद्धि गराएर यसवाट उत्पादित दक्ष जनशक्तिलाई रोजगारीका अवसरहरु प्रदान गर्न सकेमा मात्र मूलूक अगाडी बढ्न सक्दछ र मुलुकमा समृद्धि आउन सक्दछ । पब्लिक आवाज मार्फत म आम नागरिकलाई के भन्न चाहान्छु भने बालबालिकाको पहिलो पाठशाला घर र पहिलो शिक्षक आमा भएको हुँदा पहिलो सिकाइ घरवाट नै हुन्छ । विद्यालयको मात्रै भर नपरेर घरमा नै बाबुनानीहरुलाई सांस्कारीक बनाउने र नैतिक शिक्षाको अभाव खड्कीएको वर्तमान समयमा बालबालिकालाई नैतिक शिक्षा समेत दिई विद्यालयमा पठाई दिदा राम्रो हुने थियो साथै समय–समयमा विद्यालयमा गई बाबुनानीको पठन पाठनको बारेमा बुझिदिनु भयो भने विद्यालय एवम् शिक्षकलाई ज्यादै सहज हुन्छ । जसको कारण बाबुनानीहरुको भाग्यरेखा कोर्न सजिलो हुन्छ ।

प्रतिक्रिया